मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

बदलिँदो कोर्षः यस्तो रह्यो मंगलबार दिनभरको राजनीतिक ‘ड्रामा’

मङ्गलबार, ३१ असोज २०७४, २२ : २१
मङ्गलबार, ३१ असोज २०७४

काठमाडौं– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा निर्वाचन रोक्ने कसरतमा प्रधानमन्त्री शेरबहादुर देउवा आफै लागेको मंगलबारका घटनाक्रममा देखाएका छन् । 

असोज २७ गते प्रधानमन्त्री देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापासहित ८ मन्त्री नियुक्त गरी ६४ सदस्यीय मन्त्रिपरिषद् बनाए । उनको संकेत माओवादीलाई सरकार छाड्नु भन्ने थियो । तर माओवादीले त्यसै दिन सरकार नछाड्ने निर्णय गर्यो । 

माओवादीलाई सरकारबाट हटाउन देउवाले नैतिक दबाब मात्र दिएनन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मंगलबार विहानै सरकारबाट बाहिरिन आग्रह गरे ।

देउवा– प्रचण्ड भेट

प्रचण्डले सरकारको समर्थन कायमै राख्ने र तोकिएकै समयमा निर्वाचन गर्ने प्रतिवद्धता जनाउन देउवालाई आग्रह गरे । प्रचण्ड सरकारबाट हट्न सकारात्मक भएकै कारण आजै माओवादीले सरकार छाड्ने समाचार देशभर फैलियो । माओवादी मन्त्रीहरुले पत्रकार सम्मेलन बोलाए । तर एकाएक परिस्थिति बदलियो ।

प्रचण्डले सहज रुपमा सरकारबाट फिर्ता हुने बताए पनि देउवाले निर्वाचन नै सार्ने तयारी गरेको संकेत पाएको भन्दै एकाएक आफ्ना मन्त्रीहरुलाई सरकारबाट फिर्ता नहुनु भन्ने निर्देशन दिए । अपरान्ह १ बजेतिर उपप्रधानमन्त्री कृष्णबहादुर महरा र निवर्तमान गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गरी राजीनामा नदिने स्पष्ट गरे । 

सोमबार प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेट नभएपछि मंगलवार विहान प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेट भएको थियो । जतिबेला दुई नेताबीच सौहार्दपूर्ण कुराकानी भएन । स्रोतकाअनुसार देउवाले माओवादी मन्त्री जिम्मेवारीबाट हटाउने चेतावनी प्रचण्डलाई दिएका थिए ।

माओवादी मन्त्रीले सरकार नछाड्ने कुरा सार्वजनिक गरेपछि प्रधानमन्त्री देउवाले ‘एक्सन’ लिने तयारी गरे । बेलुका माओवादीका सबै मन्त्रीहरुलाई विना विभागीय मन्त्री बनाएर गृह र परराष्ट्र आफैसँग राखेर राप्रपा मन्त्रीहरुलाई जिम्मेवारी बाँडे । 

देउवासँगको छलफल बाम गठबन्धनमा ब्रिफिङ

प्रधानमन्त्री देउवासँगको भेटपछि माओवादी अध्यक्ष प्रचण्डले एमाले नेताहरुसँग भेट गरे । बाम गठबन्धनको छलफलमा प्रचण्डले देउवासँगको छलफलका ब्रिफिङ गरे । मानभवनस्थित एक ठेकेदारको घरमा एमाले र माओवादी एकता संयोजन समितिको बैठक बसेको थियो । जहाँ एमाले अध्यक्ष केपी ओलीसमेत थिए । 

प्रधानमन्त्री देउवाले सत्तारुढ माओवादीसँग कुनै सल्लाह नगरी निर्वाचन मन्त्रीमण्डल विस्तार गरेको, निर्वाचन आचारसंहिता मिचेको आरोपसहित सरकारबाट बाहिरिने विषयमा प्रचण्ड र ओली दुवै तयार भए । त्यसै अनुसार सरकारबाट बाहिरिने विज्ञप्तिसमेत मस्यौदा हुँदै थियो । तर चुनाव सार्ने देउवाको प्रपञ्च भन्ने अदालततिरबाट सूचना आयो भने निर्वाचन आयोगबाट पनि त्यस्तै संकेत पाएपछि गठबन्धनले मस्यौदा अघि नबढाउने निधो गरेका थिए ।  

गत असोज १७ गते एमाले, माओवादी र नयाँ शक्तिवीच चुनाव गठबन्धन रपार्टी एकतामा जाने सहमति बनेपछि सत्तारुढ दल काँग्रेस र माओवादीबीचको सम्बन्धमा खटपट भएको थियो । त्यसपछि पनि माओवादीले पूर्व सहमति अनुसार चुनावसम्म सरकारलाई समर्थन गर्ने निर्णय गरेको थियो । 
 

अदालतको प्रतिक्षा 

निर्वाचन लगायतका विभिन्न विषयमा सर्वोच्च अदालतमा दायर रिटको मंगलबार प्रारम्भिक सुनुवाई भएको थियो । आगामी मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचनमा मतपत्रसम्बन्धी त्रुटि भएको भन्दै सर्वोच्च अदालतमा परेको रिटको निर्णय बुधबार सुनाइने भएको छ । 

सो रिटको मंगलबार सामान्य छलफल भएपनि सुनुवाईका लागि बुधबारलाई तोकिएको सर्वोच्चका प्रवक्ता नारायाणप्रसाद पन्थीले बताए ।  केहीदिनअघि राजपाका नेता सर्वेन्द्रनाथ शुक्लाले प्रदेश प्रतिनिधिसभा निर्वाचनमा एकै मतपत्रकाबारेमा रिट हालेका थिए । निर्वाचन अपांग मैत्री नभएको लगायतका  १० वटा विषयमा परेको रिटको फैसलाले निर्वाचन सम्बन्धि असर गर्न सक्ने आशंका उब्जिएको छ । 

सामाजिक सञ्जालमा आलोचना 

प्रधानमन्त्री देउवाले चालेको कदमलाई सामाजिक सञ्जालहरुमा पनि उत्तिकै आलोचना भएका छन् । विगतमा संसद विघटन गरेको कालो इतिहास बाकेको देउवाप्रति सामाजिक सञ्जालहरुमा आशंका र आलोचना उत्तिकै गरिएका छन् ।

नेपाली कांग्रेसइतर समाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने देउवाको कदम जायज भएको बताएका छन् । माओवादी मन्त्रीहरुलाई सल्लाह नै नगरी बेरोजगार बनाइदिए पनि माओवादी मन्त्रीहरुले पार्टीको अर्को निर्णयको पर्खाइमा छन् ।
 
देउवा माओवादीको समर्थनमा गत जेठ २३ मा प्रधानमन्त्री भएका हुन् । असोज २८ गते रातीदेखि व्यवस्थापिका संसदको कार्यकाल पनि सकिएको छ । 
काँग्रेस र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुसार प्रचण्ड २०७३ साउन १९ मा प्रधानमन्त्री भएका थिए । प्रचण्डको राजीनामापछि सहमति अनुसार देउवा प्रधानमन्त्री भएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप