शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कालोपुल बस्ने सन्तोषीलाई कसले पुर्‍यायो दक्षिणकाली ? २ दिनदेखि थिइन् गायब

बुधबार, ०९ असार २०७८, १३ : १५
बुधबार, ०९ असार २०७८

काठमाडौंको दक्षिणकालीमा मंगलबार बिहान मृतावस्थामा भेटिएकी महिला सन्तोषी सुब्बा आइतबारदेखि नै परिवारबाट सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । विभिन्न चरा तथा पशुपक्षीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी सन्तोषी सुब्बा आइतबारदेखि नै हराएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको हो ।  

करिब १८ वर्ष पहिलेदेखि सन्तोषीलाई धर्म छोरी बनाएर पालेका धनबहादुर तामाङले सन्तोषी आइतबारदेखि नै परिवारको सम्पर्कमा नआएको प्रहरीलाई बताएका थिए ।​ सन्तोषीसहित धनबहादुरको परिवार कालोपुलस्थित टहरामा बस्दै आएको थियो ।
तर कालोपुल बस्ने सन्तोषी कसरी दक्षिणकाली पुगिन्, उनलाई कसले त्यहाँ पुर्यायो र हत्या गर्यो, सो सम्बन्धमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए ।
सन्तोषी सुब्बाको शव मंगलबार बिहान दक्षिणकाली बसपार्क नजिकैको शौचालयमा भेटिएको थियो । अनुहारमा ढुङ्गाले हानेर हत्या गरिएको र शवसमेत चिन्न नसक्ने अवस्थामा उनको शव भेटिएको थियो । 

उनले लगाएको कपडा र घटनास्थलमा फेला पारिएको केही सामानको आधारमा उनको शव पहिचान भएको हो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

कालोपुल बस्ने उनलाई कसैले ललाईफकाई वा प्रलोभनमा पारी दक्षिणकाली पुर्याएको हुनसक्ने आशंका गरिएको छ । जंगलको छेउमा रहेको सुनसान स्थलमा शव फेला परेका कारण चिनजानकै व्यक्तिले उनलाई त्यहाँ पुर्याएर हत्या गरिएको  हुनसक्ने आशंका गरिएको छ । 

प्रहरीले उनको चिनजानका व्यक्ति, धेरै कुराकानी हुने व्यक्ति आदिको बारेमा जानकारी लिइरहेको र केही दिनमै हत्याराको पहिचान खुल्ने विश्वास लिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप