बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालकै पहिलो गभर्नर हिमालयशमशेर राणाको जीवन : देवशमशेरका सन्तान हामी अन्य राणाजीभन्दा गरिब

आइतबार, २८ जेठ २०७४, १३ : ०६
आइतबार, २८ जेठ २०७४

अर्थ मन्त्रालय स्थापना गर्न हिमालयशमशेर राणाको अहम् भूमिका छ । अन्ततः राणा त्यही मन्त्रालयको पहिलो सचिवसमेत बने । उनी पहिलो गभर्नर पनि हुन् । तराईमा पहिलोपटक नेपाली नोट प्रचलनमा ल्याउने उनले भारतीय एक सय रुपैयाँको दर/रेट १६० तोकेका थिए । संवत् २०१७ चैत मसान्तमा निर्धारण गरिएको दर/रेट अहिले पनि कायम छ । राणाजी भए पनि नेपालीलाई स्वतन्त्रता दिनुपर्छ भनेर सुवर्णशमशेरसँग गुप्त रूपले २००५ मा नेपाल प्रजातन्त्र कंग्रेस स्थापना गर्ने हिमालयन बैंक प्रमुख सल्लाहकार हिमालयशमशेर राणासँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले गरेको कुराकानी :


मेरो खाना
विशेषतः दालभात नै मन पर्छ । मसलेदार खाना खान सक्दिनँ । पहिले÷पहिले गए पनि हिजोआज खानकै लागि रेष्टुरेन्ट जान छाडेको छु । पहिले ससेज, फिस फिंगर, पिनट्स, पकौडा, समोसा आदि स्न्याक्स मन पथ्र्यो भने हिजोआज आलुचिउरा र बारा मन पर्छ । पाककलाबारे अनभिज्ञ छु ।

मेरो पोसाक
नेपाल सरकारको सेवामा रहँदा दौरासुरुवाल नै लगाएँ । ‘युएन सर्भिस’ बाट फर्केपछि ‘सोसल फङ्सन’ मा जाँदा दौरासुरुवाल नै लगाउँछु, त्यसबाहेक सर्टपाइन्ट नै लगाउन सजिलो लाग्छ । पुरानै लुगा भएकाले पोसाकमा त्यति खर्च हुँदैन । २०/२५ वर्ष पुराना कोट पनि छन् । दसैंमा लुगा हाल्ने हो । त्यो पनि नहालेको जुग भइसक्यो ।
बम्बईमा पढेकाले सेतो पाइन्ट, सेतै कमिज मन पथ्र्यो । नेपालमा हुर्केकाले उलन ज्याकेट मन पर्छ । मलाई रेडिमेड कपडा नमिल्ने भएकाले कपडा किनेरै सिलाउनुपर्छ । एकताका ह्याट लगाउँथें । हिजोआज पनि नेपाली टोपी लगाउने गर्छु ।

मेरो फिटनेस
पहिले म ‘स्पोर्टस्’ खेल्थें । हिजोआज पनि ‘फ्री ह्यान्ड एक्सरसाइज’ गर्छु । अलिअलि योगा पनि गर्ने बानी छ । काठमाडौंमा धूलैधूलो छ, मर्निङवाक कसरी निस्कनु ? पहिले/पहिले ट्रेडमिलमा दौडे पनि ९० वर्ष पुग्न लागेकाले उमेरले साथ दिँदैन ।

मेरो अध्ययन
पढ्ने बानी छुटेको छैन । दुर्गानाथ शर्मालिखित पछिल्लो किताब भर्खरै पढिसकें । मोहनकृष्ण श्रेष्ठको किताब पढ्दै छु । धेरै दार्शनिक र आध्यात्मिकमा अभिरुचि छैन, त्योबाहेक जे पनि पढ्छु ।
मसँग भएका किताब बाँडिसकेको छु । थोरै होलान् । त्यो पनि बाँड्छु । उपहारस्वरूप आइरहने भएकाले किताब त्यति किन्नुपर्दैन ।

मेरो घुमफिर
पहिले घुमफिरमा असाध्यै रहर थियो । २४ वर्ष युएनमा काम गर्दा सालिन्दा घुमेको घुम्यै हुन्थें । म संवत् २०१८ मा ‘युएन सर्भिस’ जाँदा नेपालमा अहिलेजस्तो बाटोघाटो बनिसकेको थिएन । त्यसैले नेपाल त्यति धेरै घुम्न सकिएन । घुमेकामध्ये पेरिस, न्युयोर्क, भियना, इटाली असाध्यै मन पर्यो । न्युजिल्यान्ड र साउथ अमेरिका एकपटक पुग्न पाए हुन्थ्यो भन्ने लागेको छ ।

मेरो फुर्सद


हिजोआज फुर्सदमै छु । काममा व्यस्त हुँदा चाँडै थकाइ लाग्छ । फुर्सद भइहालेमा किताब पढ्ने, टेलिभिजन हेर्ने गर्छु । छोराछोरी ‘सेप्रेट’ भइसके । सात वर्षदेखि श्रीमतीको स्याहारसुसार गर्दै आएको छु ।
कहिलेकाहीं छोरीहरूले चलचित्र हेर्न लैजान्छन् । कहिलेकाहीं खान पनि गइन्छ ।

मेरो खेलकुद
खेलमध्ये फुटबल मन पर्छ । हकी कहिल्यै खेलिनँ । टेनिस खेले पनि उचाइ नभएकाले त्यति जम्न नसकिँदोरहेछ । क्रिकेट पनि खेलें । गल्फचाहिँ पछिल्लो समय खेलेको थिएँ ।


फुटबल क्लबमध्ये रियल मेड्रिड मन पर्छ । सचिन तेन्दुलकर भएसम्म क्रिकेट रुचिपूर्वक हेर्थें ।

मेरो मोबाइल
सामसुङको मोबाइल सेट बोक्दै आएको छु । ज्वाईंले ल्याइदिनुभएकाले मूल्य थाहा भएन । मोबाइलका ‘एप्लिकेसन’ कमै प्रयोग गरेको छु ।

मेरो टेलिभिजन
टीभीमा समाचार हेर्ने गर्छु । भारतीय टीभीमा जहिल्यै झगडा गरिरहेको हुनाले हेर्नै छाडें । टीभी हेर्ने समय बेलुका जुर्छ । बिहान, दिउँसो समाचार र राति टेलिशृंखला हेर्ने बानी छ । घरमा ठूलै आकारको सोनी टीभी छ ।

मेरो चलचित्र
ललितपुरको पुल्चोकमा रहेको लबिम मलमा हेरेको भारतीय चलचित्रको नामचाहिँ बिर्सें । आमिर खान, अमिताभ बच्चन, सलमान खान अभिनीत चलचित्र मन पर्छ । दीपिका पादुकोण, आलिया भट्टलगायतका अभिनय प्रशंसायोग्य छ ।

मेरो रोग
‘मेजर हेल्थ प्रब्लम’ छैन । ६÷६ महिनामा ‘होलबडी चेकअप’ गराउँछु । रक्तचापको औषधि सेवन गर्दै आएको छु । शारीरिक र मानसिक रूपमा सक्रिय रहेपछि स्वस्थ रहन सकिँदोरहेछ ।

मेरो भाषणशैली
आक्कलझुक्कल भाषण गर्नुपर्छ । म प्रस्ट वक्ता हुँ । मेरो भाषणशैली बौद्धिक हो । भाषण गर्नुअघि तयारी गर्ने गर्छु ।

मेरो मापसे
मोटाएपछि मापसे छाडेको चार÷पाँच वर्ष भयो । त्यतिबेला ह्वीस्की पिउँथें । मादक पदार्थद संकलन गरेर दराजमा राखेको छु । तीन÷चार पेगसम्म पिउँथें ।

मेरो संगीत
संगीतमा अभिरुचि छ । म शास्त्रीय संगीत पनि सुन्छु । ओपेराचाहिँ जति सुन्दा पनि मन परेन । बिटल्स पनि मन पर्छ । नेपाली गीत पनि उत्कृष्ट लाग्छन् । लतामंगेशकर, रफी र नारायणगोपाल मन पर्छन् ।

मेरो भूल
पश्चाताप लाग्नेगरी भूल गरेको छैन । आफूले आफैंलाई दिएकोबाहेक सजाय पाएको छैन । राणाजीका सन्तानलाई कसैले सजाय दिने आँट गरेनन् ।

मेरो घर
यो घर व्यक्तिगत कमाइले सन् १९७२ मा बनाएको हुँ । हामी राणाजी भए पनि सबैभन्दा गरिब देवशमशेरका सन्तान हौं । प्रधानमन्त्रीका सन्तान भएकाले अन्य राणाजी सम्पन्न थिए । देवशमशेर प्रधानमन्त्री भए पनि १४ दिनमै हटाइए ।


कृष्णबहादुरले धर्मपुत्र लिएकाले उनकै सम्पत्तिबाट ‘जेनेरेसन/जेनेरसन’ आयो । यो (थापाथली हाइट) मेरो बुवाको थियो । हामी तीन दाजुभाइ हौं । युएनमा बसेकाले मलाई अंशबन्डामा अहिले बसिरहेको घरको घडेरीबाहेक केही पनि चाहिँदैन भनेर लिइनँ ।


घरको ‘स्ट्रक्चर’ इन्जिनियर हरिकृष्णको हो । ‘सेप’ चाहिँ बुल्गेरियाका आर्किटेक्टले गरेका हुन् । मैले त्यतिबेलै भूकम्पप्रतिरोधी घर बनाएको हुँ । संवत् १९९० को महाभूकम्पमा थापाथली दरबारमा बसिरहेको बेला भागेर सबै कौशीमा गए पनि पूर्वपट्टि खड्गशमशेरको दरबार पूर्ण रूपमा भत्कँदा त्यहाँबाट मेरेँ बाबा, ऐय्या बाबा भन्ने चीत्कार सुनेकाले मैले भूकम्पप्रतिरोधी घर बनाएको हुँ । भूकम्पप्रतिरोध घर बनाउँदा बजु्रक भएको भनेर कुरा काट्थे । गोरखा भूकम्प जाँदा कुरा काट्नेहरूले नै बुद्धिमानी रहेछ भनेर प्रशंसा गरे ।

मेरो राशी
मेरा राशी मलाई नै थाहा छैन । ग्रहदशामा विश्वास गर्दिनँ । म नास्तिक होइन, ‘आइनोस्टिक’ हुँ । आस्तिक र नास्तिक हुन्छ तर आइनोस्टिक भनेको प्रमाण भए भगवान् मान्ने नत्र नमान्ने । प्रमाण फेलापरेपछि मात्रै भगवान् मान्छु ।

मेरो सौन्दर्यचेत
कपालमा डाबरको तेल लगाउने गर्छु । सातामा एकपटक अनुहार साबुनले धुन्छु । साबुनमा ‘केमिकल’ हुनाले अनुहार चाउरी पार्छ । जाडोमा भ्यासलिन लगाउने गर्छु । आफ्टर सेफ पनि प्रयोग गर्छु । जाडोमा साउना बस्छु ।

मेरो प्रेम
हाम्रो प्रेमविवाह हो । प्रस्ताव श्रीमतीबाटै आएको हो ।

मेरो सपना
स्नातकोत्तरको परीक्षा सकिएपछि सुवर्णशमशेरसँग कलकत्तामा भेट भयो । आफू राणाजी भए पनि नेपालीलाई स्वतन्त्रता दिनुपर्छ भनेर गुप्त रूपमा २००५ मा नेपाल प्रजातन्त्र कंग्रेस स्थापना गर्यौं । नभन्दै ००७ मा प्रजातन्त्र आयो । त्यो इतिहासले मौका दियो ।

अर्थ मन्त्रालय, राष्ट्र बैंक, हिमालयन बैंक स्थापना गरें । देखेको सपना पूरा गरेको छु । अहिले पनि मासिन १२ सय डलर पेन्सन आउँछ । आनन्दित छु ।

मेरो मृत्यु
मानिसको चोला फेर्ने माध्यम भनेकै मृत्यु हो । मृत्युसँग पटक्कै डर छैन । म मरेको कसैलाई थाहै नहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप