शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

वेल्स भर्सेस इटली : कसले मार्ला बाजी ?

आइतबार, ०६ असार २०७८, ०८ : ४०
आइतबार, ०६ असार २०७८

नेपाली समयअनुसार आज  राती ९ः४५ मा इटली र वेल्स भिड्दैछ । यो खेल इटलीको राजधानी रोममा हुनेछ,  युरोकपका सुरुवाती दुई खेल जितेको इटलीले दोस्रो चरणको यात्रा पक्का गरिसकेको छ । अन्तर्राष्ट्रिय फुटबलमा यो उसको लगातारको १० औं जित हो । त्यस्तै, पछिल्ला ३० खेलदेखि इटली अपराजित छ । 

यता, वेल्सले पनि सुरुवाती दुई खेलबाट ४ अंक बटुलेको छ । त्यसैले समूह एमा वेल्स दोस्रो स्थानमा छ  । स्विचरल्यान्डविरुद्ध बराबरी खेलेको वेल्सले टर्कीलाई हराएको हो । त्यसैले आजको खेलमा इटलीलाई हराएर समूह विजेता बन्ने ध्याउन्नमा वेल्स हुनेछ, बराबरीले उसलाई समूहमा दोस्रो बनाउनेछ ।  इटलीसँग पराजित नै भएपनि तेस्रो स्थानका उत्कृष्ट टोलीहरुको सुचीमा परेर वेल्सले अन्तिम १६ को  चरणको यात्रा गर्नसक्छ ।

युरोकपमा प्रत्येक ६ समूहमध्ये शीर्ष र दोस्रो स्थानमा रहने १२ टिममात्र नभएर तेस्रो स्थानमा रहने उत्कृष्ट चार टिम पनि अन्तिम १६ मा छनोट हुन्छन् ।
इटलीका प्रशिक्षक रोबर्टो म्यान्सिनीले पहिलो र दोस्रो खेलमा एकजना मात्रै खेलाडी परिवर्तन गरे । घाइते अलेस्यान्द्रो फ्लोरेन्जीको साटो गियोभानी डि लोरेन्जोलाई मैदान पठाए । तर आज उनले टोलीमा ठूलो परिवर्तन गर्नसक्छन् । अग्रपंक्तीमा आन्द्रे बेलोट्टी र फेडरिको चिइसाले सुरुवाती ११ मै स्थान बनाउनसक्छन् । यता, जर्जियो चिल्लिनीको चोट पनि निको भइसकेको छ । तर पनि प्रशिक्षकले उनलाई आराम दिनसक्छन् । दोस्रो स्थानमा छनोट भइसकेको इटलीले आजको खेलमा दबाब लिनुपर्ने कारण छैन । 

इटलीका फरवार्ड डोमेनिको बेरार्डी आफ्नो टोलीसँग धेरै विकल्प भएको बताउँछन् । ‘हामीसँग आक्रमणमा धेरै विकल्प छ । हामी हरेक खेलमा शतप्रतिशत प्रयास गर्छौं । वेल्सविरुद्धको यो खेल हाम्रा लागि अर्को महत्वपूर्ण परीक्षा हो र हामीले यो खेल जित्ने लक्ष्य राखेका छौं,’ उनले भने । 

यता, वेल्सका प्रशिक्षक पनि जितलाई नै लक्ष्य बनाएको बताउँछन् । ‘चार अंक नै दोस्रो चरणमा पुग्नका लागि पर्याप्त छ भन्नेतर्फ हामी ध्यान दिएका छैनौं । हामी इटलीविरुद्ध उत्कृष्ट खेलेर जित हासिल गर्न चाहन्छौं । हामीले खेलेको हरेक खेल जित्न चाहन्छौं र आज पनि त्यहीअनुसार खेल्नेछौं,’ उनले भने ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप