शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राम्रो पार्टी बनाउने अभियानमा लाग्नुपर्ने भयो : ठाकुर गैरे

सोमबार, ०७ असार २०७८, २० : ४७
सोमबार, ०७ असार २०७८

नेकपा एमाले माधव नेपाल पक्षका युवा नेता ठाकुर गैरे अहिलेसम्म पार्टी एकताको सम्भावना पूरै टरिनसकेको बताउँछन् । अदालतको भर पर्नेतिर नलागी ०७५ जेठ २ मा फर्कने हो भने एकताको आधार तयार हुने उनी बताउँछन् ।

नेकपा एमालेभित्र चलिरहेको एकताको प्रयास र वार्ताहरुबारे के कस्तो प्रगति भइरहेको छ भन्नेबारे रातोपाटीले एमालेका युवा नेता गैरेसँग संक्षिप्त कुराकानी गरेको छ ।

प्रस्तुत छ, माधव नेपाल पक्षका नेता गैरेसँगको कुराकानी–  

एमालेमा एकताका लागि भन्दै नेताहरुबीच वार्ता र छलफल भएका खबरहरु सार्वजनिक भइरहेका छन् ती वार्ताले पार्टी एकता जोगाउला ?

मैले बुझेअनुसार अहिले नेताहरुबीच भएका वार्ता र छलफल अनौपचारिक हुन् । यस्तो छलफलमा मिलेर जानुपर्छ र मिल्नु नै आजको अवश्यकता हो भन्ने कुराहरु भएको भन्नेमात्रै सुनिएको छ ।

यस्तो छलफलले पार्टी विवाद मिल्छ भन्नेमा विश्वस्त हुनुहुन्छ ?

२०७५ जेठ २ को अवस्थाबाट नेकपा एमाले क्रियाशील हुने कुरा नै एकताको मुख्य आधार हो । त्यो ठाउँमा सहमति हुने कुरा नै विषय हो । यसको अर्थ, नवौं महाधिवेशनले पास गरेको नीति विचार सिद्धान्त मान्ने भनिएको हो । नवौं महाधिवेशनले पास गरेको विधान मान्ने र सोही महाधिवेशनले चयन गरेको नेतृत्वबाट अघि बढ्ने भन्ने हो । त्यसको संस्थागत जीवन, सामुहिक निर्णय, नेतृत्वको स्पिरिटमा जाँदा एमालेको एकता पनि बच्ने र नेपालको वाम आन्दोलनलाई रुपान्तरणको प्रक्रियामा लैजाने हो ।

एमाले एकताका नाममा अध्यक्ष ओली  र वरिष्ठ नेता माधव नेपालले ६ बुँदे प्रस्ताव अघि सार्नुभएको छ भने उपाध्यक्ष वामदेव गौतमले पनि अर्को प्रस्ताव अघि सार्नुभएको छ । यी प्रस्तावहरुपछि एमाले एकता नजिकिएको छ कि टाढिएको ?

ती तीनवटै वक्तव्यले जेठ २ मा फर्केर पार्टी एकता गर्न सकिन्छ भन्ने संकेत गरेका छन् । ती सबै वक्तव्य एउटै टेबलमा राखेर छलफल गरेर अघि बढ्नसक्नुपर्छ ।

तपाईको बुझाइमा जेठ २ मा फर्कन ढिला हुनुको बाधक कसलाई देख्नुहुन्छ ?

२०७७ फागुन २८ गते नेपालमा एमालेको केन्द्रीय समिति बैठक बसेको छैन । तर, २८ गते बैठक बसेको, त्यसले आयोजक कमिटी बनाएको, विधान संशोधन गरेको, नवौं महाधिवेशनले निर्वाचित गरेका पदाधिकारीहरुलाई खारेज गरेको भनेर निर्णय सार्वजनिक भयो, त्यो नै २३ गतेको फैसलापछि एमालेको जुन विन्दुबाट पुनर्जीवित भएको थियो, त्यहाँबाट अघि बढ्न बाधा सिर्जना भएको हो । त्यसलाई सच्याउन २०७५ जेठ २ को अवस्थाबाट पार्टीलाई क्रियाशील गराउनुपर्छ भनिएको हो, जसले अदालतको फैसलाको सम्मान पनि हुन्छ ।

तपाईले यसो भन्दै गर्दा ओली पक्ष कर्णाली प्रकरणमा भ्याकेटमै गइसकेको छ । यसले त एकता प्रक्रिया थप टाढिने हो कि भन्ने आशंका बढेको छ नि ?

राजनीतिक समस्याको समाधान राजनीतिक तवरबाटै खोज्नुपर्छ । अदालतको साहारा लिएर र अदालतले राजनीतिक फैसला गरिदिन्छ भन्ने कुरा दिगो हुँदैन ।

युवा पुस्ताको एक जुझारु नेताको हैसियतले भन्नुपर्दा एमालेको यो हविगत देख्दा तपाईलाई कस्तो महशुस भएको छ ?

यसले नेपालको वाम आन्दोलनमाथि ठूलो संकट पैदा भएको महशुस भएको छ । नेपाली जनताले दशकौँ लडेर प्राप्त गरेको संविधान, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट सर्वहारा श्रमजीवी र गरिखाने वर्गको हितको कुरा जसरी गरेर आयौं, श्रम र पसिनाको मूल्यको कुरा गर्यौं, त्यो कुरा सही हुँदाहुँदै पनि विगतमा नेकपा र अहिले एमालेभित्रको आन्तरिक झगडाले यो परिस्थिति उत्पन्न भएको छ ।

विचार, सिद्धान्त र दृष्टिकोण सही हुँदाहुँदै पनि ठीक ढंगले कमाण्ड गर्न सकेनौँ । यसले गर्दा राम्रो काम गर्न राम्रो पार्टी बन्नुपर्छ भन्ने प्रमुख कुरा हो भन्ने यसले सन्देश दिन्छ र मलाई महशुस पनि त्यही भएको छ । हामीले राम्रो देश बनाउने र जनताको सुख, शान्ति र न्यायको प्रत्याभुति दिलाउन राम्रो पार्टी बनाउने अभियानमा अझै मेहनत गरेर लाग्नुपर्ने भयो । यसका लागि एमालेको एकता र रुपान्तरणको अपेक्षा गरेका हौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप