शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सावधान ! पटाका पड्काउँदा हुन्छ यस्तो जोखिम

बुधबार, ०१ कात्तिक २०७४, ११ : ३९
बुधबार, ०१ कात्तिक २०७४

तिहारमा पटाका पड्काएर दीपावलीमा रमाइलो गर्ने चलन हामी धेरैमा हुन सक्छ । तपाईं पनि पटका पड्काएर दीपावली मनाउने योजनामा हुनुहुन्छ भने ख्याल गर्नुहोस्, पटाका पड्काउँदा धन त खर्च हुन्छ नै सुरक्षाको जोखिम पनि त्यतिकै उच्च हुन्छ । यसले  वतावरण प्रदूषण मात्र  नभई आगलागी र मानव स्वास्थ्यमा समेत गम्भीर असर गर्छ । 

वातावरणविदहरूका अनुसार पटाका पड्काउँदा त्यसबाट उत्पन्न हुने प्रदूषण कलकारखाना  तथा उद्योगहरूबाट फैलने प्रदूषणभन्दा कैयौँ गुणा बढी हानिकारक हुन्छ ।

तिहार र छठको मौसममा  बजारमा विभिन्न प्रकारका पटाका पाइन्छन् । केही त बम जत्तिकै शक्तिशाली पनि हुन्छन् । यस्ता पटाका पैसाको पनि बेवास्ता गर्दै छानीछानी किनेर पड्काएको भेटिन्छ । तर पटाका जति धेरै ठूलो पड्कने हुन्छ, उति नै बढी मानव स्वास्थ्यका लागि हानिकारक मानिएका रसायन र धातुहरू मिलाइएको हुन्छ । जसले वतावरणीय  प्रदूषण बढाउने गर्छ ।

वतावरणविज्ञहरूका अनुसार पटाका बनाउँदा वतावरणका लागि मात्र नभएर मानव शरीरका लागि अति खतरनाक मानिएका लिड, सल्फडडाइअक्साईड, नाइट्रस अक्साईड  र बारुद आदि पदार्थ र रसायनको प्रयोग असीमित मात्रामा गरिएको हुन्छ । 

यसरी बनाइएका पटाका पड्काएपछि धूवाँको माध्यमबाट वायुमण्डलमा पुगी हावामा मिसिने गर्छ । पछि हामीले लिएको श्वासबाट ती खतरनाक धातु मिश्रित रसायन शरीरमा प्रवेश भई फोक्सोसम्म पुग्ने गर्छ । यसबाट दम, एलर्जी जस्ता रोगहरू मात्र नभएर विस्तारै क्यान्सर जस्ता प्राण घातक रोगसमेत लाग्ने गर्छ । तिहार र छठको समयमा जताततै पटाका पड्काउँदा उत्पादन भएको फोहोरलाई माटो र  पानीमा फ्याँक्ने चलन छ । यसलाई सुरक्षित विर्सजन गरिँदैन । जसले गर्दा अति हानिकारक मानिएको रसायन मानव शरीरमा प्रवेश गर्ने जोखिम उच्च रहन्छ ।

विराटनगरस्थित सिमेन एमएमए वातावरणीय प्रयोगशालाका रसायनविज्ञहरू पटाका पड्काउँदा हुने वायु प्रदूषण  औद्योगिक प्रदूषणभन्दा बढी हानिकारक हुने स्वीकार्छन् । उनीहरूका अनुसार उद्योगहरूबाट निस्कने प्रदूषण जलेको हुने भएकाले वायुमण्डलमा हरितगृह (कार्बन) उत्र्सनमा प्रभाव पार्ने गर्छ ।  तर पटाकाबाट फैलने प्रदूषण भने सोझै मानव स्वास्थ्यका लागि समेत हानिकारक हुन्छ ।

पटाकामा बारुद नामक पदार्थ मिसाइएको हुन्छ । जसमा आल्मुनियम नाइट्रेट हुन्छ । पटाकामा मिसाइने अर्को  लिड नामक रसायन एक प्रकारको धातु रसायन हो । यो पहिले डिजेल पेट्रोलमा मिसाइने गरिन्थ्यो । तर यो मानव शरीरका लागि अति हानिकारक भएको पत्ता लागेकाले विश्वव्यापी रूपमा  यसमा प्रतिबन्ध लगाइएको छ । तर पटाकामा यसको प्रयोग असीमित रूपमा प्रयोग भइरहेको छ ।

मानव शरीरका लागि अति हानिकारक मानिएका यी रसायनहरू पटाका पड्काइसकेपछि हावामा  धुवाँको माध्यमबाट मिसिन जान्छन् र श्वास प्रश्वासको माध्यमबाट मानव शरीरमा प्रवेश गर्छन् । जसले मानव स्वास्थ्यमा गम्भीर प्रतिकूल प्रभाव पार्छ । 

रसायनविज्ञहरूका अनुसार लिड  गह्रौँ  धातु भएकाले यो विषालु हुन्छ । यो मानिसको रगतमा प्रवेश गरेमा केन्द्रीय स्नायु प्रणालीमै असर पार्छ । जसले मिर्गाैला खराब पनि गर्नसक्छ । गर्भवती महिलाका शरीरमा लिडको मात्रा बढी भए गर्भपतन हुने सम्भावनासमेत हुन्छ ।

अझ बच्चाहरूमा लिड सजिलै शरीरमा प्रवेश गर्न सक्छ । तिहार र छठ पर्वमा बालबालिकाले धेरै पटाका पड्काउने भएकाले उनीहरूको स्वास्थ्य उच्च जोखिममा हुन्छ ।  चिकित्सककाअनुसार सुस्त मनस्थिति बनाउने, रगतमा एलर्जी बढाउने प्रभावसमेत देखा पर्छन् । लिडको बढी प्रयोग हुने स्थानहरू बेट्री उत्पादन गर्ने कारखानामा गरिएको अध्यनले त्यहाँ कार्यरत कामदारमा खाना नरुच्ने भएकाले उनीहरू दही र चिउरा खाएर काम गर्छन् ।

अर्कोतिर पटाकामा प्रयोग गरिएका रसायन धातुहरू पानीमा मिसिएमा त झनै खतरनाक हुन्छ । पानीमा अधिकतम ० दशमलव ०५ मिलिग्रामसम्म मात्र धातुहरू  उचित मानिन्छ । तर पानीमा त्योभन्दा बढी लिडको मात्र भेटिएमा शरीरका लागि अति हानिकारक मानिन्छ । लिड बेट्री बनाउँदा र फलामको जडान गर्दा (सोल्डर) र पेन्टहरू (इनामेल) बनाउँदा पनि प्रयोग गरिन्छ । पटका पड्काएपछि बाँकी रहेको फोहोर माटोमा मिसन्छ । धुवाँ हावामा मिसिन्छ र माटोबाट खतरनाक धातु पानीमा पनि मिसिन सक्छ । यसैले पनि पटाखा पड्काउनु वतावरणीय समस्या बढाउनुसँगै मानव स्वास्थ्यमा पनि गम्भीर हानि पुरयाउनु हो– वतावरणविज्ञ रामचन्द्र अधिकारी बताउँछन् ।

अर्कोतिर गैरकानुनी रूपमा उत्पादन गरिएका पटाकाहरू धेरैजसो अवैध रूपमा लुकाइछिपाई ल्याइन्छन् । यसरी ल्याइएका  पटाकामा रसायन र धातुको प्रयोग कति गरिएको भन्ने कुनै सीमा हुँदैन । यस्ता पटाकाहरूमा बढी जोडले पड्कियोस भनेर असीमित रूपमा रसायन प्रयोग गरिएको हुन्छ । पड्काएर हात नधोई शरीरका अङ्गहरू कन्याउने, चलाउने, खानाहरू खाने गर्नाले खतरनाक रसायनहरू शरीरमा प्रवेश गर्ने वा छालामा असर पार्ने जोखिम बढी हुन्छ  । पटाका पड्काउनैपरे पनि बाल्टिनमा पानी राखेर तत्काल हात धुनुपर्दछ । तर पटाका पड्काउने धेरैले यसो गर्दैनन् । 

वतावरणविज्ञ रामचन्द्र अधिकारी पटाका पडकाउनु  धनको हानि नोक्सानीका साथै सुरक्षाको दृष्टिले समेत अति जोखिमपूर्ण हुुने र  वतावरणीय प्रदूषणसमेत बढाउने मात्र नभएर  मानवकै लागि हानिकारक हुने भएकाले पटाका नपड्काउनु नै राम्रो हो भन्छन् । 

तिहार लागि सकेको छ । बजारमा थरिथरिका महँगा महँगा पटाकाहरू लुकाइ छिपाइ बेच्न थालिएको छ । नेपालमा प्रतिबन्धित भए पनि सीमा क्षेत्रबाट अवैध रूपमा तस्करी भएर पटाकाहरू भित्रिइरहेका छन् । अधिक नाफा हुने भएकाले यसमा व्यापारिक गिरोहसमेत संलग्न हुने गर्छन् । बजारमा प्रहरीले पटाका बेचबिखनमा कडा गरे पनि नियन्त्रण गर्न सकेकेको अवस्था छैन ।  

नेपालमा उत्पादन र ओसार प्रसारमा प्रतिबन्ध भएकाले भारतीय बजारहरूबाट लुकाइछिपाइ ल्याएर पटाकाहरू महँगोमा बेच्नेगरिन्छ । अनुमानित तथ्याङ्कअनुसार विराटनगरमा मात्र तिहारको बेला एक करोडभन्दा बढीको पटाका पड्काउने गरिन्छ । वातावरणविज्ञ अधिकारीका अनुसार एकैचोटि हजारौँ लाखौँको सङ्ख्यामा पटाका पड्काउँदा वायुमण्डलमा प्रदूषणको कुहिरीमण्डल नै हुने गर्छ । जुन अन्तत हामी मानवले गरेको कामले हाम्रो जीवनचक्रलाई नै प्रभावित बनाउँछ ।

पटाका पड्काउँदा भौतिक रूपमा धेरैजना घाइते हुने, आँखा र हातमा चोट लागेर अङ्गभङगसमेत हुनेगरेका छन् । कतिको त ज्यानैसमेत जानेगरेको छ ।  तत्काल भौतिक हानि नभोग्नेहरूलाई पनि  विषालु रसायनहरूको प्रदूषणले गर्दा विस्तारै विस्तारै असाध्य रोग (नदेखिने रोगहरू) को समस्या बढ्दै जाने  खतरा भने निक्कै उच्च हुने भएकाले धनजन दुवै नाश हुनबाट जोगाउन पटाका पड्काउने चलनलाई सबैले निरुत्साहित गर्नु नै उत्तम उपाय मान्न सकिन्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश लम्साल
गणेश लम्साल
लेखकबाट थप