बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

के तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुनेछन् ?

बुधबार, ०२ असार २०७८, १० : २१
बुधबार, ०२ असार २०७८


नेपालमा कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहरका कारण निषेधाज्ञा जारी छ भने तेस्रो लहर पनि आउन सक्ने भविष्यवाणीसमेत गर्न थालिएको छ । सरकारले पनि कोरोना संक्रमणको तेस्रो लहर आएमा बालबालिका बढी संक्रमित हुने पूर्वानुमान गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो लहर आउन सक्ने र बालबालिका बढी संक्रमित हुने पूर्वानुमानसहित स्वास्थ्य संस्थाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको छ ।

गत जेठ २१ गते स्वास्थ्य मन्त्रालयले तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी संक्रमित हुने भन्दै बालबालिकाका लागि २० प्रतिशत बेड र आईसीयू, एचडीयू, भेन्टिलेटर आदि तयारी अवस्थामा राख्न देशभरका सबै अस्पताललाई निर्देशन दिएको थियो ।

​कोरोनाको दोस्रो लहरसँग जुधिरहेका जनतालाई तेस्रो लहर आउन सक्ने र त्यसबाट बालबालिका बढी प्रभावित हुनेबारे सरकारले नै सचेत तुल्याएसँगै अभिभावक त्रसित भएका छन् ।

तर विज्ञ भने हालसम्म कुनै पनि अध्ययन अनुसन्धानले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आएमा बालबालिका बढी प्रभावित हुने भनेर प्रमाणित नगरेको बताउँछन् ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा कोरोना संक्रमणको तेस्रो लहर आएमा जनस्वास्थ्यका नियमहरु पालना नगरी हेलचक्य्राइँ गरे बालबालिकामात्रै नभएर सबै उमेर समूहका नागरिक उस्तै जोखिममा पर्ने बताउँछन् । ‘पहिलो लहरमा वृद्धवृद्धा बढी संक्रमित भए रे, दोस्रो लहरमा युवा संक्रमित भए रे र तेस्रो लहर आउँदा बालबालिका बढी संक्रमित हुन्छन् भन्ने हुँदैन,’ उनी भन्छन्, ‘कोरोनाले पालैपालो निश्चित उमेर समूहलाई संक्रमित गर्छ भन्ने हुँदैन ।’

​बालबालिकाका लागि तत्काल खोप आउने सम्भावना कम भएकाले उनीहरु बढी जोखिममा छन् भन्न खोजिएको उनको भनाइ छ । भविष्यमा कोरोनाको तेस्रो लहर आउने र बालबालिकाहरूलाई गम्भीर प्रभाव पार्ने भन्ने कुरा आधारहीन भएको उनी ठान्छन् ।

वृद्धवृद्धा, अग्रमोर्चामा खटिने प्रायले खोप लगाएका र लगाउने क्रम जारी रहेको भन्दै उनले १८ वर्ष उमेर समूहभन्दा माथिकालाई लगाउन खोप खरिदका लागि सरकारले प्रयास गरिरहेको बताए । तर, बालबालिकाका लागि खोप प्राप्तिको तत्काल सम्भावना नभएकाले उनीहरु जोखिममा पर्ने भनिएको उनको भनाइ छ ।

यद्यपि कोरोना संक्रमणको तेस्रो लहरमा बालबालिकामा संक्रमण बढी सर्ने वा गम्भीर बिरामी हुन्छन् भन्ने कुनै आधार नभएको उनले बताए ।  

कोरोनाको पहिलो लहरमा १८ वर्ष मुनिका २१ हजार ५ सय २३ बालबालिका संक्रमित भए भने ३८ जनाको मृत्यु भएको थियो । दोस्रो लहरमा २७ हजार १०२ जना बालबालिका हालसम्म संक्रमित भएका छन् र २९ जना बालबालिकाको मृत्यु भएको छ ।

विश्वभर कोरोना संक्रमणको पहिलो लहरमा संक्रमणका कारण १० वर्षभन्दा मुनिका बालबालिकाको मृत्युदर २.४ प्रतिशत थियो । अन्य रोगसँगै संक्रमणका कारण मृत्यु हुने बालबालिकाको दर ४० प्रतिशत रहेको अध्ययनहरुले देखाएको छ ।

संक्रमणको पहिलो लहरभन्दा दोस्रो लहरमा बालबालिका बढी प्रभावित भएको भनिए पनि अध्ययनहरुले धेरै परिवर्तन नदेखाएको चिकित्सकहरु बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार वयस्कको तुलनामा बालबालिकामा संक्रमण दर कम छ । २८ गते शुक्रबार १० वर्ष मुनिका बालबालिका ८१ जना संक्रमित हुँदा ११—२० उमेर समूहका २११ मा संक्रमण पुष्टि भएको थियो । यस्तै शनिबार १० वर्ष मुनिका ७८, आइतबार ४८, सोमबार ६४ र मंगलबार ५१ जना संक्रमित भएका थिए । यस्तै ११ देखि २० वर्ष उमेर समूहकामा शनिबार २३५, आइतबार १७१, सोमबार २०८ र मंगलबार १५६ जनामा संक्रमण पुष्टि भएको थियो ।

तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुन सक्छन् : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले कोरोनाको पहिलो र दोस्रो लहरमा बालबालिका धेरै प्रभावित नभए पनि तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुनसक्ने बताए । कोरोनाको तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुन्छन् भन्ने आधार र तथ्य नभए पनि सम्भावना बढी रहेको उनले सुनाए ।

‘तेस्रो लहरमा बालबालिका नै संक्रमित हुन्छन् भन्ने कुनै अध्ययन भएको छैन,’ डा.पौडेल भन्छन्, ‘विज्ञानले पनि बालबालिका अर्को लहर आउँदा बढी मात्रामा संक्रमित हुन्छन् भनेको छैन, नेपालले पूर्वानुमान गरेर तयारी गरेको हो ।’

विश्वका केही देशमा १८ वर्षभन्दा कम उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको क्लिनिकल ट्रायल तथा खोप दिन सुरु गरिएको छ । त्यसैले नेपालले बालबालिका लागि खोप व्यवस्थापन गर्न सक्ने सम्भावना नभएकाले उनीहरु बढी जोखिममा रहेको उनले सुनाए ।

‘अन्य उमेरसमूहमा कम्तीमा ३ जनामा २ जनाले खोप लगाएको छ भने संक्रमण ब्रेक हुन सक्छ,’ उनले भने, ‘बालबालिकाको लागि तत्काल खोप व्यवस्था गर्न सकिँदैन, त्यसैले उनीहरु उच्च जोखिम छन् ।’

बालबालिकाका लागि खोप उपलब्ध गराउन नसकिने स्थिति र धेरै बालबालिका संक्रमित भएमा अस्पतालमा सहजरुपमा उपचार गर्ने व्यवस्था तत्काल गर्न नसक्ने हुँदा बालबालिका बढी जोखिममा भनिएको उनको भनाइ छ ।

समुदायस्तरमा कोरोना फैलिसकेकाले बालबालिका जुन समयमा पनि संक्रमित हुन सक्ने भन्दै उनले तेस्रो लहरमा बालबालिका बढी संक्रमित हुने सम्भावना रहेका कारण उनीहरुलाई जोगाउनका लागि सरकारले तयारी थालेको प्रस्ट पारे । स्वास्थ्य मन्त्रालयले बालबालिकाको उपचारका लागि स्वास्थ्य पूर्वाधार र जनशक्ति पर्याप्त नभएकाले त्यसको तयारीका लागि अस्पतालहरुलाई निर्देशन दिएको उनको भनाइ छ ।

तेस्रो लहरसँग जुध्न यस्तो छ तयारी

हाल नेपालमा १० प्रतिशतभन्दा कम बालबालिका संक्रमित भएका छन् । सरकार देशका विभिन्न अस्पतालहरुमा बेड, एचडीयू, आइसियू भेन्टिलेटर जस्ता स्वास्थ्यसम्बन्धी पूर्वाधार थप्ने प्रक्रियामा रहेको उनले सुनाए । ‘बालबालिकाको उमेर, तौलअनुसार फरक खालका बेड, आइसियू, भेन्टिलेटर, एचडीयू, चाहिन्छ,’ उनी भन्छन्, ‘अहिले पूर्वाधार थपिएन भने भविष्यमा संक्रमणको तेस्रो लहर आएमा हालको पूर्वाधारले थेग्न सक्दैन ।’

सरकारले बेड, आइसियू, एचडीयू, भेन्टिलेटर राख्नका लागि अस्पतालहरुमा बजेट पठाएर १८ वर्षमुनिका बालबालिकाका लागि २० प्रतिशत पूर्वाधार निर्माण गर्न निर्देशन दिएको हो ।

नेपालमा १८ वर्षमुनिका २८ प्रतिशत जनसंख्या छ । नेपालमा अहिलेसम्म १८ वर्षमाथिका नागरिकलाई मात्रै प्राथमिकतामा राखेर स्वास्थ्य पूर्वाधार तथा जनशक्तिको व्यवस्थापन गरिएको छ । यद्यपि सरकारले बालबालिकाको उपचारका लागि खासै ध्यान दिएको पाइँदैन । तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने पूर्वानुमानका साथ सरकारले बालबालिकाको उपचारका लागि पूर्वाधारसँगै जनशक्ति व्यवस्थापनमा जोड दिएको डा. पौडेल बताउँछन् ।

उपचारात्मक सेवा महाशाखा, नेपाल पेडियाट्रिक सोसाइटी र स्वास्थ्य तालिम केन्द्र मिलेर जनशक्ति व्यवस्थापनमा लाग्ने उनले सुनाए । देशभर ३५० जना बाल चिकित्सक भए पनि धेरैजसो काठमाडौं, पोखरा, चितवन, विराटनगरजस्ता सहरमा सीमित रहेको उनले सुनाए ।

केही जिल्ला अस्पतालमा पनि करारमा बाल चिकित्सक रहेकाले उनीहरुलाई सहयोग गर्न कम्ती ३÷४ जना एमबिबिएस मेडिकल अफिसर उपलब्ध भएको खण्डमा बालबालिकाको उपचार सहजमा रुपमा गर्न सक्ने उनको भनाइ छ ।

बालबालिकाको उपचारका क्रममा चाहिने अन्य जनशक्तिलाई उपचारात्मक सेवा महाशाखाले तालिम दिने उनले बताए । सरकार बालबालिकाका लागि स्वास्थ्य पूर्वाधार तयार गर्न र जनशक्ति व्यवस्थापनमा गम्भीरताका साथ सक्रिय भएको उनले सुनाए । आवश्यकताका आधारमा जनशक्ति थप गर्न सकिने उनले बताए ।

भविष्यमा आउन सक्ने भवितव्यसँग जुध्न तथा बालबालिकाको स्वास्थ्य उपचारका लागि स्वास्थ्य पूर्वाधारको कमी नहोस् भनेर सरकारले पूर्वतयारी गरिरहेको डा.पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप