पत्रमित्रताले जुराएको जोडी

person access_timeकात्तिक १०, २०७४ chat_bubble_outline0

घाम घर फर्कंदै थियो । 

अपराह्न पाँच बजेसम्म मोरङको बेलबारी बसेपछि उनले उनलाई साइकलमा राखेर घर पुर्याए । बेलबारीबाट घर (हरैंचा) पुग्दा घरपरिवारले खाना खाँदै थिए । उनी साइकलबाट ओर्लनासाथ उनको कोठा पसिन् ।

खाना खाइसकेपछि दुवैलाई खाना खान बोलाइयो । खाना खाइसकेपछि सपरिवार एकै ठाउँ भेला भए । छोराले साइकलमा सुटुक्क बुहारी भित्र्याए पनि घरपरिवारले अनौठो मानेनन् । खाना खाइसकेपछि कुराकानी भयो । 

‘तिम्रो पनि घरपरिवार छन् नि होइन ? के हो यो तरिका ?,’ ससुराले भर्खरै भित्रेकी दुलहीलाई केरकार गरे, ‘इज्जतको कुरा छ । भागेर किन आएकी ? हामीलाई पनि हाम्रो छोराको धुमधामसँग बिहे गर्ने मन छ । तिमी भोलि घर गइहाल । हामी तिम्रो घर आउँछौं ।’ 

ससुरा बाले त्यसो भने पनि दुलही घर फर्कन राजी भइनन् । दुलाहाले रातभरि सम्झाइबुझाइ गरे । घर भित्रेको भोलिपल्ट बिहानै दुलाहाले दुलहीलाई माइत पठाए । त्यसको तीन÷चार दिनपछि एक गाउँलेसहित ससुरा दुलहीको घर पुगे । दुवै परिवारबीच कुराकानी सहमति भयो । अन्ततः संवत् २०५९ मंसिर १३ गते बिहे गर्ने टुंगो लाग्यो ।
तात्कालिक हरैंचा गाउँ विकास समिति–४ कुमारगाउँ मोरङ र महेन्द्रनगर–८ चक्रघट्टी, कालपानी सुनसरीकी शिला भण्डारीबीच पहिले भागेर पछि मागेर बिहे भयो । पोखरेल दम्पतीका छोरो निकेशराज पोखरेल १५ र छोरी निकेशारानी पोखरेल ६ वर्षकी भइन् । 

‘पहिले साथी थिइन्,’ अनामनगर काठमाडौंमा श्रीमती र छोरीसहित भेटिएका नवराज पोखरेलले सुनाए, ‘अहिले जीवनसाथी भइन् ।’ भण्डारी र पोखरेलले पत्रमित्रताबाट बिहे गरेका हुन् । चिट्ठी लेखालेख गरेको झन्डै चार वर्षपछि उनीहरूले बिहे गरेका थिए । सामान्य अर्थमा पत्रबाट मित्रता गाँस्नुलाई पत्रमित्रता भनिन्छ । उनीहरूले त्यही पत्रमित्रतालाई बिहेमा परिणत गरे । 

आठ/दसजना पत्रमित्र साथी भएको शिला भण्डारीले ०५४ मा नवराजलाई चिट्ठी लेखेकी थिइन् । ९ सय ५० साथी रहे पनि नवराजले पनि शिलालाई प्रतिउत्तर दिए । प्रेमप्रस्तावचाहिँ कसले राखे होलान् ? ‘उनीसँग बिहे नै हुन्छ भन्ने कहिल्यै सोचेको थिइनँ,’ नवराजको घुर्मैलो अतीत सुनाए, ‘म साहित्य लेख्थें । साहित्यमा मायाप्रेमका कुरा पनि हुन्छन् । मैले लेखेको सिर्जना उनलाई पनि चिट्ठीमै पठाउँथें । ती सिर्जना मेरै लागि पो लेखिएका हुन् भन्ठानेर शिलाले नवराजलाई प्रेमप्रस्ताव राखिन् ।’

छेउमा रहेकी शिलाले स्वीकारिन्, ‘हो नि । मैले त्यस्तै सोचेर प्रेमप्रस्ताव राखें ।’ शिलाको स्वीकारोक्ति सुनेपछि नवराज र शिला हाँसे । मःमः खाइरहेकी छोरीले के बुझिन् कुन्नि, निकिशारानी पनि मज्जाले हाँसिन् । 

जातभातका कुरा नगर्नु भनिए पनि नेपाली समाजमा ब्राह्मणका छोराले क्षेत्रीकी छोरी बिहे गरेपछि कुरा काट्ने भइहाल्छन् । हरैंचामा पनि नहुने कुरै भएन । घरकी हजुरआमाले समेत शिलाले पकाएको खाना सात वर्षसम्म खाइनन् । समाजले भनेका कुरा पोखरेल दम्पतीले वास्तै गरेनन् । घरपरिवारलाई पनि त्यसै गर्न नवराजले सुझाए । 

नवराज र शिलाको बिहेमा बेलबारीकै सन्तोष पोखरेलले सहयोग गरे । नवराजकी हजुरआमाले सन्तोष पोखरेललाई तैंले गर्दा मेरो छोरोले क्षेत्रीकी छोरी बिहे गरेसम्म भने । गंगा सुवेदीले पनि भनाइ खाए । सुवेदीको पीसीओ थियो । शिलाले नवराजलाई त्यहीं फोन गर्थिन् । नवराजको फोन आउँदा झर्को नमानी बोलाइदिएकाले सुवेदीले पनि भनाइ खाए । तर, सन्तोष पोखरेल र गंगा सुवेदी कहिल्यै नकारात्मक भएनन् । 

विकसित देशमा क्लब बनाएर मित्रता विस्तार गरिन्छ/गरिन्थ्यो । इच्छुकले क्लबमा सम्पर्क गरेर मित्रता कायम गर्थे । नेपालमा त्यस्तो प्रचलन छैन । अपरिचित अपरिचितबीच परिचित बन्ने साँघुका रूपमा लिइएको पत्रमित्रतासमेत हिजोआज एकादेशको कथा बन्न पुगेको छ । असल साथी बनाउनु धन÷सम्पत्तिभन्दा महँगो मानिन्छ । त्यतिमात्रै होइन, मनको अभिव्यक्ति सुन्ने/सुनाउने ‘प्लेटफर्म’ पनि हो– पत्रमित्रता । 

कृष्ण र सुदामा, कर्ण र दुर्योधनबीचको मित्रता आज पनि त्यत्तिकै उदाहरणीय छ । मित्रता अमिर र गरिबबीच पनि हुन्छ । असली साथी आपतविपत परेका बेला चिन्न सकिन्छ भन्ने भनाइ छ । त्यस अर्थमा नवराज र शिला पनि उदाहरणीय छन् । बहिनीको बिहे भइसक्दा पनि शिलाले नवराजले पर्खिन् । नवराज आफू ब्राह्मण भएर पनि क्षेत्रीकी छोरीलाई बिहे गर्ने हिम्मत गरे । उनीहरूको सच्चा मित्रता त्यत्तिकै उदाहरणीय छ । 

बिहे गर्नअघि नवराज बेलबारीबाट चक्रघट्टीसम्म पुग्थे । शिलाका परिवारले नवराजलाई घरकै सदस्यका रूपमा हेर्थे । शिलाले पोल खोलिन्, ‘हाम्रो सम्बन्ध कसैलाई थाहै थिएन । बिहेको कुरा चलेपछि मेरो परिवार तीनछक परे ।’ 

पत्रमित्रताबाट नवराज पोखरेलले आफू नपुगेको ठाउँको भौगोलिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रीतिरिवाज जान्न पाए । पत्रमित्र भेट्ने बहानामा पूर्वका अधिकांश जिल्ला घुमे । लेखन सुधार्नु त छँदै छ, सबैभन्दा ठूलो उपलब्धि शिला पाए । पोखरेलले खुसी व्यक्त गरे, ‘बिहे गरेको यत्तिका समय भयो, ठूलो स्वरले कहिल्यै बोल्न परेको छैन । उनी अहिले पनि पहिलेकै साथीजस्तो लाग्छिन् । शिला सरल छिन् । त्यत्तिकै व्यावहारिक पनि ।’ 

९ सय ५० पत्रमित्रमा शिला भाग्यमानी ठहरिइन् । नवराजलाई प्रेमप्रस्ताव राख्ने पत्रमित्र साथीहरू नभएका होइनन् । तर, त्यसमध्ये पनि शिला रोजिनु संयोगमात्रै होइन । भनिन्छ, ‘हलो साथी, चलो साथी र भलो साथी हुन्छन् ।’ उनीहरूबीच भलो साथीको आत्मीयता थियो । 

पोखरेलले क्षेत्रीसँग बिहे गरे भनेर गाउँभरिमात्रै होइन, आफन्त, इष्टमित्रबीच चर्चा चल्यो । सकारात्मकभन्दा नकारात्मक कुरा बढी भए । तर, नवराजले वास्तै गरेनन् । परिवारलाई समेत त्यसै गर्न सुझाए । भन्नेहरूले कति दिन भन्नु । अन्ततः आफैं थाके । 

शिलाले पकाएको नखाने हजुरआमाले समेत खान थालिन् । भएन त काइदा ?
 

दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ