अटुको अटुट यात्रा– १२ घण्टा कोरियाको काममा खटेर नेपाली सङ्गीतको श्रीवृद्धिमा

person access_timeकात्तिक १४, २०७४ chat_bubble_outline0

नेपाली जनबोली छ – ‘दुइटा डुङ्गामा खुट्टा राखेर पार हुन सकिन्न ।’ तर यो उक्ति सबैमा लागू नहुन सक्छ । लोकोक्तिलाई निष्प्रभावी बनाएका छन् –खोटाङका डी.आर. अटुले । १२ देखि १८ घण्टासम्म परदेशको काममा खटेर समानान्तर रूपमा सङ्गीतको क्षेत्रलाई पनि अगाडि बढाउन अटु सफल छन् । अटुको दुई डुङ्गे यात्रा विगत सात वर्षदेखि निरन्तर छ ।  

नेपाली सुगम, चलचित्र, गजल तथा पप सङ्गीतका  हरेक विधामा गायन ‘किङ’  बनेका राजेशपायल राईको गृहजिल्ला खोटाङको छोरम्बु–४ मा  धनराज राई जन्मेका थिए । कालान्तरमा धनराज राई सङ्गीतकार डी.आर. अटु भए । अटुलाई धनराजको नामबाट चिन्नेहरू विरलै छन् । सङ्गीतको नशाले छोएका अटुको बाँसुरीप्रति बाल्यकालदेखि नै विशेष मोह थियो । 

अटुले आमाको महत्व नबुभm्दै आमाले ३८ वर्षको उमेरमै संसार छोडिन् । आमाको मृत्युपछि उनको शैशवकालदेखि नै दुःखको संसार सुरु भयो । आर्थिक रूपले सामान्य परिवारका अटुका लागि जिउनका लागि सङ्घर्ष गर्नुपर्ने अवस्था आयो । दुःखजिलो गरेर चलेको संसारमा उनलाई अर्को बज्रपात परिदियो । आमाको मृत्यु भएको चार वर्षमा जेठो दाइले पनि संसार छोडे । आमाको मृत्युपछि फुपूको रेखदेखमा हुर्किरहेका अटुले आफ्नो वडामै एसएलसी पास गर्ने पहिलो विद्यार्थी बने । 

सङ्गीतमा रुचि भएका उनी प्लस टु पढ्न विराटनगर झरे । कमर्समा भर्ना भए । बाँसुरी अटुको अनन्य मित्र थियो । रुचि नभएको विषयमा उनको मन अडिएन । सङ्गीतको अध्ययनका लागि उनले राजधानी जाने निर्णय गरे । सङ्गीत अध्ययन गर्न राजधानी आएका अटुलाई आर्थिक बोझ थपियो । राजधानीको महँगी, क्याम्पस आउजाउको भाडाले पिरोलिरह्यो । 

विसं. २०५७–०५८ तिर राजधानीमा दोहोरी साँझहरू खुल्ने क्रम ह्वात्तै बढेको थियो । अटुले कमलादीस्थित एक दोहोरी साँझमा बाँसुरीवादकको जागिर पाए । राति एक बजेसम्म चल्ने दोहोरी साँझबाट कोठा फर्कन उनलाई अर्को समस्या आइलाग्यो । ‘कमलादीदेखि सातदोबाटोसम्म हिँडेर पुग्नुपर्दा भुस्याहा कुकुर, किचकन्या र कतिपय अवस्थामा मानिसहरूसँग पनि डर लाग्थ्यो’ उनले सुनाए । अटुको मनमा पनि अन्धविश्वासले जरा गाडेको थियो । मध्यरात  एक्लै पैदल यात्रा गर्दा किचकन्याबाट बच्नका लागि खल्तीमा केही चुरा र धागो बोकेर हिँड्ने गरेको उनले अनुभव सुनाए ।

जेनतेन दैनिकी घचेटिरहेका अटुले बहिनीलाई पनि राजधानी पढाउन ल्याए । आर्थिक अवस्थामा सुधार भने आएको थिएन तर खर्च गर्ने सङ्ख्या भने बढ्यो ।  हप्तामा एक पटक मासु खाने इच्छालाई उनको खल्तीले कहिले साथ दिएन । मासुका लागि आर्थिकको जोहो नहुँदा ४० रूपयाँमा एक किलो बोसो किनेर मासुको स्वाद मेटेको उनले तीतो विगत सम्झिए । 

धनराजलाई डीआर अटु बनाउने फुपूको त्यही बीचमा मृत्युभयो । आमाको स्थानमा रहेकी फुपूको मृत्युले उनलाई थप असह्य भयो । पीडाले थपिएको जिन्दगीबाट उनी हरेश खाएनन् । सङ्गीत नै जीवनको अन्तिम लक्ष्य राखेका अटुले आफ्नै शब्द र सङ्गीतमा राजेशपायल राईको आवाजमा पूर्वेली गीत रेकर्ड गराए । त्यो गीत मार्फत  उनले चर्चा बटुले । थप अरू तीन गीत रेकर्ड गरेर उनले ‘चौतारी’ नामको गीति सङ्ग्रह बजारमा ल्याए । चौतारी एल्बमबाट उनी सङ्गीतकारको श्रेणीमा उक्लिए ।

बाँसुरीवादकबाट खुड्किलो पार गरी सङ्गीतकार भएका अटुलाई सङ्गीत क्षेत्रमा जम्नका लागि दोहोरी साँझको कमाइले पुगेन । गीत रेकर्डिङ तथा गायकलाई पारिश्रमिक दिने समयमा द्रव्यको अभाव उनलाई सधैँ खड्किरह्यो । चिनजानका साथीहरूले दक्षिण कोरियाबाट मनग्य आर्जन गरेको उनले देखिरहेका थिए । सङ्गीत र आर्थिक दुवैलाई टेवा पुग्ने मनसायले उनी सात वर्षअघि दक्षिण कोरिया पुगे । 

रोजगार अनुमति प्रणालीमार्फत कामका लागि मेसिनहरूको देश दक्षिण कोरिया पुगेका अटुले दिवा र रात्रि  गरी दुई सिप्टमा श्रम गरिरहेका छन् । दैनिक १२ घण्टाभन्दा बढी समय मेसिनहरूसँग भिडिरहेका अटुको सङ्गीत यात्रा पनि अविचलित छ । दक्षिण कोरिया पुगेर उनले सङ्गीतलाई विश्राम दिएनन् । सङ्गीतको क्षेत्रलाई अझ फराकिलो बनाए ।  

सन् २०१३ मा उनकै सक्रियतामा कोरियामा सुनाखरी व्यान्ड स्थापित गरे । व्यान्डले कोरियाका मुख्य सहरहरूमा प्रस्तुति दियो । परदेशमा बनाइएको ब्यान्ड साथीहरूको स्वदेश आगमन र निष्क्रियताले सोचे मुताविक गति लिन सकेन । साङ्गीतिक समूहको गति घटे पनि अटुले आफ्नो कर्म छोडेनन् । दक्षिण कोरियामा रहेर उनले करिब दुई सय गीतहरूमा सङ्गीत भरिसकेका छन् । अटुका  धेरैजसो गीतहरूमा भर्सटायल गायक राजेश पायल राईले आवाज दिएका छन् । 

राजेश पायल राई साङ्गीतिक कार्यक्रमका लागि वर्षमा दुईदेखि तीन पटकसम्म कोरिया पुगेका हुन्छन् । राईले अटुलाई भेट्न छुटाउँदैनन् । उनीहरुबीच नेपाली सङ्गीतकै विषयमा छलफल हुन्छ । गत वर्ष मात्रै अटुको सङ्गीतमा राईले सौलमा रहेको अन्तर्राष्ट्रिय रेकर्डिङ स्टुडियो ‘बबलगम’मा एक गीत रेकर्ड गराए । 

गजलमा  लगाव रहेका अटुले गजलका शब्दहरू पनि लेख्ने पनि गर्छन् । बाँसुरीवादकमा दख्खल उनले मादलमा ताल दिन पनि माहिर छन् । साप्ताहिक बिदाको दिन आइतबार पनि उनी कहिलकाहीँ कम्पनीको काममा जानुपर्छ । हरेक पेसा व्यवसायमा हुनेहरूलाई साप्ताहिक एक दिन बिदा हुन्छ । तर अटुलाई बिदाले कहिलेकाही साथ दिन्छ । उनले १२ घण्टे काम र कहिलेकाहीँ मिलेको बिदामा सङ्गीत भर्छन् । उनले भरेका अधिकांश गीतहरू चर्चित छन् ।  

सङ्गीतलाई सीमाले रोक्दैन । भाषा सङ्गीतको अवरोधक बन्न सक्दैन । अटुले सङ्गीतको अन्तर्राष्ट्रिय क्षेत्रमा पनि पाइला सारेका छन् । उनकै सङ्गीतमा नेपाली स्रोताहरूले स्वरूपराज आचार्यको स्वरमा हिन्दी गजल सुन्ने दिन नजिकिएको छ । 

बहुत देर होगई तेरी याद आई सोया नहिँ हुँ
आँखोके अन्दर छुपाया हुँ आँसु रोया नहि हुँ

सुगम सङ्गीत र गजलमा भिजेका अटुले चलचित्रमा पनि सङ्गीत भर्न सुरु गरेका छन् । चलचित्र ‘जे सुकै होस’मा उनले सङ्गीत दिएका छन् । 
अटुले सङ्गीत भरेका र यु ट्युबमा  सबैभन्दा धेरै हेरिएको उनका गीतहरू
१. जब साँझ पर्दै गयो (स्वर– मेलिना राई)
२. दिक्तेल बजार (स्वर– राजेशपायल राई)
 धेरैले मन पराएका उनका चर्चित गीतहरू
१. पत्थर झैँ रैछ तिम्रो मुटु (स्वर– मेलिना राई)
२. क्यारुम त नि ( स्वर– राजेशपायल राई)
३. काँडाले घोच्ला (स्वर– मेलिना राई)
४. गुडी जाने रेल (स्वर–  सत्यकला राई र चक्रभुषण राई)
५. चौबन्दी चोलिले ( स्वर–  राजेशपायल राई)
६. हिँडी जाने बटुवाको ( स्वर–  राजेशपायल राई)
७. झुम्के माया (स्वर– अमृता लिम्बू र जिविहाङ राई)

अनलाइनमार्फत वार्तामा आएका अटुले अर्को खुसीको कुरा पनि सेयर गरे । उनीद्वारा सङ्गीतबद्ध हिन्दी गजल मुम्बईमा भिडियो तयार गरेर बलिउडको सबैभन्दा ठूलो म्युजिक कम्पनी टि–सिरिज मार्फत रिलिज हँुदैछ । 

कोरियाको कामले उनलाई दाम दिएको छ । नाम चाहिँ सङ्गीत कर्मले दिएको छ । मासिक प्राप्त हुने रु. दुई लाखभन्दा बढी तलबले उनलाई आत्मिक सन्तुष्टि कम दिन्छ भने त्यसको  कैयौं गुणा बढी सन्तुष्टि एउटा गीतमा सङ्गीत भर्दा दिने गरेको उनले बताए । 

एउटै परिवारका पाँच जना सदस्य कोरियामा रहेकाले अटुका लागि अर्को खुसी थपिएको छ । उनका दुई बहिनी र तीन दाजुभाइ सबै कोरियामै छन् । दिवङ्गत परिवारका सदस्यका नामबाट दयालिला स्मृति प्रतिष्ठान बनाएका छन् । पाँच लाखको  अक्षयकोष स्थापना गरी राष्ट्रिय प्रतिभाको खोजी गरी पुरस्कार तथा सम्मान गर्ने गरिएको उनले वताए । 

कमिटेड वर्करका रूपमा सोही कम्पनीले अटुलाई पुनः बोलाएको थियो । अटु कार्यरत कम्पनीमा उनी  नेपाली कामदारहरूका प्रमुख पनि हुन् । 
 

लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ