शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

संरक्षण अभावमा बुद्धको मावली : पण्डितपुरको अस्तित्व मेटिने खतरा

बुधबार, २२ कात्तिक २०७४, ११ : ५९
बुधबार, २२ कात्तिक २०७४

परासी–संरक्षण र विकास अभावमा नवलपरासिको ऐतिहासिक एवं पुरातात्विक धार्मिकस्थल पण्डितपुरको अस्तित्व खतरामा परेको छ । भगवान गौतम बुद्धको मावली तथा कोलिय गणराज्यको राजधानी पण्डितपुर (देवदह) लाई सम्बन्धित निकायले विकास र संरक्षणमा चासो नदेखाउँदा यसको अस्तित्व खतरामा परेको हो । 

पण्डितपुर गाउँ ईसापुर्व ७ वर्ष पहिला तत्कालिन कोलिय गणराज्यको राजधानी र शान्तीका अग्रदतु गौतम बुद्धको मावली रहेको थियो । नवलपरासी जिल्लाको रामग्राम नगरपालिका १८ मा रहेको यो स्थान सदरमुकाम परासी बजारबाट करिब ५ किलोमिटर पश्चिममा पर्दछ ।

यस स्थानलाई कोलिय गणराज्यको राजधानी र गौतम बुद्धको मावली घर रहेको पुरातत्व विभागले पुष्ट्याई गरिसकेपनि सरकारले पुरातत्व क्षेत्र घोषणा भने गरिसकेको छैन । तीन बर्षअघि पुरातत्व विभागले पण्डितपुरको उत्खनन गर्न पुरातत्वविद तारानन्द मिश्र संयोजक रहेको प्राविधिक टोली खटिएको थियो । जसले मौर्यकालिन खाल्टो, मानव मुर्ति, पशु मुर्ति, टेराकोटा (टिसी), टिसी विट, माटोको चरा, कार्ने लियन बिड, स्टोन विड, रेडवे, एनविपी वेयर, ग्रेवयर, रुपटायल, इटाहरु लगायतका प्राचिन बस्तुहरु फेला परेका थियो । 

त्यस्तै मौर्यकालमा बेनेका ईनारहरु पनि फेला परेको टोलीले जानकारी गराएको थियो ।

६० विगाहा क्षेत्रफलमा फैलिएको सो स्थानमा फेला परेका मौर्यकालिन बस्तु सार्वजनिक भएपनि  त्यसको विस्तृत प्रतिवेदन अझै सार्वजनिक भैसकेको छैन । 
तत्कालि कोलिय राजधानीमा कोलिय राजाहरु बस्दथे । कोलिय राजधानीभित्र ११ वटा नगर राज्य पनि रहेको ईतिहास छ । कोलिय गणराज्यका राजधानी र बुद्धको मावलीको रुपमा रहेको यस क्षेत्रमा स्थानीयले खेतीपाती गर्दै आएकाले प्राचिन बस्तुहरु नास भएर गएको स्थानीय बेचु गौडले बताए । 

पण्डितपुरबाट १० किलोमिटरको दुरीमा गौतम बुद्धको अस्तुधातु सुरक्षित रहेको एक मात्र स्थल रामग्राम स्तुप पनि छ । रामग्राम स्तुपको संरक्षण र विकासका लागि सरकारले लुम्बिनी विकास कोषलाई जिम्मा लगाएको छ तर लुम्बिनी विकास कोषले लुम्बिनी क्षेत्र बाहेक कुनै क्षेत्रमा काम गरेको पाइएको छैन ।
रामग्राम स्तुप र पण्डितपुरको विकासका लागि रामग्राम विकास कोषको माग गर्दै स्थानीयले हस्ताक्षर संकलन अभियान थालेको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष सम्भु उपाध्यायले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हुसेन अन्सारी
हुसेन अन्सारी
लेखकबाट थप