शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीमा अस्पताल जाँच गर्न जाने गर्भवती महिला घटे

कस्तो अवस्थामा गर्भवतीहरू अस्पताल जानुपर्छ ?
बिहीबार, २७ जेठ २०७८, १० : २०
बिहीबार, २७ जेठ २०७८


काठमाडौँ– कोरोना महामारीका कारण अस्पतालमा गर्भवती जाँच गर्न जाने महिलाको दर घटेको छ । कोरोना सङ्क्रमणको पहिलो लहरमा जस्तै दोस्रो लहरमा गर्भवतीहरूको जाँच गर्ने दर कम रहेको अस्पतालहरूले जनाएका छन् । गर्भवती जाँच लागि अस्पताल पुग्दा सङ्क्रमण सर्न सक्ने त्रास छ । थापाथलीस्थित प्रसूति अस्पतालमा दैनिक सामान्य समयमा जाँच गराउने गर्भवतीको सङ्ख्या सात सय पुग्थ्यो भने महामारीको समयमा दैनिक साढे दुई सयसम्म आउने गर्छन् । महामारीमा अस्पताल पुगेर प्रसूति गराउनेको सङ्ख्या पनि घटेको छ । यस्तो महामारीका बेला गर्भवती महिलाले पूर्वप्रसूति अवस्थामा स्वास्थ्य सुरक्षामा कसरी ध्यान दिने, कस्तो अवस्थामा अस्पताल पुग्ने, सुत्केरी अवस्थामा कसरी ध्यान कसरी दिने भन्ने बारेमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका  स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदी यस्ता सुझाव दिन्छन् ।

गर्भवती कस्तो अवस्थामा अस्पताल पुग्नेः

–बच्चा कम चले वा नचलेमा अस्पताल जानुपर्छ । नौ महिनाको अवधिमा गर्भको बच्चा नचलेमा तत्काल अस्पताल जानुपर्छ ।

–श्वासप्रश्वासमा समस्या आएमा, ज्वरो १००.४ भन्दा बढी आएमा गर्भवती महिला अस्पताल पुग्नुपर्छ ।

–गर्भ अवस्थामा पेट दुखे, योनीबाट पानी बगेमा, रक्तश्राव भएमा अस्पताल पुग्नुपर्छ ।

–गर्भवतीका आँखा धमिला देखिएमा, ब्लडप्रेसर बढेमा तत्काल अस्पताल पुग्नुपर्छ ।

–सुरक्षित तरिकाले प्रसूति गराउन अनिवार्य रूपमा अस्पताल जानैपर्छ ।

गभर्वती महिलाले कहिले जाँच गर्ने, के–के कुरामा ध्यान दिने ?

–बच्चा जन्मनुभन्दा पहिले कम्तीमा चार पटक अस्पताल पुगेर जाँच गर्नैपर्छ । खास गरी तीन महिना, छ महिना, आठ महिना र नौ महिनामा जाँच गराउनुपर्छ ।

–कोरोना सङ्क्रमणको त्रासले गर्भवतीहरू परीक्षण गराउन अस्पताल जान डराउनु हुँदैन । स्वास्थ्य सुरक्षा विधि अपनाएर डाक्टरको सल्लाहमा अस्पताल जानुपर्छ ।

–गर्भवतीले चिकित्सकको सल्लाहअनुसार क्याल्सियम, पोलिक एसिड, आइरन, सेवन गर्नु नै पर्छ ।

–प्रोटिनयुक्त खाना र झोलिलो पदार्थ सेवनमा धेरै जोड दिनुपर्छ ।

–सरसफाइमा धेरै ध्यान दिनुका साथै पटक पटक साबुन पानीले हात धुने, सेनिटाइजरको प्रयोग गर्ने ।

–गर्भवतीलाई कोरोना सङ्क्रमणबाहेक अन्य र रोग सर्ने सम्भावना धेरै हुने भएकाले घरबाहिर निस्कनै परेमा ध्यान दिएर सामाजिक दूरी कायम गर्ने ।

सुत्केरी अवस्थामा स्याहार कसरी गर्ने ?

–मातृ तथा नवजात शिशुको गाइडलाइन अनुसार शिशुको हेरचाह गर्नुपर्छ ।

–सुत्केरी भएपछि आमा र शिशुको स्याहारमा ध्यान दिन अत्यान्त जरुरी हुन्छ ।

–सुत्केरी भएपछि पनि आमा र शिशुको स्वास्थ्यमा समस्या आउन सक्छ । त्यस्तो अवस्थामा नजिकको स्वास्थ्य संस्थामा टेलिफोनको माध्यमबाट सम्पर्क गरी समस्याको समाधान गर्ने कोसिस गर्ने । निको नभएमा विशेषज्ञको सल्लाहका लागि अस्पताल पुग्नुपर्छ ।

–कोरोना सङ्क्रमित आमाले स्तनपान गराउँदा केही पनि हुँदैन ।

–स्तनपान गराउँदा कोभिड सर्दैन ।

–सङ्क्रमण नभएका आमाले बच्चालाई अनिवार्य रूपमा छातीमा टाँसेर राख्ने गर्नुपर्छ ।

सङ्क्रमित गभर्वतीलाई प्रसूति सेवा

प्रसूतिगृहमा कोरोना सङ्क्रमित गर्भवती महिलालाई प्रसूति सेवा दिने गरेको उनले सुनाए । लक्षणका आधारमा वा कोभिड, नन्कोभिड भनेर पहिचान गरेर सङ्क्रमित गर्भवतीहरूलाई छुट्टै प्रसूति सेवा दिइरहेको उनले बताए । घरमै रहेका गर्भवतीहरूले अस्पतालको नम्बरमा फोन गरेर समस्याका बारेमा जानकारी दिने व्यवस्था मिलाइएको छ । सङ्क्रमण त्रासका कारण घरमै भएका गर्भवती महिलाहरूले  ओपीडी, अपरेसन, सामान्य सेवाका बारेमा जानकारीका लागि फोन लिनसक्ने उनले बताए । निषेधाज्ञाका कारण सार्वजनिक यातायात सञ्चालन नभएकाले गर्भवती र सुत्केरीको स्वास्थ्यमा गम्भीर समस्या देखिए पनि खपेर बस्न नहुने उनले बताए । काठमाडौँ उपत्यकामा एम्बुलेन्स सेवा अन्य जिल्लाको तुलनामा सहज भएकाले गर्भवतीमा जटिलको खालको स्वास्थ्य समस्या देखिए नजिकैको अस्पताल पुग्न उनको सल्लाह छ ।  काठमाडौँमा १०२ र  बाहिर १०० मा फोन डायल गरेर एम्बुलेन्स सेवा लिन सकिन्छ । यस्तै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा गर्भवती महिलाले टेलिफ्री १६६००१०००४६, मोबाइल नम्बर ९८६००१८०३४, ९८६००१८०३५ बाट जानकारी लिन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप