बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

के बाबुरामले युवाको मुद्दा सम्बोधन गर्छन् ?

शुक्रबार, १७ कात्तिक २०७४, ११ : २७
शुक्रबार, १७ कात्तिक २०७४

प्रेमबहादुर बोहरा

सामान्यतयाः युवासँग जीवनमा तीन बाटाहरू हुन्छन्ः आँट, ढाँट र गाँठ । कमजोर महसुस गर्ने युवाहरू ढाँटको बाटो रोज्छन् भने पैसाका लागि जे गर्न पनि तयार युवाहरू लाग्छन् गाँठको बाटो । उनीहरू सोच्छन गाँठ छ त सब छ । जो आफूप्रति विश्वास राख्दछन् र इमानको ख्याल गर्दछन् ती लाग्छन् आँटको बाटोमा । त्यही आत्मविश्वासले गर्दा गाँठ पनि कमाउन सक्छन् र जब आँट र गाँठ हुन्छ त ढाँटको कुनै आवश्यकता हुँदैन । सामन्य जीवनमा आँट नै काफी छ तर राजनीतिमा लागेर देशको सेवा गर्ने सोच भएका युवाहरूमा आँट मात्रै होइन बुद्धि र निष्ठा पनि हुनुपर्छ । त्यही निष्ठाको राजनीति र आर्थिक विकासको भिजन नै अबको नयाँ युगको बाटो हो ।

चुनाव जित्ने माध्यम वा व्यक्तिगत वा पार्टीगत राजनीतिक साख जोगाउने औजारका रूपमा मात्र युवालाई उपयोग गर्ने प्रचलन जो थियो तर अब समय त्यो रहेन । झुक्याएर वा लोभ्याएर युवालाई राजनीतिमा ल्याउने, युवा ऊर्जाको धाक धम्कीले शासनसत्ता हत्याउने जमाना पनि सकियो । भारतमा बसी नेपालमा बम खसाल्न युवा खटाउने दिन गए । राजनीतिक परिवर्तनपछि नयाँ खेलको रूपमा आर्थिक विकासको युग सुरु भएको छ । यो जिम्मेवारी पूरा गर्ने नवीन सोच, दृढ विचार र आम जनतालाई त्यसमा डो¥याउन सक्ने नेतृत्वको खाँचो छ ।

त्यो नेतृत्व आकासबाट आउने होइन । हामी र हामीमध्ये नै कोही हो ।  त्यसैले, अबको युवा जिम्मेवारी आफैं नेतृत्वका लागि आँट गर्ने वा सही व्यक्ति चिन्ने नै हो ।

तर आफैमा आँट जगाउन वा सही नेतृत्वलाई साथ दिन विद्यमान अवस्थाले बाधा पु¥याएको छ । किनभने लाखौँ, युवाहरू जो स्वतन्त्र मतदान गर्न सक्छन् र समयलाई बुझ्न सक्छन् ती मताधिकारबाट वञ्चित छन् । कोही विदेशिएर, कोही स्वदेशमै पनि गाउँठाउँबाट शिक्षा आर्जन तथा जीविकोपार्जनका लागि टाढिएर त कोही निरक्षरता र अविश्वासले वारिस लिने चलनले ठूलो सङ्ख्यामा महिलाहरूले भोट हाल्न पाइरहेका छैनन् । त्यसैगरी देश र जनताको सेवाको लागि भन्दा पनि बाबुबाजे पालादेखिको कोइवा पार्टीमा लाग्दा, पैसावाल पार्टी वा राजनीतिकर्मी पछि लाग्दा पाइनसक्ने लाभको लोभले गर्दा धेरै युवाहरू कार्यकर्तामै सीमित भएका छन् । नेतृत्व विकल्प दिनेभन्दा पनि पार्टीको आडमा आपराधिक क्रियाकलाप गर्न तल्लीन केही युवाहरूले गर्दा राजनीति त केही गर्न नसक्ने र जीवन धान्न विकल्पै नभएकाहरूले खेल्ने फोहोरी खेल स्थापित हुँदा भिजन र क्षमता भएका युवाहरू यसबाट टाढै बस्न चाहन्छन् । बुझेर परिवर्तनका लागि लाग्न चाहने युवाहरूलाई राजनीतिक पार्टीहरूले सजिलै स्वीकार पनि गर्न सकिरहेका छैनन् ।

तथापि आशाका किरणहरू भने देखिँदैछन् । बदलिँदो राजनीति स्वरूपले युवा आकर्षण बढ्दो छ । यो पुस्ता नाम, धर्म, लिङ्ग, जातजाति वा कुनै पनि क्षेत्र विशेषकै कारणले कोही भन्दा कम हुन चाहँदैन । समाजमा अत्याचार, भ्रष्टाचार मौलाएको सहन सक्दैन । हरेक कुरा प्रभावकारी र पारदर्शी ढङ्गले पूरा भएको हेर्न चाहन्छ । अझ देशको कुरा गर्दा कुनै अर्को देश भन्दा कम भएको हेर्न सक्दैन । किन आफ्नो देशपछि परिरहेको छ भन्ने कुरामा चित्त नबुझेर भित्रैदेखि आन्दोलित भएको छ यो पुस्ता र विश्वसँग प्रतिस्पर्धामा उत्रिन चाहन्छ । त्यो गर्न राजनीति गर्ने तरिकामा सुधार गर्न सकिनेमा विश्वस्त देखिन्छ ।

यो यस्तो पुस्ता हो जसले विश्वलाई नजिकबाट निहाल्न पाएको छ । आधुनिक प्रविधिको विकासले विश्व एक परिवार भईसकेको छ । कोही देश मित्र वा कोही देश शत्रु हुँदैन । अमेरिकी सामराज्यवाद र भारतीय विस्तारवाद भन्दै कराउँदैमा वा बुद्ध नेपालमा जन्मेका हुन वा सगरमाथा नेपालमा पर्छ भनि रुदैंमा केही हुदैन भन्ने यथार्थ थाहा पाएको यो पुस्ताका युवाहरू विश्वका नागरिकसँग भाईचारा राख्दै नेपालको भाग्य बदल्न चाहन्छन् । दुई छिमेकी देशहरू नेपाल र चीनबीचको गतिशील पुलको रूपमा नेपाललाई प्रवद्र्धन गरी आर्थिक विकासमा सघाउ पु¥याउन सक्ने सोच युवाले छिटो बुझ्छन् ।

यी सोचहरू आम राजनीतिज्ञहरूले सोँच्ने र गर्ने व्यवहारभन्दा फरक छन् । धेरैले बुझ्छन् तर थोरैले मात्र अपनाउँछन् प्रगतिशील सोचहरू । आम मानिसहरू जहिले भीडकै पछि लाग्ने गर्छन् ।

तर पनि गलत बाटोमा हजारौँसँग हिँड्न भन्दा सही मार्गमा एक्लै हिँड्न सक्नु महानता हो भने सोही मार्ग लाखौँलाई फेरि ल्याउन सक्नु क्षमता हो । आउने समयको रफ्तार थाहा पाएर कुन बाटो सही वा गलत थाहा पाउन सक्नु र आम जनतालाई सही बाटो डो¥याउन सक्नु नेतृत्व हो ।

युवाहरूलाई साथ लिएर आर्थिक विकास र समृद्धिको मार्गमा नेपाललाई डो¥याउन सक्ने व्यक्तित्व हो डा. बाबुराम भट्टराई ।

यस युवा युगको मुख्य जिम्मेवारी निष्ठाको राजनीतिलाई संस्थागत गर्नु हो जुन बाटोमा उहाँ निरन्तर लागिरहनुभएको छ । जनताको हित उहाँको लागि आफू, आफ्नो परिवार र पार्टी तथा कार्यकर्ताभन्दा माथि छ । अरू परिवारलाई संसार मान्छन् तर उहाँ संसारलाई परिवार मान्नुहुन्छ जुन आम राजनीतिकर्मीमा विरलै पाउन सकिन्छ ।

त्यसैले, लाखौँ युवाहरू जो परिवर्तन चाहने मात्र होइन परिवर्नतका लागि काम गर्न चाहन्छन् र डा. भट्टराईलाई साथ दिन चाहन्छन् । किनकि “सबैका लागि समृद्धि, सबैलाई सम्मान, राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान” नै हामी नेपाली सबैको साझा सपना हो । जुन पूरा हुनु अनिवार्य सर्त हो ।
 
बोहरा बाबुराम भट्टराईको साथमा युवा अभियानको नेतृत्व गर्दै हुनुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप