बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारका तीन रङ्ग

शुक्रबार, ०३ कात्तिक २०७४, २२ : ४३
शुक्रबार, ०३ कात्तिक २०७४

गाउँका रङ्ग
सहरका रङ्ग
प्रवासका रङ्ग
माटोको निधारमा
आँशुसित मुछेर
यसरी, 
तिहारको सप्तरङ्गी टीकाको 
तीन रङ्ग लगाइएछ !

गाउँको रङ्गभित्र
जोर मादल,
छिङ्छिङ् चुरा बजाउँदै घन्कन्छ,
हलुका नशा चढेका चिसो बत्तासले
मीठो लयमा झ्याउरे गीत गाउँछ 
बाँसुरी,
देउसी, भैलो भट्टयाउँछन् 
पाउजु, खँैजडीका नाङ्गा खुट्टाहरू,
आँगनमा गोलबद्ध हुन्छन् 
देउसी रे ! भन्छन्
खुशीले बुरुक्क–बुरुक्क उफ्रँदै
अङ्गालो हालेर नाच्छन् !

नाङ्लोभरि सेलरोटी, फलफूलहरू
दक्षिणा चामलमाथि दियो बालेर
मीठो मुस्कान दैलो उघारेर निस्कन्छ ! 
रङ्गीबिरङ्गी फूलमालाहरू
कम्मर मर्काएर नाच्छन्
अफसोच,
 यी दृश्य हेर्ने 
आँखाहरूले गाउँ छाड्छन्
सहरको बाटो समाउँछन् 
बिदा हुन्छन्
हात हल्लाउछन् ।

सहरको रङ्गभित्र
गल्ली–गल्लीले गितार बजाउँछन्
चोक–चोकले ड्रमसेट ठोक्छन्
मादल, बाँसुरी र खैँजडीहरू 
गुन्यु–चोली र दौरा–सुरुवालहरू
मिनी बसले अगाडिपट्टि 
ब्यानर टाँगेर बोक्छन् !
कार, मोटरसाइकलहरू 
ढाकाटोपी, टाई, सुटहरू
घर कम्पाउन्डको गेट खोल्दै
मुस्कानसहित नमस्कार ठोक्छन्
करेन्टको प्लग जोड्छन्
एम्प्लिफायर घन्कन्छ
देउसी रे ! भन्छन्
रङ्गीबिरङ्गी फूलमालाहरू
कम्मर मर्काएर नाच्छन्
अफसोच,
 यि दृश्य हेर्ने 
आँखाहरूले सहर छाड्छन्
प्रवासको बाटो समाउँछन् 
बिदा हुन्छन्
हात हल्लाउछन् ।

प्रवासको रङ्गभित्र
मेसिनले एकोहोरो देउसी भट्टयाए जस्तो
मनले मनमनै देउसी रे ! भने जस्तो
तिहार आए, आए जस्तो
तिहार गए, गए जस्तो
सामाजिक सञ्जालमा 
मेसेन्जर खोल्यो, हेर्यो
वाइफाई खोल्नसाथ
लट्टेजस्तै पटटङ पड्कन्छ नोटिफिकेसन
तिहारको अनेककानेक
शुभ–कामना गीतहरू
अनेककानेक देउसी–भैलोहरू
इनबक्समै देउसी–भैलो
इनबक्समै भाइटीका !
त्यसै–त्यसै,
सम्झनामा फेरि
रङ्गीबिरङ्गी फूलमालाहरू
कम्मर मर्काएर नाच्छन्
आँखाको आँगन ढिकमा
घैलाबाट पानी पोखिन्छ
अफसोच,
यी दृश्य हेर्ने 
आँखाहरूले हेर्न छाड्छन्
निद्राको बाटो समाउँछन् 
बिदा हुन्छन्
हात हल्लाउँछन् ।


दिनभरिको कामले 
थकित आँखाहरू
फुस्स निदाउँछन् !


यसरी,
तिहारको सप्तरङ्गी टीकाको 
तीन रङ्ग लगाइएछ
अब, बाँकी रङ्ग ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिलनकान्छा किराँती
मिलनकान्छा किराँती
लेखकबाट थप