बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'एमालेमा टिकट पाउने योग्यता मलाई थाहा छैन' (अन्तर्वार्ता/भिडियोसहित)

सोमबार, २० कात्तिक २०७४, ११ : २८
सोमबार, २० कात्तिक २०७४

एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अन्तिम समयमा आएर करिब करिब तय भएको टिकट पाएनन् । उनी पाल्पाबाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने तयारीमा थिए । तर, पाल्पा २ मा माधवकुमार नेपालका सम्धी सोमप्रसाद पाण्डेले टिकट पाएपछि गैरेले यसपालि पनि चुनाव लड्ने अवसर पाएनन् । यति हुँदाहुँदै पनि उनी पार्टीप्रति इमानदार नै देखिए । आइतबार रात्रिबस चढेर पाल्पातिर हिँडेका छन् । आखिर गठबन्धनले उनलाई किन टिकट दिएन, अब उनी के गर्छन् र गठबन्धनमा युवाहरूको भूमिका के हुन सक्छ ? यिनै प्रश्नमा केन्द्रित रहेर रातोपाटी अनलाइन टिभीको साप्ताहिक कार्यक्रम ‘वारपार’मा यसपालि रोहित दाहालले गैरेसँग कुराकानी गरेका छन् ।

टिकट नपाएपछि निरास हुनुहुन्छ हो ?    
निरास छैन । जुन कुराको आसा, अपेक्षा, विश्वास र जनचाहना थियो त्यो भएन । त्यो कार्यान्वयन नहुँदा आन्दोलनको क्रममा मलाई नजिकबाट हेर्नेहरूले बढी चिन्ता जाहेर गरेका छन् । 

म यो पटक टिकट पाउँछु, त्यो प्राकृतिक न्यायको सिद्धान्तमा हुने छ, तपाईंले भन्नुभएको थियो त्यो लागू भएन ?
यो पटक मिलाएर चुनाव लड्ने तेस्रो प्रयास थियो । पहिलो संविधान सभाको निर्वाचना म अखिलको अध्यक्ष थिए । त्यो समयमा मलाई सिफारिस गरेको थियो । तर म लडिनँ  । दोस्रो पटक म चुनाव लड्न तयार भएँ तर त्यहाँ चुनाव जित्नका लागि मैले समानुपातिकमा बस्नुपर्यो । पछि समानुपातिकमा छनौट गरिएन । अहिले मलाई टिकट पाउँदैन भन्ने नेपालभरी कसैलाई लागेको थिएन । तर मलाई दिइएन । मलाई हाँसो पनि  लाग्छ । मेरो चाहना एक पटक जनप्रतिनिधि भएर देश जनताको सेवा गर्ने हो । 

तपाईंले टिकट नपाउनुको कारण के हो ?
मैले किन पाइनँ भनेर म आफैलाई आश्चर्य लागेको छ । अहिलेसम्म तैँले यो कारणले टिकट पाइनस भनेर कुनै पनि नेताहरूले भनेका छैनन् । तँभन्दा अन्य व्यक्ति यो यो कारणले टिकट पाए । मैले अहिले चुनाव नलड्नुपर्ने कारण मलाई भनी दिए म पनि आभारी हुने थिएँ । औचित्यपूर्ण कारण अहिलेसम्म  कसैले भनेको छैन ।

टिकट वितरणको प्रावधानभित्र तपाईं नपर्नुको कारण के हो ?
एमालेमा टिकट पाउनका लागि योग्यता के हो ? मापदण्ड के हो ? मैले पनि थाह पाएको छैन । म अखिलेको निर्वाचित अध्यक्ष हुँ । आठौँ महाधिवेशनमा म कुनै पनि प्यानलबाट नलडेर केन्द्रीय सदस्य जितेको हँु । नवौँ महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा जितेँ । मसँगैका प्रतिपस्र्धा गरेका यज्ञबहादुर सुनारले दुई पकट टिकट पाउनुभयो । तर म मात्र होला अहिलेसम्म टिकट नपाउने । राष्ट्रियताको पक्षमा, देशका पक्षमा लडेको हुँ । परिवर्तनको निम्ति लडेको छु । अहिलेसम्म कहीँ नोकरी खाएको छैन । एनजीओ आईएनजीओमा काम गरिन् । आखिर किन मैले टिकट पाइनँ त ? आफैलाई थाह छैन ।

तपाईसँग पैसा नभएर, गुण्डा नभएर, जग्गा दलाल नभएर पाउनु नभएको हो, अथवा नेताको आफन्त नभएका कारण हो ?
मैले राजनीतिक पदको दुरूपयोग गरेर पैसा न कमाएको कारण, अनैतिक काम गरेर पैसा नभएका कारण मैले टिकट नपाएको हो भने म यस्ता  गलत काम गरे कहिल्यै टिकट लिँदैन । दुई नम्बरी काम गरेर पैसा नकमाएर पैसा नकमाएको आधारमा टिकट नपाउने हो भने ठीकै छ । 

दीपक मनाङे  र भर्खर एमालेमा प्रवेश गरेका नवराज सिलवालले टिकट पाउने तर ठाकुर गैरेले टिकट नपाउने कारण के हो ?
 यसको जवाफ अरू साथीहरूले के कारणले टिकट पाएको हो भनेर नेतृत्वले दिने हो । राज्यको उच्च ओहोदाको पदलाई व्यापारको पद बनाउनु गलत हो । आज एउटा पार्टीको नेता त्यो पार्टीमा टिकट नपाउँदा अर्को पार्टीमा टिकट पाउने कुराले जनता लोकतन्त्रप्रति अविश्वास जन्मेको छ । हिजो एमालेबाट समानुपातिक सभासद भएका मान्छेहरू अहिले अर्को पार्टीबाट समानुपातिक हुने प्रवृत्तिले लोकतन्त्रका लागि सुखद सङ्केत होइन । यो प्रवृत्ति हटाउनुपर्छ । 

दीपक मनाङेभन्दा ठाकुर गैरे एमालेमा कमजोर भएकै हुन् ?    
यो कुरा सही  होइन । दीपक मनाङेले एमालेबाट टिकट पाएको होइन । तर पनि उनी जस्ता थुपैले टिकट पाएका छन् । यो कुरा राम्रो होइन । पार्टीको प्रवृत्तिको अलोचना भइरहेको छ । ०४६ देखि ०६२–६३ सम्म आउँदा धेरै अलोचना भयो । पार्टीहरू बदनाम भए । अनपपुलर भए । सरकार बनाउन सांसदहरू किन बेच भए । अहिले त्यो हुनुहुँदैन । हामी जस्ता धेरै युवाहरूले लोकतान्त्रिक गणतन्त्रका लागि लडेका हाँै । नेताहरूको भन्दा मेरो योगदान बढी छ म भन्दैन । तर मेरो योगदान नै छैन भन्ने छैन । 

एमालेको टिकट वितरण प्रक्रिया अरूको भन्दा राम्रो छ तर पनि कही न कही कमजोरी भएका छन् । तर म  जस्ता युवाहरूलाई यस्तो व्यवहार किन गर्यो जान्न चाहन्छु ।

खराब प्रवृत्तिका विरुद्ध लड्ने तपाईं नै यति पीडित हुनुहुन्छ भने अरूको अवस्था कस्तो होला ?
मलाई नदिएको पार्टीले टिकट नै हो । भ्रष्टाचारको विरुद्ध बोल्न लड्न त रोकेको छैन । एनसेलका विरुद्ध लड्न त कसैले रोकेको छैन । म जीवनभरी किटन नपाऊँ तर भ्रष्टाचार, अन्याय  अत्याचारका विरुद्ध लड्न छोड्ने छैन । कमिसनतन्त्रका विरुद्ध लडिरहने छु । 

आफ्नै  पार्टीभित्र पनि लड्नुपर्ने होला नि ? 
भित्र पनि लड्छु बाहिर पनि लड्छु ।

तपाईंले टिकट नपाउनुको कारण वाम गठबन्धनका कारण हो ?
होइन, मेरो जिल्लामा म सिफारिस भएको हुँ । मेरो जिल्लामा एमालेको भाग नै परेको छ । 

तपाईंको पार्टी अध्यक्षले अर्को समूहकाले टिकट पाउने भएपछि माओवादीलाई दिएको भन्ने के हो ? तपाईंहरूलाई तह लगाउन ।
यो कुराको आधिकारिकता म भन्न सक्दैन । यी कुरा क्रमशः आउलान् । म अहिले भन्न सक्दिन । वाम लोकतान्त्रिक गठबन्ध राम्रो बनाउन त्याग गर्न पाउनु त राम्रो हो । दुई तिहाइ बहुमत ल्याएपछि देश समृद्ध बन्छ भने ठीक हो । तर त्यो उद्देश्य अनुकूल अहिले काम भएको छ कि छैन भन्ने हो । यो अनुकूल छैन भन्ने कुरा मलाई हेरे भैहाल्यो नि । तर म  यो वाम गठबन्धन असफल होस भनेर त सोच्दिनँ । यो गठबन्धनलाई बलियो बनाउन म लागिपर्ने छु । 

यो मुलुकमा सुशानको आवश्यकता छ । समृद्धि चाहिएको छ । यसका लागि वामपन्थीले जित्नु आवश्यक र अनिर्वाय छ । यसलाई पूरा गर्छु ।

आफन्तले, श्रीमतीले, सालाले पाएको टिकटको कहाँ विरोध गर्नु हुन्छ ?

यो एमालेको मात्र समस्या होइन । आम राजनीतिक पार्टीमा छ । यदि गरिब भएका कारण पार्टीको कार्यकर्ताले चुनाव लड्न सक्दैनन् भने यो चुनाव कसका लागि हो ? होइन भने विधि र मापदण्ड बनाएर जाने हो भने सबैको चित्त बुझिन्छ । यो समस्या ०४६ सालबाट उठेको हो । यसको व्यवस्थापन भएको छैन । नेतृत्व अमुक

अमुक कुराबाट प्रभावित भएर पनि टिकट वितरण भएका छन् । यो गलत हो । 

मैले टिकट नपाए पनि कटिबद्ध भएर साथीहरूलाई जिताउन लाग्छु ।

वाम गठबन्धले बहुमत ल्याउँछ ?
बहुमत होइन दुईतिहाइ ल्याउँछ । म  ढुक्क छु ।  

हिजोको उत्साह कम भएको छ नि ?
छैन, उत्साह कम भएको छैन । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन होइन । वाम नै लोकतान्त्रिक हो । नेपाली काङ्ग्रेस लोकतान्त्रिक छैन । हामी धेरै लोकतान्त्रिक छौँ । पार्टीको आन्तरिक र बाह्य रूपमा पनि । देश रजनताको अधिकारका लागि हामी कहीँ कतै लोकतन्त्र विपरीत छैनौँ । 
यसका उद्देश्य प्रष्ट छन् । यो गठबन्धन अब  देशलाई स्थायित्वतर्फ लान तयार भएको छ । अस्थिरताको अब अन्त्य हुन्छ । अब ५ वर्षका लागि स्थायी सरकार बन्छ । बेरोजगारी अन्त्य हुन्छ । भारतसँगको सम्बन्ध सुध्रन्छ । 

अहिलेसम्म वामबाट प्रधानमन्त्रीको हो भन्ने प्रष्ट छैन ? अर्को वाम गठबन्धले जिते देश अधिनायकवादमा जान्छ भनेर काङ्ग्रेस भन्दै छन् ?

काङ्ग्रेसले भनेको कुरा सरासर गलत र पराजयको छटपटाहट हो । उसको समाप्तीको अभिव्यक्ति हो । घोषाण पत्र सार्वजनिक भएको छ । नेपालको खाका  हामीले सबैको अगाडि सार्वजनिक गरेका छौँ । अब हाम्रो उद्देश्य समाजवदा कसरी जाने भन्ने हो । लोकतन्त्र, कानुनी राज, हामी सबै मान्छौँ । हिजो ६० वर्षका बूढापाकालाई गोली हान्छ भन्ने काङ्ग्रेस अहिले पनि केही भन्न खोज्दै छ । 

प्रधानमन्त्रीमा निर्वाचनको परिणाम आएपछि हुन्छ । हामी एउटै पार्टी बनाउँदैछौँ भने यो कुरा गौण हो । अथवा समझदारी अनुसार अगाडि बड्न सहज छ । नेतृत्वले समजदारी भएका छन् भने पनि नेताहरू प्रतिबद्ध भएर अगाडि जानुपर्छ । 

पार्टी एकीकरण हुन्छ ? 
 दुवै पार्टीका अध्यक्षले लिखित डकुमेन्टमा दुवै पार्टीका अध्यक्षले हस्ताक्षर गरेका छन् । यो कुरा पूरा हुन्छ । हाम्रो पनि भूमिका रहन्छ । नेता कार्यकर्ताहरूले यो भूमिका पूरा गर्छन् । दुवै पार्टीका स्थायी समितिले समेत पास गरिसकेको छ । हुन्छ । 

चुनावको परिणामले केही असर गर्छ ?
केही गर्दैन । यदि नेतृत्व प्रतिबद्धताप्रति इमानदार भएमा कुनै असर पर्दैन । इमानदार भएर लाग्ने हो भने । एकीकरण हुन्छ ।

एकीकरण भएपछि युवाहरू बाहिरिने खतरा पनि छ नि ?
यसमा साँच्चै देशमा भ्रष्टाचारको अन्त्य भयो । सार्वभौसत्ता सम्पन भयो । वर्गीय समस्याहरू हल भए भने किन सांसद भइरहनु पर्यो । 

माओवादी र हामी पुरानो र पाँचौँ महाधिवेशनपछिका आधारमा सैद्धान्तिक रूपमा एकताबद्ध गर्न चुनौती छ । नेतृत्वले त्याग र समर्पण गर्नु आवश्यक छ । 

हामी समृद्धिका लागि लागेका हौँ । यो कुरा लागू गर्न चाहन्छौँ । अर्को कुरा छ एकता भएपछि युवाहरू झन् बढी सक्रिय हुने दिन पनि आउन सक्छ ।

पार्टीले तपाईंलाई अन्याय गरेकै हो है ?
मलाई दिनुपथ्र्यो । दिएन । नदिएपछि  सोसल मिडियाहरूमा जति चोसोका साथ आयो यो अन्याय भएको हो कि भनेर चर्चा भयो । अन्याय भएकै हो भनेर मैले भन्नुभन्दा पनि आम जनसमुदायबाट आएको कुरा हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी अनलाइन टिभी
रातोपाटी अनलाइन टिभी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप