बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बाढीपहिरो र डुबानमा परी २० जनाको मृत्यु, ८ सय ६ जनाको उद्दार

सोमबार, ०७ असार २०७८, १७ : २३
सोमबार, ०७ असार २०७८

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि सोमबार दिउँसोसम्म २० जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १३ जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।  तीमध्ये सिन्धुपाल्चोकमा ५ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, कास्की, अर्घाखाँची, पाल्पा, प्युठान, जुम्ला, कालिकोट, बझाङ, पाँचथर र बाजुरामा १/१ जना रहेका छन् ।  

यसैगरी बाढी तथा पहिरोमा परी ८ सय ६ जनाको उद्दार गरिएको छ । तीमध्ये मनाङमा ६ सय ५६ जना, सिन्धुपाल्चोकमा १ सय २३ जना, सल्यान र लमजुङमा ८/८ जना, दाङ र गोरखामा ४/४ जना र कञ्चनपुरमा ३ जना रहेका छन् । उद्दार पश्चात उपचारका लागि विभिन्न अस्पतालमा लगिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

बाढीपहिरो र डुबानमा परी २० जना घाइते भएका छन् । तीमध्ये १३ जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३/३ जना, जुम्ला र कास्कीमा २/२ जना, स्याङजा, चितवन, सल्यान, पाँचथर र दार्चुलामा १/१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

बाढी पहिरोमा परी २१ जना बेपत्ता भएका छन् । तीमध्ये १४ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा २० जना र बाजुरामा १ जना रहेका छन् । बेपत्ताको खोजी कार्य जारी रहेको जनाइएको छ ।

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण जुम्ला, कास्की, बैतडी लगायतका स्थानहरुमा सोमबार पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी छ ।

बाढीको कारण २ सय १० वटा घर डुबानमा परेका छन् । २ सय ६ वटा घर, १२ वटा गोठ, १८ वटा पुल, ३ वटा विद्यालय र ८ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७ सय ४८ वटा घरका ३ हजार २ सय ५८ जना मानिस विस्थापित भएका छन् भने ६ सय ३० वटा पशु चौपायाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप