बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थीलाई पढाएर महराले गरे शिक्षालय उद्घाटन

सोमबार, २० कात्तिक २०७४, १६ : २४
सोमबार, २० कात्तिक २०७४

रोल्पा - उपप्रधान तथा बिना विभागीय मन्त्री कृष्णबहादुर महराले देशको समृद्धिका लागि प्राविधिक शिक्षा जरुरी रहेको बताएका छन् । 

उपप्रधान मन्त्री महराले रोल्पाको लिवाङमा निर्मित रोल्पा पोलिटेक्निकल इन्स्टिच्यूटको आज उद्घाटन गर्दै देश विकास अभियानमा प्राविधिक जनशक्तिको खाँचो रहने बताए । 

उपप्रधानमन्त्री महराले भने, “रोल्पामा सञ्चालनमा रहेको प्राविधिक शिक्षालयमा देशकै उत्कृष्ट र नमूना बनाउनुपर्छ ।” 
आफू निर्वाचनको क्रममा दाङ पुगे पनि रोल्पा नछोडेको बताए। रोल्पा प्राविधिक शिक्षालय आफ्नो परिकल्पना भएकाले यसको विकासका लागि निरन्तररुपमा लागिरहने उनले बताए । 

पोलिटेक्निकल इन्स्टिच्यूटमा अध्ययनरत विद्यार्थीलाई पढाउँदै महराले शिक्षालय उद्घाटन गरेका हुन् ।  नेपालको नक्सामा विकासको खाका तथा अन्तर्राष्ट्रिय सम्बन्धलाई नक्सांकन गर्दै महराले करिब १५ मिनेट विद्यार्थीलाई पढाउनुभएको थियो । 

उपप्रधानमन्त्री महरा आफैँले दान गरेको करिब ३५ रोपनी क्षेत्रफल जग्गामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा सञ्चालित सो पोलिटेक्निकल इन्स्टिच्यूटमा हाल पशु विज्ञानतर्फ डिप्लोमा तहमा पठनपाठन शुरु भएको छ । 

शिक्षालयमा आगामी दिनमा वन विज्ञान, स्वास्थ्य, निर्माण तथा कृषि विषयको समेत पठनपाठन गरिने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप