बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको यस्तो छ तयारी, यादवले भने– अब निर्वाचन रोकिँदैन

बुधबार, ०१ कात्तिक २०७४, १८ : ५५
बुधबार, ०१ कात्तिक २०७४

काठमाडौं– निर्वाचन आयोगले आगामी मंसिरमा हुने तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारी अन्तिम रहेको जनाएको छ ।

आयोगले बुधबार बेलुका आयोग कार्यालयमा पत्रकार सम्मेलन गरी निर्वाचनको तयारीबारे जानकारी दिएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीबारे जानकारी दिएका हुन् । 

झण्डै २० हजार मतदान केन्द्र 

मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि झण्डै २० हजार मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । निर्वाचनका लागि १० हजार ६७१ निर्वाचनस्थलमा १९ हजार ८०९ वटा मतदान केन्द्र कायम गर्ने निर्णय गरेको आयोगले जनाएको छ ।

कुल मतदाता १ करोड ५४ लाख 

प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतादाता नामावली समावेश गर्ने काम पनि पूरा भएको अयोागले जनाएको छ । मतदाता नामावलीलाई २०७४ असोज १७ गते अन्तिमरूप दिइसकेकोे प्रमुख निर्वाचन आयुक्त यादवले बताए । 

यादवकाअनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि कूल मतदाता संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ । २०७४ भदौ ५ गतेसम्म १८ वर्ष उमेर पुगेका र फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताहरूको नाम मतदाता नामावलीमा समावेश गरिएको पनि आयोगले स्पष्ट गरेको छ । 

पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८७९ जना मतदाताले मताधिकारको प्रयोग गर्ने र पहिलो चरणका लागि आवश्यक पर्ने मतदाता नामावली छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको पनि आयोगले जनाएको छ ।

सात प्रकारका मतपत्र छपाइ

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सात प्रकारका मतपत्र छापिने भएको छ । उक्त निर्वाचनका लागि आवश्यक पर्ने सात प्रकारका मतपत्रको छपाइ असोज १७ देखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको आयोगले जनाएको छ । 

समानुपातिकतर्फ एक करोड ८० लाख मतपत्र छपाइ गर्नुपर्नेमा अहिलेसम्म ९० लाखभन्दा बढी मतपत्र छपाइ भइसकेको आयोगले जनाएको छ । सम्पूर्ण मतपत्र कात्तिक ७ गतेसम्म छापिसक्ने आयोगको तयारी छ । 

प्रत्यक्षतर्फको मतपत्र छपाई कात्तिक ८ देखि शुरु

प्रत्यक्षतर्फको निर्वाचनका लागि कात्तिक ८ गतेबाट मतपत्र छपाईको काम शुरु हुने भएको छ । आयोगले निर्णय गरेअनुसार, समानुपातिक तथा पहिलो हुने निर्वाचित हुनेतर्फको मतपत्र एउटै पानाको माथिल्लो भाग मतपत्र १ प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि र त्यसको तल्लो भागमा मतपत्र २ प्रदेशसभा सदस्य निर्वाचनका लागि हुने व्यवस्था गरिएको प्रमुख आयुक्त यादवले बताए ।  

यस्तो हुनेछ समानुपातिक र प्रत्यक्षको मतपत्र 

समानुपातिकतर्फको मतपत्र सेतो कागजमा हल्का रातो मसीले छापिने छ भने पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फको मतपत्र सेतो कागजमा हल्का हरियो रङ्गको मसीले छापिने गरी मतपत्रको व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि निर्वाचन आयोगले भदौ १४ गतेबाट निर्वाचन आचारसंहिता लागू गरिसकेको छ भने समानुपातिकको बन्दसूची पेश गरिएसँगै उम्मेदवारको आचारसंहिता लागू भइसकेको आयोगले स्पष्ट गरेको छ । 
 
कात्तिक ५ गते प्रत्यक्षतर्फको मनोनयन दर्ता हुने भएकाले मनोनयनपछि प्रत्यक्ष उम्मेदवारका लागि आचारसंहिता लागू हुने आयोगले जनाएको छ । 

स्थानीय तहको मतपेटिकाकै प्रयोग 

निर्वाचन आयोगले यसअघि व्यवस्थापन गरिएका मतपेटिकाबाट नै निर्वाचन गराउने तयारी गरेको छ । स्थानीय तहको चुनावमा प्रयोग भएका मतपेटिका नै प्रयोग गरिने आयोगले जनाएको छ । 

२० हजार मतदाता शिक्षा कार्यकर्ता 

निर्वाचन आयोगले मतादाता शिक्षा कार्यक्रमलाई पनि तीब्र पार्ने जनाएको छ । मतदाता शिक्षालाई प्रभावकारी बनाउने आयोगको नीतिअनुसार, तालिमप्राप्त मतदाता शिक्षा कार्यकर्ता घरघरमा पुग्ने व्यवस्था गरिएको आयोगको भनाई छ । ‘एक मतदान केन्द्र एक मतदाता शिक्षा कार्यकर्ता’ को हिसाबले करिब २० हजार मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने आयोगले जनाएको छ । 

नमूना मतदानको लागि समानुपातिक तर्फको रातो रङको र पहिलो हुने निर्वाचित हुने तर्फको हल्का हरियो रङमा नमूना निर्वाचन चिन्हहरु राखिएको नमूना मतपत्र छपाई गरी निर्वाचन शिक्षा कार्यक्रममा प्रयोग गर्न जिल्ला जिल्लामा पठाइ सकिएको पनि आयोगले जनाएको छ । 

मतदाता शिक्षाका लागि आवश्यक पर्ने सबै प्रकारका सामग्रीहरूको उत्पादन गर्ने कार्य सुरू भइसकेको र नेपालमा बोलिने राष्ट्रभाषाहरुमध्ये विभिन्न १६ राष्ट्रभाषामा मतदाता शिक्षा सामग्री तयारी गर्न आयोगले प्रक्रिया अगाडि बढाइसकेको यादवले बताए । 

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आवश्यक पर्ने ऐन व्यवस्थापिका–संसद्बाट पारित भई आयोगमा प्राप्त भइसकेको र ऐन अनुसार, आयोगले तयार गर्नुपर्ने नियमावलीहरु, निर्देशिकाहरु तथा कार्यविधिहरू तयार गरी आयोगले स्वीकृत गरिसकेको यादवले बताए । 

पर्यवेक्षणका लागि निवेदन आह्वान, चारको आवेदन प्राप्त

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आयोगले अन्तर्राष्ट्रिय संघ, संस्था र व्यक्तिलाई आवेदन दिन सूचना जारी गरेको छ । आयोगले जारी गरेको सूचनाअनुसार अहिलेसम्म ४ वटा अन्तर्राष्ट्रिय संघ संस्था र दुई अन्तरर्राष्ट्रिय व्यक्तिबाट सहभागिताका लागि आवेदन प्राप्त भएको प्रमुख आयुक्त यादवले बताए । निर्वाचनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यादवले निर्वाचनको सबै तयारी पूरा भइसकेकाले अब निर्वाचन नरोकिने पनि स्पष्ट गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप