बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण

सोमबार, १३ कात्तिक २०७४, १० : ५२
सोमबार, १३ कात्तिक २०७४

म्याग्दी - पर्वतको हम्पाल हँुदै म्याग्दीको पर्यटकीयस्थल मोहरेडाँडा पुग्ने पदमार्ग निर्माण भएको छ । 

अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत हम्पाल–मोहरेडाँडा खण्डमा नयाँ पदमार्ग निर्माण भएको हो । करिब दुई किमी पदमार्ग निर्माण गरिएको पदमार्गका व्यवस्थापक चित्र तिलीजा पुनले जानकारी दिनुभयो । 

जंगलको झाडी हटाएर फराकिलो बाटो बनाइएको हो । यसअघि हम्पालदेखि जलजला हुँदै धिमेडाँडासम्म घुमाउरो बाटो हिँड्नुपर्ने अवस्था थियो । हम्पालदेखि धिमे डाँडासम्म नयाँ पदमार्ग निर्माण गरेपछि ३० मिनेट यात्रा अवधि छोट्टिएको छ । 

नागी र शालिजाको तारेका युवाले सो पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग व्यवस्थापन समितिले रु ३० हजार अनुदान उपलब्ध गराएको थियो । समितिले उपलब्ध गराएको अनुदानको तुलनामा तेब्बर बढी रकम बराबरको काम भएको व्यवस्थापक पुनले बताउनुभयो । 

पदमार्ग सुधार गरिएपछि पर्यटकलाई यात्रा गर्न सहज भएको छ । बाटो बिराउने समस्या हटेको छ । 

त्यसैगरी डाँडाकटेरी र लोप्रेका बासिन्दाले पनि पदमार्ग व्यवस्थापन समितिको सहयोगका साथै श्रमदान गरेर बाटोमा ढुंगा बिछ्याउने र मर्मत गर्ने काम गरेका छन् । 

पदमार्गको नक्साअनुसार विभिन्न ठाउँमा सूचनापाटी राख्ने तयारी गरिएको छ । ठाउँको नाम, अवस्थित उचाइ लगायतका विवरणसहितको सूचनापाटीका साथै दोबाटोमा स्थायी संकेत बोर्ड राख्न लागिएको व्यवस्थापक पुनले जानकारी दिनुभयो । 

शालिजाको तारेका युवाले पदमार्गअन्तर्गतपर्ने धिमेडाँडामा खाना, खाजा खाने होटल सञ्चालन गरेका छन् । पदमार्ग क्षेत्रका ४२ जना युवालाई पर्यटक गाइडसम्बन्धी तालीमसमेत प्रदान गरिएको छ । 

म्याग्दीको घुमाउने तालदेखि बाँसखर्क, डाँडाकटेरी, नाँगी, हम्पाल, मोहरे डाँडा, फूलबारी, प्यारीबाराही ताल, टिकोट र खिवाङलाई समेटेर विसं २०६७ देखि समुदायको पहलमा पदमार्ग सञ्चालनमा ल्याइएको थियो । 

समुदायको शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा आयस्रोत जुटाउने उद्देश्यले सञ्चालित पदमार्गको भ्रमणमा आउने पर्यटक बढ्दै गएपछि पूर्वाधार निर्माणले तीव्रता पाएको छ । पर्यटकको सुविधाका लागि बाँसखर्क, डाँडाकटेरी, टिकोट र खिवाङमा होमस्टे, नाँगी, मोहरे डाँडा र फूलबारीमा सामुदायिक लज सञ्चालन गरिएको छ । 

ग्रामीण बस्ती, मगर संस्कृति, हिमशृङ्खला, सूर्योदयको दृष्यावलोकन र गुराँसे जंगल यस पदमार्गको आकर्षण हो । सामुन्द्रिक सतहदेखि तीन हजार ३०० मिटरको उचाइमा अवस्थित मोहरे डाँडा यस पदमार्गको प्रमुख गन्तव्य बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप