शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

महाकाली नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन  आग्रह

शुक्रबार, ०४ असार २०७८, १६ : ०७
शुक्रबार, ०४ असार २०७८

केही दिनदेखि लगातारको वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।  

बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । “केही दिनदेखि लगातार रुपमा वर्षा भइरहेको छ”, उनले भने, “महाकालीमा पानीको बहाव घटबढ हुने भएकाले तटीय क्षेत्रमा नजान आग्रह छ ।”

महाकालीमा दार्चुलाको दत्तुमा राखिएको जल मापन केन्द्रमा जल सतहले खतराको सतह पार गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उक्त नदीमा आज बिहान पानीको बहाव बढेर ५८० सेन्टिमिटर पुगेको दत्तु प्रहरी चौकीले जनाएको छ । 

साथै लगातार वर्षा भइरहेकाले जिल्लाका अन्य खोलामा पनि बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बैतडीको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका महाकाली नदी किनारका बासिन्दालाई सचेत रहन आग्रह गरिएको हो ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप