शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्याङ्जादेखि रसियासम्मः यस्तो छ एक नारायणको सफलताको कथा

बिहीबार, ०२ कात्तिक २०७४, ११ : १९
बिहीबार, ०२ कात्तिक २०७४

काठमाडौ.– आज भन्दा ३० वर्ष अघि एसएलसी पास गर्नु संसार जित्नु वरावर थियो । ४६ वर्ष अघि स्याङजाको पिडीखोलामा जन्मेका एकनारायण चापागाईले एसएलसी पास मात्रै होइन, प्रथम श्रेणी नै ल्याए । 

नरोदय माविमा उनको प्रशंसा हुनै नै भयो । उनको नाम हाइलाइट हुँदै वरपरका जिल्ला हुँदै गण्डकी र अञ्चल भरी पुग्यो । उनको हाईहाई सवैतिर पुग्यो । अहिले जस्तै विज्ञान विषयको महत्व त्यो वेला पनि थियो । उनले विज्ञान विषयमा राम्रो अंक ल्याए । 

स्कुल टपर चापागाईलाई विज्ञान विषयमा रुचि भयो । वरपर विज्ञान विषय पढ्ने अवस्था थिएन । वालिङदेखि ६४ किमीको दुरीमा रहेको पोखरा आए । विस २०४४ सालमा चापागाइ पृथ्वी नारायण क्याम्पसमा भर्ना भए । आइएसीको अध्ययन शुरु गरेका चापागाईको पढाइको रफ्तार पोखरामा अझ बढ्यो । २०४६ सालमा उनले क्याम्पस टपे । तत्कालिन समयमा रसियाबाट प्राप्त हुने छात्रवृत्तिमा चापागाईको लागि अर्को टर्निङ प्वाइन्ट बन्यो । थप अध्ययनका लागि उनि रसिया लागे ।


रसियामा संघर्ष 
सन् १९९० मा सोभियत संघ रसिया)पुगेका चापार्गाइले कम्प्युटर इन्जिनियरिङको अध्ययन शुरु गरे ।  एक वर्षपछि रसिया टुक्रियो । टुक्रिएपछि चापागाई अजरवैजान तिर परे । रसियासंग उनको सम्वन्ध छुट्यो । अजरवैजानमा उनलाई अर्को समस्या थपियो । सोभियत संघ भएको वखत छात्रवृत्तिमा आएका विद्यार्थीलाई छात्रवृत्ति उपलब्घ गराउन नसकिने त्यहाँको सरकारले निर्णय गरेको थियो । अजरवैजानको सरकारी निर्णयको कारण आर्थिक समस्यालाई पार लगाउन उनी पुनः रसिया फर्कने निधो गरे । 

अजरवैजानको परराष्ट्र मन्त्रालयको प्रक्रियामार्फत चापागाई रसिया फर्के । पाँच वर्षे कम्प्युटर इन्जिनियरिङ अध्ययनका लागि एक वर्ष रसियन भाषा पढ्नुपर्ने अनिवार्य थियो । एक वर्षको भाषा अध्ययनसंगै उनले सन् १९९६ मा कम्प्युटर इन्जिनियरिङको कक्षा सके । 

अध्ययनको एक चरण सकेपछि उनको जागिरे वीवन पनि शुरु भयो । जागिरे जीवनका साथमा उनी पिएचडीमा भर्ना भए । अध्ययनका अतिरिक्त उनी कम्पनीमा पनि उत्कृष्ठ ठहरिए । सन् २००१ मा पिएचडी सकेका चापागाईले सन् २००३ सम्म जागिरे  जीवन विताए । कपडाको विक्री गर्ने व्रिटिश कम्पनीमा उनको पदोन्नती भई वित्तीय प्रमुख बने । 
 

रसियामा आफ्नै कम्पनी स्थापना 
सन् २००३ सम्म जागिरे जीवन विताएका चापागाईले कम्पनी स्थापना गर्ने निधो गरे । सोचलाई मुर्त रुपमा  पुर्याउन उनले ग्लोवल प्रोडक्ट नामको कम्पनी स्थापना गरे । कम्पनीले श्रीलंका ,चीन ,भारत र भियतनामबाट ब्राण्डेड चिया आयात गरी रसियाको सवै शहरमा विक्री गर्न शुरु गर्यो । जागिरे जीवनको अनुभवले उनलाई कम्पनीको व्यवस्थापन दरिलो बनाउन सहयोग गर्यो । उनको कम्पनीले विभिन्न मुलुकबाट ब्राण्डेड चिया प्याक गरेर रसिया भित्र्याउन शुरु गर्यो । उनी रहेको ग्लोवल प्रडक्ट कम्पनीले रसियाका ९० शहरमा चिया विक्री वितरण गरिरहेको चापागाईले बताए । ग्लोवल प्रोडक्टमा २० जना नेपाली सहित ७५ जना रसियन नागरिहरुलाई रोजगारी दिईरहेको उनले वताए ।


नेपालमा चिया प्रशोधन केन्द्र स्थापना 
परदेशमा व्यापारमा भएको प्रगति तथा अन्य देशहरुबाट प्याकिङ चियामा मात्रै कम्पनी निर्भर रहेकोले चापागाईले स्वदेशमा पनि टेवा पु–याउने सोच बनाए । परम्परागत रुपमा चलिरहेको चिया प्रशोधनलाई अत्याधुनिक बनाउन उनी  सहित चार जनाले झापामा नेचर हिमालय टि इन्डस्ट्रिज प्रा.लि.  संचालनमा ल्याए । चिया प्रशोधन कम्पनीका लागि १३ करोड लगानी गरिएको उनले वताए । उक्त कम्पनीले चिया वगानहरुबाट काँचो चिया खरिद गरि प्रशोधन सकेर रसिया निर्यात गर्दछ । 

चापागाईँको अगुवाइमा शुरु गरिएको प्रशोधन केन्द्रमा ८० जना कामदारहरु कार्यरत छन् । चापागाईले लिजमा शुरु गरेको चिया वगानमा सिजनमा १५० बढी कामदारहरु आश्रित हुने गरेको उनले बताए । चिया वगान लिजका लागि उनीसंग एनआरएनएका महासचिव डा. बद्री केसीले सहकार्य गरेका छन् । नेपालमा कपवाला प्याकिङ चियापत्तीको शुरुवात आफ्नो कम्पनीले गरेको उनले दावी गरे ।

निर्यात ढुवानी मुख्य समस्या 
मुख्यतयाः श्रीलंकबाट आयात गरि रसियामा चिया बेच्दै आएका चापागाइलाई नेपाली चियाको वजार एकछत्र बनाउन मन छ । तर बाधक बनेको छ –ढुवानी खर्च । झापाको चियाका लागि कलकत्ता देखि कन्टेनर आउजाउ गराउँदा कम्तीमा प्रति कन्टेनर तीन लाख रुपयाँ  लागत लाग्दछ । नेपालको आफ्नै वन्दरगाह नभएको कारण बन्दरगाहको भाडा तिर्नुपर्छ । जसले गर्दा लागत अझ थपिन्छ । अन्य देशहरुबाट रसिया पुगेको चिया भन्दा नेपाली चियाका लागत तीन लाख बढि लाग्ने गरेको उनले वताए ।

सरकारी निकायले चियालाई कृषिजन्य वस्तुमा सुचिकृत नगरेका कारण पनि उत्पादन तथा ढुवानीमा खर्च बढेको उनले वताए ।  जिडिपीको मुख्य हिस्सा बनाएको श्रीलंकको चियासंग लागत बढि परेको नेपाली चिया विक्री गर्न कठिन भएको उनले बताए । यद्यपी नेपाली चिया प्रवद्र्धनको लागि प्रयासरत रहेको वताए ।

नेपालमा हाइड्रो,वैंक तथा कलेजमा पनि लगानी गरेका चापागाई एनआएनए रसियामा पनि आवद्ध छन् । शैक्षिक ,व्यवसायिक र लगानीका विभिन्न क्षेत्रमा लोभलाग्दो प्रगति गरेका चापागाइलाई संवादको विट मार्दै सोधियो – छोटो समयमै धेरै प्रगति गर्नुभयो है ? उनले कुटनितिक जवाफ दिए – ‘जुकरवर्गको तुलनामा ढिलो भयो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप