शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

बिहीबार, १६ कात्तिक २०७४, २१ : ०९
बिहीबार, १६ कात्तिक २०७४

काठमाडौं—सप्तरी क्षेत्र नम्बर दुईबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिनुअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो नागरिकता सार्वजनिक गराएका छन् । 
 
उनले नागरिकता सार्वजनिक गराएपछि सो विषयले निकै चर्चा पाएको छ । 

सुनसरीका स्थायी निवासी भनिएका यादवले  सप्तरीबाट चुनाव लड्ने घोषणा गरेसँगै उनी बाहिरको उम्मेदवार भएको टिकाटिप्पणी शुरु भएको थियो । 
यसअघि मोरङ र सुनसरीबाट संविधानसभा चुनाव जितेका यादवले यसपटक सप्तरी रोजेपछि स्थानीयस्तरमा त्यसको आलोचना भएको थियो  । 
स्थानीय नेता त चुनाव जितेर फर्किँदैनन् बाहिरको नेता झन् जनताकहाँ चुनाव जितेपछि नआउने भन्दै उनीप्रति टिकाटिप्पणी हुँदै आएको थियो । यही बीचमा उपेन्द्र यादव पनि सप्तरीकै भएको भन्दै  कार्यकर्ताहरुले प्रचार गर्न थाले । 
 
‘उपेन्द्र यादव बाहिरको नेता होइन, सप्तरीकै नेता हुन् भन्दा पनि सप्तरीका जनताले पत्याइ रहेका थिएनन्’, एक कार्यकर्ताले भने, ‘ त्यही कारण  उहाँले  नागरिकता सार्वजनिक गराउनु भएको हो ।’
हुन  पनि उनले सार्वजनिक गरेको नागरिकतामा स्थायी ठेगाना सप्तरी नै उल्लेख छ । 

नागरिकतामा जन्मस्थान भगतवुर, सप्तरी लेखिएको छ भने स्थायी वासस्थान सुनसरी, मधुवन उल्लेख गरिएको छ । आफूलाई सप्तरीकै भनेर  मतदातालाई बुझाउन र विस्वास  दिलाउनको लागि उनले सुझबुझका साथ नागरिकता सार्वजनिक गरेको बुझिन्छ ।  

यादवले आफ्ना पार्टी निकट संगठनमा आवद्ध पत्रकार वैद्यनाथ यादवको फेसबुकमार्फत नागरिकता सार्वजनिक गराएको बताइएको छ । 

तर नागरिकतामा जन्मस्थान सप्तरी भएपनि  उनी टुरिस्ट उम्मेदवार भएको भन्दै  टिप्पणीहरु  भइरहेकै छन्  । 
यसो त उनको स्थायी ठेगाना सुनसरी भनिए पनि स्थायी रुपमा मोरगंको विराटनगर बस्ने गर्छन् । 
उनी राजनीतिक भेटघाटका लागि मात्रै कहिलेकाहिँ सुनसरी र  सप्तरी जाने गरेका छन् । 

यादवले पहिलो संविधानसभा चुनाव  मोरगं र सुनसरीबाट  जितेका थिए भने  पछि मोरलाई छाडेर सुनसरी रोजेका थिए । दोस्रो सविधानसभा चुनावमा पनि उनी मोरङ र सुनसरी दुवै ठाउँबाट उम्मेदवार भएका थिए । तर सुनसरीबाट विजयी भएका थिए । 

अहिले उनले मोरङ र सुनसरी दुवैलाई छाडेर सप्तरीलाई राजेका हुन् । स्थानीय तहको चुनावमा मोरङ र सुनसरीमा पार्टीले राम्रो गर्न नसकेको कारण हार्ने आशंकामा उनले सप्तरी रोजेको फोरम निकट स्रोतले जनाएको छ । 

एक नम्बर प्रदेशमा रहेको मोरङ र सुनसरी भन्दा दुई नम्बर प्रदेशको सप्तरीमा सो पार्टीको राम्रो संगठन गरेको छ । स्थानीय तहको चुनावमा दुई नम्बर प्रदेशबाट  फोरम नेपालले दोस्रो स्थान ल्याएको छ ।  

यादव चुनाव लडेकै क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्रका उमेश यादवले उम्मेदवारी दिएका छन् भने राजपा नेपालकै जयप्रकाश ठाकुरले उम्मेदवारी दिएका छन् । 
त्यस्तै काँग्रेसबाट सकलदेव सुतियारले उम्मेदवारी दिएका छन् । 
यीमध्ये उमेश यादव र उपेन्द्र यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप