शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फूलखेतीबाट मनग्य आम्दानी गर्दै दाहाल

मङ्गलबार, ३१ असोज २०७४, १६ : २१
मङ्गलबार, ३१ असोज २०७४

धुलिखेल -गाउँका युवा पैसा कामाउनकै लागि विदेश जाने लहर चलिरहेको बेला काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ नाला चुनातालका दुर्गानाथ दाहालले भने फूलखेती गरेरै महिनामा लाखौँं रुपैयाँ आम्दानी गरिरहनुभएको छ । 

दाहालले चुनातालमा रहेको आफ्नै बारीमा सयपत्री फूलखेती गरेर आम्दानीको स्रोत पहिल्याउनु भएको हो । उहाँले दुई रोपनी जग्गामा सयपत्री फूलको खेती गर्नुभएको छ । तीन महिनमा नै फूल्ने उक्त फूलको बीउ थाइल्याण्डबाट मगाएर खेती थालनी गरेको उहाँले बताउनुभयो । 

“पहिला पहिला घरवरीपरी बारीको कान्लातिर मात्रै रोप्ने गरेको थिए, अहिले व्यावसायिक रुपमा नै खेती गर्न थालेको छु,” दाहालले भन्नुभयो । 

शुरुवातमा २० ग्राम बीउबाट फूलखेती गर्नुभएका दाहाल यस खालको सयपत्री जात नेपालमा नपाइने भएकाले थाइल्याण्डबाट मगाएको बताउनुहुन्छ । “बीउ महंगो भए पनि राम्रोसँग फूल्ने भएकाले खेती गर्न जाँगर चलेको छ,” उहाँले भन्नुभयो । 

नर्सरीमा एउटा बिरुवाको २० रुपैयाँ पर्छ । उहाँले एक हजार बोट लगाउनुभएको छ । एउटा बोटबाट रु दुईसय देखि रु तीन सयसम्म कमाइ हुने दाहाल बताउनुहुन्छ । दुई रोपनी जग्गामा गरेको फूलखेतीबाट तीन महिनामा रु दुई लाखदेखि रु तीन लाखसम्म कमाइ हुने अनुमान छ । 

काठमाडौंँका विभिन्न स्थानबाट फूलको माग आएको दाहालले बताउनुभयो । आगामी दिनमा १० रोपनी जग्गामा फूलखेती बढाउने उहाँको योजना छ । काठमाडौँमा कपडा पसल सञ्चालन गर्दै आनुभएका दाहालले साथीहरुको सल्लाहमा आफूले फूलखेती शुरु गरेको बताउनभुयो । 

“काम गर्नकै लागि घरपरिवार छोडेर विदेश जान्छन्, तर यही मनग्य आम्दानी गर्न सकिन्छ,” उहाँले भन्नुभयो । युवा आफ्नो भएको सम्पत्ति धितो राखेर विदेशमा जाने गरेका र फर्केर आएपछि सो पैसा नसकिञ्जेल बसेर खाने गरेकोप्रति उहाँले गुनासो गर्नुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप