बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कालो ढुस्सी संक्रमित विरामीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न

आइतबार, ०६ असार २०७८, २० : ४५
आइतबार, ०६ असार २०७८

धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हालसालै कालो ढुस्सी संक्रमित एक विरामीको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. शंकर प्रसाद साहको नेतृत्वमा डा. राजन मुल्मी, एनेस्थेसिया विभागबाट प्रा.डा. विरेन्द्र प्रसाद साह, प्रा.डा. कृष्णा पोखरेल, डा. जेनी बज्राचार्य, नर्सहरु सरिता ठाकुर, रेणुका राजवंशी तथा हेल्पर दुर्गा बी.क. कोटोलीले उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।

काठमाडौँका ६१ वर्षीय पुरुष गत जेठ १३ गतेका दिन अनुहारको देब्रे पाटो सुन्निएको र दुखेको साथै देब्रे आँखा पनि रातो भएको समस्या लिएर प्रतिष्ठानको नाक, कान तथा घाँटी विभागको ओ.पी.डी. मा जचाउन एका थिए । उनलाई सो समस्या अस्पताल आउनुभन्दा ७ दिन अगाडिदेखि सुरु भएको थियो ।

ब्लड प्रेसर र सुगरको पनि विरामी रहेका उनी कोभिड १९ संक्रमित भइ काठमाडौँको वीर अस्पतालमा उपचार गरी प्रतिष्ठानमा आउनुभन्दा १० दिन अगाडी डिस्चार्ज भएको अस्पतालले जनाएको छ । उपचारको क्रममा वहाँलाई त्यहाँ अक्सिजन थेरापी साथै स्टेरोइड दिइएको थियो ।

विरामीको जाँच गर्ने क्रममा नाकको देब्रे पट्टिको प्वालभित्रको पछाडिको भागसम्म कालो भै पिप जमेको अवस्थामा पाइएको थियो । शल्यक्रियाको क्रममा नाकभित्रको कालो भएको सो भागलाई निकाली ल्याब परिक्षण गर्न पठाइएको थियो । सो परिक्षणको रिपोर्टले वहाँलाई कालो ढुस्सीको संक्रमण भएको पुष्टी गरेको थियो ।

शल्यक्रिया पश्चात उक्त विरामीलाई थप उपचारका लागि प्रतिष्ठानको नाक, कान तथा घाँटी वार्डमा भर्ना गरिएको थियो ।  स्वास्थ्य लाभपछि उनलाई असार ४ गते डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप