बागमती प्रदेश सरकारले छुट्यायो बाढी प्रभावित परिवारका लागि ५ करोड
बागमती प्रदेश सरकारले बाढी पहिरो पीडित परिवारहरुलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने भएको छ । प्रदेशका सिन्धुपाल्चोक, चितवन लगायतका विभिन्न जिल्लाहरुका बाढी पहिरो प्रभावित घर परिवारलाई राहत स्वरुप आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको हो ।
बागमती प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बागमती प्रदेश सरकारले बाढी पहिरो प्रभावित परिवारको राहतका लागि ५ करोड रुपैयाँ रकम छुट्याएको जानकारी दिए । उनकाअनुसार प्रदेशका विभिन्न जिल्लाका बाढी पहिरोबाट प्रभावित परिवारहरूको राहत स्वरुप खाद्यान्न, अस्थायी बसोबासका लागि आर्थिक सहायता प्रदान गर्ने तयारी भइरहेको छ ।
बाढी पहिरो प्रभावित सबै जिल्लामा छिट्टै उपलब्ध गराउने गरी आवश्यक तयारीको काम समेत भइरहेको उनले बताए । बाढी प्रभावित भएका परिवारको स्वास्थ्य उपचारका लागि बागमती प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा चिकित्सक टोलीसमेत पठाउने निर्णय गरेको मन्त्री ढुंगेलले बताए ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेतृत्वमा बाढी पहिरोबाट प्रभावित भएका परिवारको औषधि उपचारका लागि मंगलबार चिकित्सकहरुको टोली सिन्धुपाल्चोक र चितवनतर्फ पठाइने उनले बताए । त्यस्तै मंगलबार नै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बाढी पहिरोबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको प्रभावित क्षेत्रको अनुगमन गर्ने तय भएको मन्त्री ढुंगेलले बताए ।
मुख्यमन्त्री पौडेलसँगै आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे बाढी प्रभावित क्षेत्रको अनुगमनका लागि सिन्धुपाल्चोक जाने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते