बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पत्रकार महासंघ बेलायतको अध्यक्षमा अर्याल विजयी, महासचिवमा बस्नेत

सोमबार, ३१ जेठ २०७८, ०८ : ०२
सोमबार, ३१ जेठ २०७८

 नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल विजयी बनेका छन् । आइतबार लन्डनमा सम्पन्न निर्वाचनमा अर्यालले २६ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी अर्का उम्मेदवार श्याम लुईंटेलले १६ मत पाएका थिए । दश मतको अन्तरले अर्याल अध्यक्षमा विजयी भएका हुन् । अध्यक्ष पदका दुवै उम्मेदवार यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष थिए । नवनिर्वाचित अध्यक्ष अर्याल पछिल्लो १२ वर्षदेखि बेलायतमा क्रियाशिल पत्रकार हुन् । 

त्यसैगरी, शाखाको महासचिव रातोपाटीकर्मी नरेन्द्र बस्नेत विजयी भएका छन् ।  महासचिव पदमा उनी २७ मत ल्याएर  विजयी भएका हुन् । उनका प्रतिस्पर्धी जगन कार्कीले १५ मत प्राप्त गरे । १२ मतको अन्तरमा बस्नेत विजयी भएका हुन् ।

यसैगरी  वरिष्ठ उपाध्यक्षमा ३२ मतसहित दिनेशकुमार परियार विजयी भए । उनका प्रतिस्पर्धी सञ्जयभक्त कँडेलले १० मत पाएका थिए ।

शाखाको १५ सदस्यीय कार्यसमितिका अन्य सबै पद निर्विरोध भएपनि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महासचिवका लागि निर्वाचन भएको हो । जम्मा ४३ मतदातामध्ये ३८ जनाले पोस्टल मतदान गरेका थिए भने बाँकी ५ जनाले आइतबार प्रत्यक्ष मतदान गरेका हुन् । ति मध्य १ भोट बदर भएको थियो ।  


महासंघ बेलायतको नयाँ कार्यसमितिको उपाध्यक्षमा यसअघि नै शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सहकोषाध्यक्षमा सुरेन्द्र इंग्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसकेका छन् । कार्यसमितिका बाँकी तीन सदस्य पछि मनोनित गरिनेछन् । 

शाखाको नयाँ कार्यसमितिको कार्यकाल तीन वर्ष रहनेछ । 

अधिवेशन केन्द्रिय प्रतिनिधि वरिष्ठ पत्रकार भगीरथ योगीले निर्वाचित समितिलाई शपथ खुवाएका थिए ।  

शाखाको पाँचौं समितिको निर्वाचन रमेश सराङकोटी नेतृत्वको निर्वाचन समितिले गराएको थियो । समितिमा शाखाका संस्थापक अध्यक्ष नवीन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य तथा सोलिसिटर दीपक भट्टराई कानूनी सल्लाहकार थिए । 
शाखालाई यसअघि नवीन पोखरेल र चिरन शर्माले एकएक तथा नरेश खपांगीमगरले दुई कार्यकाल नेतृत्व गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप