शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पार्टी एकता हुनेमा दुविधा पाल्नु पर्दैन : नारायणकाजी श्रेष्ठ

शुक्रबार, ०३ कात्तिक २०७४, १५ : ११
शुक्रबार, ०३ कात्तिक २०७४

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच प्रदेश र केन्द्रको चुनावी तालमेल गर्दै पार्टी एकता गर्नेमा मूलतः सहमति भएको छ । यो सहमति हुनुपूर्व माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पहिलैदेखि दुई पार्टी मिल्नुपर्ने बताउँदै आइरहेका नेता हुन् । यो एकता प्रक्रियामा पनि उनी निकै सक्रिय नेताका रूपमा पर्दा पछाडि काम गरिरहे । उनै श्रेष्ठसँग रातोपाटीका लागि नरेश ज्ञवालीले गरेको कुराकानी । 

नेकपा (एमाले)सँग गठबन्धनका लागि तपाईं बलियो सुत्रधारका रूपमा देखिनुभयो, एकता गर्नैपर्ने परिस्थिति कसरी निम्तियो ?
यो निर्णय हाम्रो अध्यक्ष कमरेडको पहल कदमीमा गरिएको हो । त्यसैले यसलाई अरू ढङ्गले व्याख्या गर्न मिल्दैन । एकता गर्नुपर्ने आवश्यकताका दुईवटा ऐतिहासिक वस्तुगत पक्ष छन्– पहिलो, हामीले संविधान जारी गरेर ऐतिहासिक परिवर्तनलाई संस्थागत गर्यौँ । संविधान कार्यान्वयनको प्रक्रिया मङ्सिर १० र २१ को निर्वाचनपछि गुणात्मक फड्कोमा पुग्छ । त्यसैले संविधानले उपलब्ध गराएको अधिकारलाई जनतामा अनुभूत गराउने कुरामा हामी लाग्नुपर्नेछ । भन्नुको अर्थ हामीले अब जनताको तल्लो तप्कासम्म सामाजिक न्यायसहितको समतामूलक समृद्धि दिनु पर्नेछ । त्यसका लागि विकासको नयाँ मोडेलमा देशलाई लानु आजको आवश्यकता हो ।

दोस्रो, ००६ सालमा गठन भएको कम्युनिस्ट पार्टीले आजसम्म आइपुग्दा नेपालको सामन्तवाद अन्त्यको नेतृत्व गर्यो अब हामीले समाजवादी क्रान्तिको कार्यभारलाई पूरा गर्नुपर्नेछ । त्यो परिस्थिति निर्माण गर्न वामपन्थी, कम्युनिस्ट शक्तिहरू एकताबद्ध भएर अगाडि नबढेसम्म यो कुरा सम्भव हुँदैन । त्यसका लागि हामीले नयाँ नेपालको राजनीतिक कार्यदिशा विकास गर्नुपर्नेछ । त्यसका लागि ठूलो वैचारिक बहस चलाउनु, समाजवादी क्रान्तिको नेतृत्वका लागि कम्युनिस्ट पार्टीहरूको पुनर्गठन र रूपान्तरण गर्नुपर्ने ऐतिहासिक आवश्यकता र कार्यभार होम्रो अगाडि छ । मूलतः यही दुईवटा कुरालाई पूरा गर्न हामीले पार्टी एकताको कुरा चलाएको हो । 

ऐतिहासिक वस्तुगत आवश्यकतालाई पार्टीको बैठक, छलफलबाट टुङ्गो लगाउनुको सट्टा उम्मेदवार चयन गर्न बोलाइएको बैठकबाट अध्यक्षद्वारा निर्णय सुनाएर अन्तिम विकल्प यही हो भन्ने ढङ्गबाट अगाडि बढाउनुपर्ने परिस्थिति कसरी बन्यो ?
यसबारे पोलिटब्युरोको विस्तारित बैठकमा अध्यक्ष कमरेडले यो विषयलाई राम्रैगरी सम्प्रेशित गर्नुभएको छ । निश्चित रूपमा महत्वपूर्ण निर्णय लिँदा पार्टीमा छलफलको प्रक्रियाबाट अगाडि बढ्नु विधिसम्मत हो र त्यो आवश्यक पनि हुन्छ । तर यो निर्णय जुन सन्दर्भमा गर्नुपर्ने गरी घटनाक्रम विकसित भयो त्यसमा छलफल गर्न सकिएन । त्यसमा कमीकमजोरी भएको भनेर उहाँ आफैले भन्नुभएको छ । 

कस्ता खाले घटनाक्रमहरू विकसित भए, जसले बिना कुनै छलफल र बहस नै तपाईं र पार्टी अध्यक्षले एमालेसँग एकता गर्ने टुङ्गो लगाइ दिनुभयो ?
नेपालमा कम्युनिस्ट समर्थक जनताको बाहुल्यता छ । माइक्रोस्कोप नलगाई अथवा कुनै गम्भीर अध्ययन, विश्लेषणबिनै के भन्न सकिन्छ भने वामपन्थीहरू मिले भने स्पष्ट बहुमत आउँछ र वामपन्थीहरूको नेतृत्वमा सामाजिक आर्थिक कार्यभार पूरा गर्न सकिन्छ । यति कुरा प्रष्ट हुँदाहुँदै पनि वामपन्थीहरू विभाजित हुनु ठीक भएन । त्यसैले मैले नीतिगत रूपमै पार्टी एकताका लागि प्रस्ताव पेश गरेको थिएँ । त्यसैले पहिलो चरणमा सङ्घ र प्रदेशमा तालमेल गर्ने भनेर पार्टीमा छलफल भयो । छलफल हुँदैगर्दा अध्यक्ष कमरेडले नै यो विषयमा अरू पार्टीसँग छलफल गर्न भनेर मलाई जिम्मेवारी दिनुभयो । त्यही क्रममा अध्यक्ष कमरेडले नै तालमेल मात्रै किन पार्टी एकीकरण गरेर क्रान्तिले मागेको वस्तुगत आवश्यकताको मागमा ऐतिहासिक पहलकदमी गरौँ भन्नुभयो । मैले भन्न खोजेको के भने, अध्यक्ष कमरेड आफैले निष्कर्ष निकालेर पार्टी एकता कार्यान्वयनको पहल लिनु भएको हो । 

माओवादी पार्टीमा मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराई ‘लालध्वज’ले पार्टी छाडेपछि पार्टी अध्यक्ष प्रचण्डलाई ‘चेक एन्ड व्यालेन्स’ गर्ने नेता छैनन् । त्यसैले उनले आफूलाई लागेको कुरा बिना कुनै छलफल, बिना कुनै कमिटीको निर्णय नै लागू गराउन सक्छन् भन्ने विश्वास गरिन्छ । दक्षिणपन्थी बाटोमा हिँडिरहेको भनिएको एमालेसँग एकता गर्ने क्रममा यो कुरा टड्कारो रूपमा झल्किएको हो ?
हाम्रो पार्टीमा त्यस्तो अवस्था छैन । निश्चित रूपमा हाम्रो नेता अध्यक्ष कमरेड प्रचण्ड हो र उहाँले नै पार्टीको नेतृत्व गर्नुभएको छ तर बेठीक कुरा भयो भने लगातार आवाज उठाउँदै आइराखिएको छ । तपाईंलाई थाहा छ, त्यसैले पार्टीभित्र अन्तरसङ्घर्ष पनि हुँदै आएको छ । त्यसैले बेठीक प्रस्तुत गर्नुभयो भने त्यसको बहस, आलोचना हुँदैन भन्ने कुरा सत्य होइन । 

अर्को प्रसङ्गमा सरकारमा पनि रहने र विपक्षीसँग पनि गठबन्धन बनाउने कुराले तपाईंहरूलाई अलिकति पनि नैतिकताको याद आएन ?
यो क्रान्तिकारी पार्टीमा केही भ्रष्टीकरण भएको छ भन्ने कुरा सत्य हो । तर नेपालमा अहिलेको सबैभन्दा क्रान्तिकारी पार्टी पनि यही हो । तर यथास्थितिमा रहेर यसले नेपाली क्रान्ति र समाजिक आवश्यकतालाई पूर्ति गर्न नेतृत्व लिन सक्दैन । त्यसैले यसका रूपान्तरण र पुनर्गठन गर्नुपर्छ भनेको हो । दोस्रो, जहाँसम्म तपार्इंले नैतिकताको कुरा गर्नु भयो, हाम्रो नैतिक जिम्मेवारीका कारणले नै हामी सरकारमा छौँ । किनभने हामीले नेपाली काङ्ग्रेससँग गरेको सम्झौता सरकार बनाउन र संविधान कार्यान्वयनका लागि माओवादीले स्थानीय चुनाव सम्पन्न गर्ने र सङ्घ तथा प्रदेशको चुनाव देउवा नेतृत्वको सरकारले पूरा गर्ने भनेको हो । त्यही सम्झौताको अधारमा हामीले निर्वाचन सम्पन्न हुनु अगावै सरकार छोड्न मिल्दैन । यस्तो गर्नु भनेको जिम्मेवार राजनीतिक पार्टी भएर हो । त्यसैले हामी इमानदार र नैतिकताका कारणले सरकारमा बसिदिएको हो । 

गठबन्धनको भेलामा एमाले अध्यक्ष केपी ओलीले वामपन्थी गठबन्धन नेतृत्वमा नयाँ सरकार बन्ने कुरा लेखेरै आएको रहेछ भन्नु भएको थियो, नयाँ सरकार कहिले बन्छ भन्न खोज्नुभएको ?
नयाँ सरकार चुनावपछि बन्छ भनेको हो । 

प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरूलाई विनाविभागीय बनाई दिएसँगै माओवादी अब कसरी अगाडि बढ्छ त ?
राजनीतिक सङ्कट निम्त्याउने, चुनाव नहुने वातावरण बनाउने र चुनाव नुहुनेतिर देशलाई लैजान कुनै कदम चाल्न पाइँदैन । हामी चुनाव नगारउने कुनै पनि षडयन्त्र हुन दिन्नौँ । बाँकी आगामी दिनमा के गर्ने भन्ने विषयमा हामी छलफल गर्दैछौँ । 

यो गठबन्धनले आगामी कति वर्षसम्म नेपालको राजनीतिलाई प्रभावित पार्ला ?
प्रष्ट छ । पहिलो, राजनीतिक रूपले नेपालमा कम्युनिस्टको बाहुल्यता छ । शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत यो कम्युनिस्ट मतलाई लिएर देशको नेतृत्व हाम्रो हातमा लिने । दोस्रो, नेपालको राष्ट्रिय स्वाधीनताको दृढतापूर्वक रक्षा गर्ने र सामाजिक आर्थिक रूपान्तरण गर्ने । अहिलेको चुनावी तालमेल गर्ने र पछि पार्टी एकता गर्नेसम्म यसको औचित्य हो । 

समाजिक सुरक्षा, आर्थिक नीति जस्तै, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मुद्दामा यो गठबन्धन कसरी अगाडि बढ्छ ?
संविधानले शिक्षा, स्वास्थ्य, रोजगारी, खाद्य सुरक्षा र आवासलाई नागरिकको मौलिक अधिकार भनेको छ । हामीले मौलिक हकको कार्यान्वयनको तहमा कानुन बनाएर अगाडि बढ्ने हो । त्यसलाई व्यावहारिक कार्यान्वयनमा लग्न समृद्धिको प्रक्रियालाई तीव्र बनाउनुपर्छ । 

अहिले पनि मानिसहरू यो गठबन्धन पार्टी एकतासम्म पुग्छ कि पुग्दैन भन्नेमा स्पष्ट छैनन्, तपाईंले स्पष्ट पारिदिनुस् न ?
हेर्नुस् ऐतिहासिक वस्तुगत आवश्यकता वा मागअनुसार गरिएको निर्णय हो । त्यसैले पार्टी एकताको प्रक्रियामा जान्छ कि जाँदैन भन्नेमा कुनै दुविधा पाल्नुपर्दैन । हामी पार्टी एकतामै जानुपर्छ । चुनौती र जटिलताहरू छन्, त्यसमा कुनै शङ्का छैन तर यत्रो असाधारण निष्कर्ष निकाल्दा चुनौती र जटिलताहरूलाई चिर्ने साहस हामीले गर्नुपर्छ । पार्टी एकताको प्रक्रियालाई अगाडि बढाएर सफल पार्नु नै अहिलेको ऐतिहासिक कार्यभार हो । 

पार्टी एकताको दुईवटा महत्वपूर्ण मुद्दा एमालेको जनताको बहुदलिए जनवाद र माओवादीको जनयुद्धले उठाएका मुद्दालाई कसरी हल गर्नु हुन्छ ?
दुई पार्टीका आत्मगत रूपमा दुईवटा समानता रहे । एउटा तात्कालीन राजनीतिक लाइन अर्थात मूल कार्यनीतिमा पूरै समानता । जस्तै, शान्तिपूर्ण प्रतिस्पर्धा, राष्ट्रिय स्वाधीनताको रक्षा, संविधानको कार्यान्वयन र सामाजिक न्ययायुक्त समृद्धि र समाजवादको आधार निर्माण गर्ने । तथा यससँगै रणनीतिक रूपमा मोटो कुरामा सहमति छ । जस्तै, माक्र्सवादी अवधारणामै कम्युनिस्ट आन्दोलनलाई अगाडि बढ्ने तथा समाजवाद स्थापनाका लागि सङ्गठित काम गर्ने । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेश ज्ञवाली
नरेश ज्ञवाली

नरेश ज्ञवाली रातोपाटीका अन्तर्वार्ताकार तथा विचार पृष्ठका संयोजक हुन् । अन्तर्वातासँगै उनी लेख, फिचर र समाचारमा कलम चलाउँछन् । @GyawaliNaresh 

लेखकबाट थप