शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

शुक्रबार, १७ कात्तिक २०७४, १६ : ३४
शुक्रबार, १७ कात्तिक २०७४

काठमाडौँ । दुई हेभीवेट नेता एउटै क्षेत्रबाट चुनाव लडेपछि सबैको ध्यान त्यतातिर जान स्वभाविक हो । त्यस्तै भएको छ, धनुषा क्षेत्र नम्बर ३ मा । 

राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो र नेपाली काँग्रेसका विमलेन्द्र निधिबीच टक्कर हुने भएपछि सबैको ध्यान त्यतातिर तानिएको छ । 
ठूला नेताको सम्भावित टक्करलाई रोक्न राष्ट्रिय–अन्तर्राष्ट्रिय शक्ति नलागेका पनि होइनन् । तर राजेन्द्र महतोको अगाडि कसैको चलेन । कारण हो, धनुषाका लागि महतोको तयारी । 

अध्यक्ष मण्डल सदस्य महतोले धनुषाबाट चुनाव लड्ने तत्कालको निर्णय होइन, विगत चार वर्षदेखि उनी सो क्षेत्रबाट चुनाव लड्ने मनस्थितिमा थिए । जबदेखि सञ्जय साह (टकला) जेल पर, त्यो बेलादेखि नै महतो आफ्नो नजर धुनषाको सो क्षेत्रमा लगाएर बसेका थिए । 

२०७० मा भएको दोस्रो चरणको चुनावमा सर्लाहीबाट हारेपछि उनले आफ्नो क्षेत्रमा भन्दा धनुषातिर ध्यान दिन थालेका थिए । राजपा नेपालका महतो निकट एक नेताले भने, ‘भोली फेरि चुनाव लड्नुपर्छ, त्यसका लागि क्षेत्र बनाउनुपर्छ भन्ने महतोजीले कहिल्यै ध्यान दिनुभएन । यहाँसम्म कि आफूले चुनाव लडेको क्षेत्रमा पनि आउन जाउ गर्न छाड्नुभएको थियो ।’

तर, महतोलाई हराएका महेन्द्र राय यादवले त्यहीँबाट चुनाव लड्छु भनेर कहिल्यै आफ्नो क्षेत्र छाडेनन् । अधिकाँश समय आफ्नो क्षेत्रमा नै दिन्थे । राजेन्द्र महतो आन्दोलनमा लागेको बेला पनि महेन्द्र राय यादवले आफ्नो क्षेत्र कहिल्यै छाडेनन् । 

पछिल्लो समय महतोले आफ्नो अधिकाँश समय काठमाडौँको राजनीतिक गतिविधिमा बिताए । महतो काठमाडौँमा भएपनि उनले धनुषाको त्यो क्षेत्रमा आफ्नो पकड बलियो बनाउन गतिविधि तीब्र पारेका थिए । उनी मधेशको जिल्ला दौडाहाको बेला कुनै न कुनै बहानामा जनकपुर आउ–जाउ गर्थे । 

महतोको धनुषा मोह
धनुषाको सो क्षेत्रमा महतोको नजर त्यतिबेला गयो जतिबेला सञ्जय साह दोस्रो पटक त्यहाँबाट जिते । राजेन्द्र महतोको तत्कालिन पार्टी सद्भावना पार्टीबाट सञ्जय साह सो क्षेत्रबाट जितेका थिए भने राजेन्द्र महतो आफ्नो क्षेत्रबाट हारेका थिए । 

सञ्जय साहको पकड र जातीय मत त्यहाँ रहेको अध्ययन राजेन्द्र महतोले राम्रोसँग गरे । मधेश राजनीतिमा जसरी उपेन्द्र यादवलाई यादवको नेता, महन्थ ठाकुरलाई बाहुन (झा) को नेताको रुपमा चिनिन्छ त्यस्तै महतोलाई पञ्चपनियाँ (साहु महाजन) को नेतृत्व गर्ने नेताको रुपमा चिनिन्छ । तर, धनुषाको तीन नम्बर क्षेत्र साहु महाजनको बाहुल्य भएको क्षेत्र हो भन्ने पटक–पटक पुष्टि भएको कारणले उनी त्यता आकर्षित भएका हुन् । 

जब राजपा नेपालबाट लालकिशोर साह पनि उपमहानगरपालिकाको मेयर जिते, त्यसपछि त झन् महतोको हौसला बढेर गयो । जसरी पनि त्यहीँबाट चुनाव लड्ने निधो गरे । स्थानीय तहको परिणाम आए लगतै उनले आफ्ना निकट नेताहरुबाट धनुषा तीनबाट प्रतिनिधिसभा चुनाव लड्ने घोषणा गराएका थिए । 

घोषणा लगतै उनी डिल्लीबजार जेलमा रहेका सञ्जय साहलाई भेट्न पुगे । महतोलाई थाहा थियो, धनुषा क्षेत्र नम्बर तीनबाट चुनाव जित्नका लागि सञ्जय साहको सहयोग नभई हुँदैन । स्थानीय तहको परिणाम आउने बित्तिकै उनी सञ्जय साहलाई भेट्न पुगेका थिए जुन समाचार हामीले ‘ब्रेक’ गरेका थियौँ ।

जब कि त्यसभन्दा अघि चार वर्षसम्म जेलमा रहेका सञ्जय साहलाई राजेन्द्र महतो कहिल्यै भेट्न गएका थिएनन् । सञ्जय साह पक्राउ परेकोमा भित्रभित्रै खुशी थिए । यदी सञ्जय बाहिर भएको भए, त्यहाँबाट महतोले चुनाव लड्न सक्दैन्थे । उनले सञ्जय साहको रिहाईका लागि खासै पहल नगरेको साहको आरोप छ । सञ्जय साहकी श्रीमती रंगिला साहले त आफ्ना श्रीमानलाई राजेन्द्र महतोले नै फँसाएको कुरा विज्ञप्ति निकालेर नै दावी गरेकी थिइन् । 

पक्राउ परेको चार वर्षमा सञ्जयलाई कहिल्यै भेट्न नजाने महतो धनुषाबाट चुनाव लड्ने समय आएपछि जेलमै गएर भेटे । तर, महतोलाई सञ्जयले आफू जेलमा रहेकाले कुनै सहयोग गर्न नसक्ने भन्दै फर्काएको उनी निकट स्रोत बताउँछ ।

सञ्जयको आशमा चुनाव लडेका महतोले उनको साथ नपाएपछि चिन्तित बनेका छन् । जेलमा रहेका सञ्जयले राजेन्द्र महतोलाई सहयोग नगर्न आफ्ना कार्यकर्तालाई निर्देशन दिइसकेका छन् । महतोले आफूलाई षड्यन्त्र गरि फँसाएको, राजनीतिक षड्यन्त्रमा फसाएको कारण उनीसँग कुनै सम्बन्ध नरहेको र कुनै प्रकारको सहयोग नरहने भनि आफ्ना कार्यकर्तालाई खबर गरेको उनका एक सहयोगीले बताए । 

सञ्जय साहलाई पार्टीमा सहअध्यक्ष बनाउने भनि पार्टीमा ल्याइएको थियो तर उनलाई उपाध्यक्ष बनायो । सञ्जय साह उपाध्यक्ष भएपछि पार्टीमा बालियो हुँदै गए । पार्टीमा आफ्नो बर्चस्व जमाउँदै गएपछि राजेन्द्र महतो संशकित बनेका थिए । साह महाजनमा सञ्जय साहको राम्रो पकड भएको कारणले पार्टी नै कब्जा गर्ला कि भन्ने भय महातोमा थियो । सञ्जय पक्राउपछि मात्र महतोलाई राहत भएको उनका सहयोगीहरु नै बताउँछन् । 

सञ्जयलाई राजेन्द्र महतोले नै पक्राउ गर्न लगाएको आशंका उनका परिवारले गरेका छन् । त्यसको तथ्यमा उनका निकट सहयोगीहरु भन्छन्, ‘२०७० बैशाख १८ गते बिहान दिल्लीमा रहेका सञ्जयसँग राजेन्द्र महतोसँग कुराकानी भएको थियो र त्यसको भोलीपल्ट अर्थात बैशाख १९ गते साढे पाँच बजे उनी पक्राउ परे । सञ्जय साह दिल्लीमा छ फलानो ठाउँमा छ भन्ने कुरा राजेन्द्र महतोबाहेक कसैलाई थाहा थिएन, मन्दिरमा पूजा गर्न जान लाग्दा मन्दिर परिसरबाट नै सञ्जयलाई पक्राउ गरिएको थियो ।’

पक्राउपछि महतोले समान्य विज्ञप्ति निकालेर त्यसको विरोध गरे तर छोडाउन खासै पहल नगरेको उनका पारिवारीक सदस्यहरुको आरोप छ । ‘पार्टीका उपाध्यक्ष र सांसद पक्राउ परेका थिए तर पार्टी मौन थियो,’ उनका एक सहयोगीले भने, ‘पछि त राजेन्द्र महतोले सजयका परिवारसँग भेट्न पनि चाहेनन् । सञ्जयका बुवा, श्रीमती, भाईहरु महतोलाई भेट्न जाँदा घण्टौँसम्म कुराउथे कहिले भेट्थे कहिले भेट्दैन्थे । कारण थियो, सञ्जय साह जेलमा रहे मात्र उनी धनुषाबाट चुनाव लड्न सक्थे । र, महतोले आज त्यस्तै गर्नुभयो ।’

राजेन्द्र महतोले सञ्जय साहसँग सबै सम्बन्ध अन्त्य गरेका थिए । ‘पार्टीको साधारण सदस्यबाट समेत निष्काषित गरेपछि कुन सम्बन्धले सञ्जय साहले महतोलाई सहयोग गर्लान् ?,’ उनका पारिवारिक सदस्यले प्रश्न गर्छन् ।

रंगिला किन भइन् ब्याक ?
 

सञ्जयका श्रीमती रंगिलाले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारी गरेकी थिइन् । उनलाई वाम गठबन्धनको पनि सहयोग थियो । तर, महतोले त्यहाँ उम्मेदवारी दिने भएपछि उनी पछाडी हटेकी हुन् । महतोले उम्मेदवारी नदिएको भए रंगिलाको जीत सुनिश्चित थियो । तर, महतोसँगै चुनाव लड्न रंगिलाका लागि सहज थिएन, जति सहज सञ्जयका लागि थियो । दुवैको भोट बैंक एउटै हो । दुवैजना उम्मेदवार भएपछि मत बाँडिने भएकाले रंगिला पछाडि हटेकी हुन् ।

सञ्जयको मत कता ?

जेलमा रहेका सञ्जय साहले महतोलाई सहयोग नगर्ने भनिसकेपछि उनको मत कता जान्छ सबैको चासोको विषय बनेको छ । लालकिशोर साहलाई जिताउनमा मुख्य भूमिका खेलेका सञ्जय साहले जनकपुरको मत होल्ड गरेर बसेका छन् । उनको मतले नै कसैको जित हार हुने सम्भावना हुन्छ । उनका सहयोगीहरुले मत कता जान्छ भनि नखुलाए पनि स्रोतहरुको दावी अनुसार सञ्जयको मत विमलेन्द्र निधिलाई जाने निश्चित छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप