शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसकारण टान अध्यक्षमा मेरो उम्मेदवारी

शनिबार, ११ कात्तिक २०७४, १२ : १२
शनिबार, ११ कात्तिक २०७४

ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) आमट्रेकिङ एजेन्सीको छाता संगठन हो । २६ वर्षदेखि पर्यटन व्यवसायीका रूपमा परिचित नेपाल इन्भायरोमेन्टन्ल ट्रेक्स एन्ड एक्पिडिसनसम्बद्ध नवराज दाहालले टान सदस्य हुँदै सन् २००८ देखि २०१० सम्म महासचिवको भूमिका निर्वाह गरे । त्यसयता दाहाल आफ्नै व्यवसायमा रमाइरहेका थिए ।

तर, यसपटक आमट्रेकिङ व्यवसायीले उनलाई नेतृत्वका लागि अनुरोध गरे । ट्रेकिङ व्यवसायीका मुद्दा बुझेको र त्यही मुद्दा उठाउँदै आएकाले उनलाई टानको नेतृत्व लिन अनुरोध गरिएको हो । त्यतिमात्रै होइन, उनी विशुद्ध ट्रेकिङ व्यवसायीमात्रै हुन् । ट्रेकिङ व्यवसायीमात्रै भएकाले उनीहरूका वास्तविक समस्या के हुन् ? र, कसरी समस्या समाधान गर्न सकिन्छ भनेर जानकार पनि छन् । ‘म त्यहाँ गएँ भने व्यवसायीको हितमा काम गर्न सक्छु भनेर उम्मेदवारी दिएको हुँ,’ ठमेलको होटल वैशालीमा भेटिएका दाहालले आफ्नो उम्मेदवारीबारे सुनाए, ‘उम्मेदवारी दिन ममात्रै होइन, धेरैको साथसहयोग र आग्रह छ ।’ 

अरू पनि योग्यता छ ?

‘२६ वर्षदेखि ट्रेकिङ व्यवसाय गर्दै आएको छु,’ उनले भने, ‘गणतान्त्रिक इस्टोनियाको वाणिज्यदूत पनि हुँ । त्यस अर्थमा म कूटनीतिक नियोगसँग सम्बद्ध छु । यो पनि प्लस प्वाइन्ट होला कि । त्यसले टान प्रवद्र्धनका लागि सहयोगी भूमिका खेल्छ कि । म शिक्षित पर्यटन व्यवसायी पनि हुँ ।’

दाहालले उम्मेदवारी दिँदै गर्दा अल्पकालीन तथा दीर्घकालीन योजना पक्कै बनाएका होलान् । ‘म नेतृत्वमा पुगें भने कतिपयद्वारा गैरकानुनी ढंगले सञ्चालित ट्रेकिङ व्यवसाय निरुत्साहित गर्नेछु,’ उनले प्रतिबद्धता व्यक्त गरे, ‘जसले पनि ट्रेकिङ अर्गनाइज गर्ने, जो पनि ट्रेकिङ जान सक्ने भएको छ । यसलाई रोक्नुपर्छ ।

विनागाइड, विनापोटर विदेशी पर्यटक आफैं ट्रेकिङ जाने काम रोक्नेछु ।’ विनागाइड, विनापोटर विदेशी पर्यटक आफैं ट्रेकिङ जाँदा उनीहरू बेपत्ता हुने, दुर्घटनामा पर्ने भएकाले नकारात्मक सन्देश प्रवाह हुँदै गएको छ । त्यसले व्यवसायीको व्यवसाय धराशयी बन्नुका साथै रोजगारीमात्रै होइन, राज्यको आम्दानीसमेत घट्छ । पर्यटकसमेत सुरक्षित हुँदैनन् । उनको मान्यता छ, ‘कम्तीमा ३,००० मिटर उचाइभन्दा माथि जान चाहने पर्यटकले इजाजत प्राप्त एजेन्सीका गाइड वा पोटरविना जान नमिल्ने नियम बनाउनमात्रै पाए धेरैको भलो हुनेछ ।’ 

‘प्रभावकारी काम गर्नका लागि मेरो नेतृत्वमा बनेको समूह समावेशी छ,’ उनको तर्क छ, ‘जातीय, लिंगीय, भौगालिक हिसाबले नेतृत्व समावेशी बनाएको छु । समूहमा समेटिएकारू सशक्त र अनुभवी छन् । तसर्थ, मेरो नेतृत्वले नेतृत्व गर्न पाए उल्लिखित काम गर्न सक्छु ।’

सबै ट्रेकिङ व्यवसायीले विदेशसम्म पुगेर आफ्नो व्यवसाय व्यवसायीकरण गर्न सक्दैनन् । प्रवद्र्धन गर्न सक्दैनन् । ‘कोही पोटर त कोही गाइड हुँदै व्यवसायी बनेका छन् । उनीहरू आर्थिक, भाषिक र सम्पर्कका हिसाबले सक्षम नहुन सक्छन्,’ उनले प्रतिबद्धता व्यक्त गरे, ‘उनीहरूलाई टानले नै वातावरण बनाइदिनुपर्छ । त्यो काम मेरो नेतृत्वले प्राथमिकतासाथ गर्नेछ ।’

त्यतिमात्रै होइन, ट्राभल्स र ट्रेकिङ कम्पनी खोल्नेको छुट्टाछुट्टै इजाजतपत्र छ । ट्रेकिङको छुट्टै एसोसिएसन । ट्राभल्स कम्पनीको पनि छुट्टै । दुवै पर्यटन व्यवसायमै पर्छ । ‘यसलाई सहज बनाउन मेरो नेतृत्वले भरमग्दुर प्रयास गर्नेछ,’ उनको भनाइ छ, ‘ट्राभल्स, र्याफ्टिङ र ट्रेकिङको इजाजतपत्र एउटै हुनुपर्छ । बरु बैंक ग्यारेन्टी शुल्क बढाइदिए हुन्छ । यसको दायरा फराकिलो बनाउँदा कसैले नाइँ भन्दैनन् । एउटै इजाजतपत्र भए व्यवसायीलाई मात्रै होइन पर्यटकलाई समेत सहज हुन्छ ।’ हुन पनि एउटै व्यक्तिले ट्राभल्स र ट्रेकिङ कम्पनी खोलेका छन् । ट्रेकिङ व्यवसाय गर्नेले ट्राभल्स चलाउन पाउँदैनन् । हाम्रोमा त्यस्तो छैन । यसलाई पनि व्यवस्थित गर्न दाहाललाई चुनौती छ । 

पछिल्लो समय ट्रेकिङ चुनौतिपूर्ण बन्दै गएको छ । नेपालमा सडक सञ्जाल विस्तार हुँदै गएकाले नयाँ पदमार्ग पहिचान गर्नु नै छ । पहिचानसँगै प्रवद्र्धन गर्नुपर्छ । नेपाल आएकामध्ये ५ प्रतिशत पर्यटकमात्रै गुणस्तरीय पर्यटक हुन् । सालिन्दा पाँच लाख पर्यटक नेपाल आए अहिलेका पर्यटन व्यवसायीलाई काफी हुन्छ । अहिले १७ सय ट्रेकिङ (नवीकरण भएका ११००) र त्यति नै ट्राभल र र्याफ्टिङ कम्पनी छन् । तर, नेपालमा गुणस्तरहीन पर्यटक थुप्रिएका छन् । जसले प्रदूषणमात्रै बढाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप