शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चुनावी मैदानमा  २६ मन्त्री : को कति सुरक्षित ?

बिहीबार, २३ कात्तिक २०७४, १३ : ५१
बिहीबार, २३ कात्तिक २०७४

आसन्न प्रतिनिधि सभा निर्वाचनमा वर्तमान सरकारका २६ मन्त्रीहरू चुनावी प्रतिस्पर्धामा छन् । प्रधानमन्त्रीसहित विनाविभागीय मन्त्रीहरू समेत निर्वाचनमा सहभागी भएर प्रचार प्रसारमा समेत जुटिरहेका छन् । अधिकांश मन्त्रीहरूले आफू पहिले निर्वाचित भएको क्षेत्रबाट नै टिकट पाएका छन् । हामीले स्थानीय तहको निर्वाचनमा दलका वडाध्यक्षहरूले पाएको मत परिणामका आधारमा उनीहरूको सम्भावित अवस्थाका बारे आँकलन गर्ने प्रयास गरेका छौँ । 

१. प्रधानमन्त्री शेरबहादुर देउवा : डडेल्धुरा 
प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, पशुपंक्षी विकास, विज्ञान तथा प्रविधि, शान्ति तथा पुनर्निर्माण र सामान्य प्रशासन मन्त्रालय गरी ६ मन्त्रालयको जिम्मेवारीसमेत लिएका प्रधानमन्त्री शेरबाहादुर देउवा आगामी निर्वाचनमा डडेल्धुराबाट चुनावी प्रतिस्पर्धामा छन् । दोस्रो चरणअन्तर्गत मङ्सिर २१ गते उनको क्षेत्रमा निर्वाचन हुँदैछ । माओवादी केन्द्रका खगराज भट्ट र प्रधानमन्त्री देउवाबीच चुनावी भिडन्त हुँदैछ । 

प्रतिनिधि सभा निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा यसअघि देउवाले एकछत्र रूपमा विजय हासिल गर्दै आएका थिए । गत स्थानीय तहको निर्वाचनमा डडेल्धुराका स्थानीय तहमा प्रमुख तथा वडाध्यक्षले पाएको मतका आधारमा हेर्दा नेपाली काङ्ग्रेसले १९ हजार ५ सय २३ मत ल्याएको थियो । नेकपा एमालेले १६ हजार ९ सय १५ मत र माओवादी केन्द्रले १० हजार ९ सय ४५ मत ल्याएको थियो । यहाँ गठबन्धन दलको २७ हजार ८ सय ६० मत छ जुन नेपाली काङ्ग्रेसले ल्याएको मत भन्दा ८ हजार ३ सय ३७ बढी हो । यस आधारमा यहाँ आफ्नो जित निकाल्न काङ्ग्रेस सभापति देउवाले ८ हजार बढी भोट बढाउनुपर्नेछ । 
प्रतिनिधि सभा निर्वाचनका लागि एक निर्वाचन क्षेत्र रहेको डडेल्धुुरामा ८१ हजार ७ सय ३२ मतदाता रहेका छन् । 
देउवाका प्रतिस्पर्धी रहेका खगराज भट्ट २०६४ तथा २०७० को निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए । 

२. उपप्रधानमन्त्री विजयकुमार गच्छदार : सुनसरी ३ 
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीसमेत रहेका विजयकुमार गच्छदार चुनावको मुखमा आफ्नो पुरानो पार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए । उनले आगामी निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि सुनसरी ३ बाट उम्मेदवारी दिएका छन् । उनका मुख्य प्रतिस्पर्धीका रूपमा वाम गठबन्धनबाट एमालेकी भगवती चौधरी रहेकी छिन् । 

गत स्थानीय तहमा उनको निर्वाचन क्षेत्रमा रहेका स्थानीय तहमा पाएको मतका आधारमा यो क्षेत्रमा काङ्ग्रेसले २१ हजार ५ सय ७७, एमालेले २० हजार २७, माओवादीले ५ हजार ९ सय ९३, राप्रपाले १८ सय ८९, फोरम लोकतान्त्रिकले १७ हजार ६ सय ७३ र सङ्घीय समाजवादी फोरमले ३ हजार ४ सय २७ मत पाएको थियो । 

यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनका पक्षमा २६ हजार २० मत छ भने काङ्ग्रेसको पक्षमा काङ्ग्रेस, राप्रपा र फोरम लोकतान्त्रिकको मत जोड्दा ४१ हजार १ सय ३९ मत देखिन्छ । अर्थात यहाँ नेपाली काङ्ग्रेसको पक्षमा १५ हजार १ सय १९ मत रहेको छ । यस आधारमा हेर्दा यहाँ विजय गच्छदार पुनः निर्वाचित हुन सक्नेछन् । 

अगाामी निर्वाचनका लागि सुनसरी क्षेत्र नं. ३ मा १ लाख ९ हजार ८ सय ४१ मतदाता छन् ।

३. उपप्रधानमन्त्री कमल थापा : मकवानपुर १
 

ऊर्जा मन्त्रालय सम्हालिरहेका उपप्रधानमन्त्री कमल थापा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नं. १ बाट एमालेका कृष्णप्रसाद दाहालसँग चुनावी प्रतिस्पर्धामा छन् ।  

गत स्थानीय तहको निर्वाचनमा मकवानपुर १ का स्थानीय तहमा दलका वडाध्यक्षहरूले ल्याएको मतका आधारमा नेपाली काङ्ग्रेसले २३ हजार ५ सय ४८, एमालेले २७ हजार १ सय ४३, माओवादीले १४ हजार ५ सय २ र राप्रपाले १० हजार ८ सय ३५ मत पाएको थियो । यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा ४१ हजार ६ सय ४५ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३४ हजार ३ सय ८३ मत रहेको छ । यहाँ ७ हजार ३ सय ३३ मतले वाम गठबन्धन अगाडि रहेकाले कमल थापाका लागि जित निकाल्न कठिन सङ्घर्ष गर्नुपर्ने देखिन्छ । 
     
४. उपप्रधानमन्त्री कृष्णबहादुर महरा : दाङ २
माओवादी केन्द्रका वरिष्ठ नेतासमेत रहेका विनाविभागीय उपप्रधानमन्त्री कृष्णबहादुर महरा आगामी प्रतिनिधि सभाको निर्वाचनमा  दाङ क्षेत्र नं. २ मा काङ्ग्रेसका उम्मेदवार राजु खनालसँग प्रतिस्पर्धा गर्दैछन् । 

गत स्थानीय तहको निर्वाचनमा स्थानीय तहका वडाध्यक्षहरूले पाएको मतका आधारमा दाङ क्षेत्र नं. २ मा काङ्ग्रेसले २१ हजार ३ सय ९, एमालेले १७ हजार ९ सय ६, माओवादीले १७ हजार ५ सय ३५ र राप्रपाले १ हजार ८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३५ हजार ४ सय ४१ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २२ हजार ३ सय ९७ मत रहेको छ । अर्थात यहाँ महरालाई आफ्नो जित निकाल्न कुनै कठिनाइ नहुने देखिन्छ ।  
 
५. उपप्रधानमन्त्री गोपालमान श्रेष्ठ : स्याङ्जा २
नेपाली काङ्ग्रेसका नेतासमेत रहेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ प्रतिनिधि सभा निर्वाचनका लागि स्याङ्जा क्षेत्र नं. २ बाट वाम गठबन्धनकी नेतृ पदमा अर्यालसँग प्रतिस्पर्धा गर्दैछन् । 

गत स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसले ३१ हजार ७ सय २९, नेकपा एमालेले ३१ हजार २५, माओवादीले ४ हजार १ सय १३, राप्रपाले ७ सय ९ मत पाएका थिए । यस आधारमा हेर्दा यहाँ वाम गठबन्धनको पक्षमा ३५ हजार १ सय ३८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३२ हजार ४ सय ३८ मत रहेको छ । यहाँ वाम गठबन्धन २७ सय मतले अगाडि रहेको छ । यस आधारमा यहाँ वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । 

६. विनाविभागीय मन्त्री गिरिराजमणी पोखरेल : महोत्तरी १
 

यसअघि स्वास्थ्यमन्त्रीसमेत रहेका विनाविभागीय मन्त्री, माओवादी नेता गिरिराजमणी पोखरेल महोत्तरी क्षेत्र नंं. १ मा नेपाली काङ्ग्रेस सीताराम भण्डारीसँग प्रतिस्पर्धा गर्दैछन् । गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा काङ्ग्रेसले १२ हजार ८ सय ५४, नेकपा एमालले ७ हजार ७ सय १८, माओवादीले १६ हजार १ सय २१, राजपाले ८ हजार ९ सय २१, सङ्घीय समाजवादी फोरमले ३ हजार ७ सय १४, राप्रपा ३ सय १६ र फोरम लोकतान्त्रिकले १ सय ८१ मत पाएका थिए ।

यस अधारमा यहाँ वाम गठबन्धनको पक्षमा २३ हजार ८ सय ३९, काङ्ग्रेस, राप्रपा, फोरम लोकतान्त्रिकसहितको लोकतान्त्रिक गठबन्धनको पक्षमा १३ हजार ३ सय ५१ र मधेसी मोर्चाको पक्षमा १७ हजार २ सय ८० मत खसेको थियो । यस अधारमा यहाँ लोकतान्त्रिक गठबन्धनभन्दा वाम गठबन्धन १० हजार हाराहारी र मधेसी मोर्चाभन्दा ६ हजार हाराहारी मतले अगाडि रहेको छ । 
 
७. अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की : सुनसरी ४
नेपाली काङ्ग्रेसका नेतासमेत रहेका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी क्षेत्र नं. ४ मा वाम गठबन्धनबाट एमालेका रमेश श्रेष्ठसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

गत स्थानीय तहको निर्वाचनमा सुनसरी ४ मा नेपाली काङ्ग्रेस २१ हजार, १ सय ४५, एमालेले २० हजार २ सय १३, माओवादीले ४ हजार ७ सय ८६, राप्रपाले १५ सय ५६ मत पाएको थियो । 
यस अधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ९ सय ९९ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २२ हजार ७ सय १ मत रहेको छ, अर्थात यहाँ वाम २ हजार २ सय ९८ मतले अगाडि रहेको छ । यो मतको आधारमा यहाँ वाम र लोकतान्त्रिक गठबन्धनबीच कडा प्रतिस्पर्धा हुनेछ । 

८. श्रम तथा रोजगारमन्त्री     फरमुल्लाह मन्सुर : बारा क्षेत्र नं. ३
नेपाली काङ्ग्रेसका नेतासमेत रहेका श्रम तथा रोजगारमन्त्री आगामी प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नं. ३ बाट एमालेका अध्यानन्द पाण्डे र सङ्घीय समाजवादी फोरमका रामकिशोर यादवसँग प्रतिस्पर्धामा छन् । 

गत स्थानीय तहको निर्वाचनमा बारा क्षेत्र नं. ३ मा काङ्ग्रेसले १७ हजार १ सय ३१, एमालेले १५ हजार १ सय ७७, माओवादीले ७ हजार ७ सय, राजपाले ३ हजार ७ सय ३४, राप्रपा  राप्रपा प्रजातान्त्रिकले ८ सय २५ र सङ्घीय समाजवादीले ४ सय ७३ मत पाएको थियो । 
यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ८ सय ७७, लोकतान्त्रिक गठबन्धनको पक्षमा १७ हजार ९ सय ५६ र मधेसी मोर्चाको पक्षमा ४ हजार २ सय ७ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन भन्दा ६ हजार ९ सय २१ मतले अगाडि छ । अर्थात मन्त्री मन्सुरलाई सहजै जित निकाल्न भने कठिन हुने देखिन्छ  । 

९. विनाविभागीय मन्त्री जनार्दन शर्मा : रुकुम पश्चिम
माओवादी केन्द्रका नेता, पूर्वऊर्जा तथा गृहमन्त्री जनार्दन शर्माले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि पश्चिम रुकुमबाट उम्मेदवारी दिएका छन् । उनले नेपाली काङ्ग्रेसका नेता गोपालजीजङ्ग शाहसँग प्रतिस्पर्धा गर्दैछन् ।     

गत स्थानीय तहको निर्वाचनमा पश्चिम रुकुममा माओवादी केन्द्र पहिलो दल बनेको थियो । स्थानीय तहका प्रमुख पदका लागि प्राप्त मतका आधारमा माओवादी केन्द्रले २७ हजार ४ सय ३१ मत ल्याएको थियो । दोस्रो दलका रूपमा नेपाली काङ्ग्रेसले १९ हजार ६७ मत ल्याएको थियो । रुकुम पश्चिममा वाम दलको मत ३५ हजार ८ सय ३५ मत रहेको छ, जुन नेपाली काङ्ग्रेसको भन्दा १६ हजार ७ सय ६८ मत बढी हो । यो जिल्लामा राप्रपाले जम्मा १ सय ९२, राष्ट्रिय जनमोर्चाले ४३ र नयाँ शक्ति नेपालले १ सय ६४ मत ल्याएको थियो । प्रतिनिधि सभा निर्वाचनका लागि १ निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ८४ हजार ३० मतदाता छन् । यस अधारमा हेर्दा मन्त्री शर्मा भारी मतले विजयी हुने सहजै आँकलन गर्न सकिन्छ । 

१०. स्वास्थ्यमन्त्री दीपक बोहरा : रूपन्देही ३    
राप्रपा प्रजातान्त्रिकका नेतासमेत रहेका स्वास्थ्यमन्त्री दीपक बोहोरा रूपन्देही क्षेत्र नं. ३ मा एमालेका नेता घनश्याम भुसालसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । 
गत स्थानीय तहमा राजनीतिक दलले पाएको मतका आधारमा रूपन्देहीमा काङ्ग्रेसले ११ हजार १ सय ९८, एमालेले १३ हजार ५ सय १७, माओवादीले ४ हजार ४ सय ५ र राप्रपाले ३ हजार ८ सय ३२ मत पाएको थियो । 

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा १७ हजार ९ सय २२ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १५ हजार २० मत रहेको छ । अर्थात् वाम गठबन्धन २ हजार ९ सय २ मतले अगाडि रहेको छ । एमालेका बौद्धिक नेताको छवि बनाएका भुसालसँग मन्त्री बोहोराको कडा चुनावी प्रतिस्पर्धा हुने भएको छ । 

११. विनाविभागीय    मन्त्री प्रभु साह : रौतहट ३ 
 

पूर्वसहरी विकासमन्त्री समेत रहेका माओवादी नेता प्रभु साह रौतहट क्षेत्र नं. ३ मा नेपाली काङ्ग्रेसका सुनीलकुमार साहर मधेसी मोर्चाका शम्भु साह तेलीसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले १३ हजार ४ सय ७६, एमालले १२ हजार ६ सय २६, माओवादीका ११ हजार ३ सय ८६, सङ्घीय समाजवादी फोरमको ५ हजार ३ सय ९१, राजपाले १ हजार ८ सय ९५ मत ल्याएको थियो । 

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ३१ हजार ३ सय ८४, लोकतान्त्रिक गठबन्धनको पक्षमा १३ हजार ४ सय ९२ र मधेसी मोर्चाको पक्षमा १४ हजार ४ सय ९ मत देखिन्छ । अर्थात लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन १७ हजार ८ सय ९२ मतले अगाडि रहेको छ । भारी मतले मन्त्री पभु साह पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने आँकलन गर्न सकिन्छ । 

१२. उद्योगमन्त्री सुनिलबहादुर थापा : धनकुटा     
राप्रपाका नेता तथा उद्योगमन्त्री सुनिलबहादुर थापा धनकुटाबाट प्रतिनिधि सभा निर्वाचनमा एमालेका नेता राजेन्द्र राईसँग प्रतिस्पर्धा गर्दैछन् । 
गत स्थानीय तहको निर्वाचनमा धनकुटामा स्थानीय तहको निर्वाचनमा धनकुटाका स्थानीय तहका प्रमुख पदमा राजनीतिक दलले पाएको मत अनुसार नेपाली काङ्ग्रेसले १८ हजार १ सय ३२, नेकपा एमालेले २९ हजार ९ सय ३, माओवादी केन्द्रले १० हजार ८३, राप्रपाले ३ हजार ८ सय ३०, मधेसी अधिकार फोरम लोकतान्त्रिकले ७३, नयाँ शक्ति नेपालले ५४ मत पाएको थियो । 

यस अनुसार धनकुटामा वाम गठबन्धनको ३९ हजार ९ सय ८६ मत छ । यस्तै नेपाली काङ्ग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनको २२ हजार ८९ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धनको १७ हजार ८ सय ९७ हाराहारी बढी मत देखिन्छ । स्थानीय तहको मतलाई आधार मान्ने हो भने मन्त्री थापालाई आफ्नो जित निकाल्न कठिन पर्ने अनुमान गर्न सकिन्छ । 

१३.    वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे : चितवन क्षेत्र नं. ३     
राप्रपाका नेतासमेत रहेका वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे चितवन क्षेत्र नं. ३ मा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । यसकारण पनि चितवन क्षेत्र नं. ३ को चुनाव राष्ट्रिय आकर्षणमा परेको छ । 
गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले २६ हजार ९ सय २३, एमालेले २४ हजार ४ सय ९४, माओवादीले १८ हजार १ सय ४ र राप्रपाले ८ हजार ३ सय ४२ मत पाएको थियो । 

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४२ हजार ५ सय ९८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३५ हजार २ सय ६५ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन ७ हजार हाराहारी मतले अगाडि रहेको छ । मन्त्री पाण्डेलाई आफ्नो पक्षमा जीत निकाल्न कठिन पर्ने देखिन्छ ।  

१४. सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत ः सिन्धुपाल्चोक १
नेपाली काङ्ग्रेसका नेतासमेत रहेका सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक १ मा पूर्व सञ्चारमन्त्रीसमेत रहेका माओवादी नेता अग्नि सापकोटासँग चुनावी प्रतिस्पर्धामा रहेका छन् ।  

सिन्धुपाल्चोक क्षेत्र नं. १ अन्तर्गत त्रिपुरासुन्दरी, लिसंखु पाखर, सुनकोसी, भोटेकोसी, जुगल गाउँपालिका पर्छन् भने बाह्रबिसे नगरपालिका र चौतरा साँगाचोकगढी नगरपालिकाका वडा नं. २, ३, ४, ९ र १० वडा रहेका छन् । 

त स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेपाली काङ्ग्रेसले २१ हजार ३ सय १६, एमालेले २४ हजार २ सय २४, माओवादीले १९ हजार ८ सय ५५ र राप्रपाले ३ हजार ७ सय ७५ मत ल्याएको थियो । 

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा ४४ हजार ७९ मत रहेको छ भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ९१ मत देखिन्छ । अर्थात यहाँ वाम गठबन्धन १८ हजार हाराहारी मतले अगाडि रहेको छ । स्थानीय तहको मत परिणाम हेर्ने हो भने मन्त्री बस्नेतलाई पूर्वमन्त्री सापकोटालाई पराजित गर्न कठिन पर्ने देखिन्छ । 

१५. कृषि विकास मन्त्री रामकृष्ण यादव : धनुषा क्षेत्र नं. २
नेपाली काङ्ग्रेसका नेता तथा कृषि विकास मन्त्री रामकृष्ण यादव धनुषा क्षेत्र नंं २ मा वाम गठबन्धनबाट माओवादीका रामचन्द्र झा र सङ्घीय समाजवादी फोरमका उमाशङ्कर अगरियासँग प्रतिस्पर्धा गर्दैैछन् । 

गत स्थानीय तहको निर्वाचनमा धनुषा क्षेत्र नं. २ मा काङ्ग्रेसले १२ हजार ३ सय ५९, एमालेले ७ हजार ९ सय ३१, माओवादीले ७ हजार ८ सय ९५, राप्रपाले २ सय ९५, राजपाले ४ हजार ९ सय ४५, फोरम लोकतान्त्रिकले ३ हजार २ सय ३२ र सङ्घीय समाजवादी फोरमले ७ हजार २ सय ६३ मत पाएको थियो । 
यस अनुसार यहाँ वाम गठबन्धनको पक्षमा १५ हजार ८ सय २६, लोकतान्त्रिक गठबन्धनको पक्षमा १५ हजार ८ सय ६ र मधेसी मोर्चाको पक्षमा १२ हजार २ सय ८ मत देखिन्छ । यस आधारमा हेर्दा यहाँ वाम, लोकतान्त्रिक र मधेसी मोर्चा गठबन्धनबीच कडा टक्कर पर्ने अनुमान गर्न सकिन्छ ।   
    
१६. खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव     : धनुषा क्षेत्र नं. ४
नेपाली काङ्ग्रेसका नेता तथा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव धनुषा क्षेत्र नंंं ४ मा वाम गठबन्धनबाट एमालेका रघुवीर महासेठ र समाजवादी फोरमका महाजन यादवसँग प्रतिस्पर्धा गर्दैछन् । 

गत स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा काङ्ग्रेसले १६ हजार २ सय ३६, एमालेले १६ हजार ३ सय ३५, माओवादीले १० हजार ७ सय ७०, फोरम लोकतान्त्रिकले २ सय ८ राप्रपाले ६ सय ४१, राजपाले ५ हजार ५ सय ४५ र समाजवादी फोरमले ८ हजार ६ सय ६ मत पाएको थियो । 

यस आधारमा यहाँ वाम गठबन्धनको पक्षमा २४ हजार ९ सय १६, लोकतान्त्रिक गठबन्धनको १७ हजार ८५ र मधेसी मोर्चाको पक्षमा १४ हजार १ सय ५१ मत देखिन्छ । अर्थात वाम गठबन्धन झन्डै १० हजार हाराहारी मतले अगाडि रहेको छ । 

१७.  सहकारी तथा गरिबी निवारण मन्त्री अम्बिका बस्नेत : काठमाडौँ ३     
नेपाली काङ्ग्रेसकी नेतृ सहकारी मन्त्री अम्बिका बस्नेत काठमाडौं क्षेत्र नं. ३ मा एमालेका कृष्ण राईसँग चुनावी प्रतिस्पर्धामा छिन् । 
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ३ मा काङ्ग्रेसले १४ हजार ३ सय २४, एमालेले १२ हजार ७ सय ७, माओवादीले ४ हजार ४ सय ५१ र राप्रपाले १ हजार ४ सय ४४ मत पाएको थियो ।  

१८. भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर     : डोटी 
नेपाली काङ्ग्रेसका नेता तथा भौतिक पूर्वाधार मन्त्री वीरबहादुर बलायर आगामी प्रतिनिधि सभा निर्वाचनका लागि डोटीबाट चुनावी प्रतिस्पर्धामा छन् । उनको एमालेका प्रेमबहादुर आलेमगरसँग मुख्य प्रतिस्पर्धा हुँदैछ । 

गत स्थानीय तहको मतका आधारमा डोटीमा काङ्ग्रेसले २४ हजार ८ सय ५, एमालेले २७ हजार ८ सय ८९, माओवादीले ७ हजार ६ सय ८५ र राप्रपाले ७ सय ८७ मत पाएको थियो । 

यस आधारमा वाम गठबन्धनले ३५ हजार ५ सय ७४ र लोकतान्त्रिक गठबन्धनले २५ हजार ५ सय ९२ मत पाएको छ । झन्डै १० हजार हाराहारी मतले वाम गठबन्धन अगाडि रहेका कारण मन्त्री बलायरलाई आफ्नो पक्षमा जित निकाल्न कठिन पर्ने आँकलन गर्न सकिन्छ । 

१९. वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा भने समानुपातिक उम्मेदवार बनेका छन् । 
 

२०. कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापा : कास्की १    
 

काङ्ग्रेस नेता एवं. कानुन मन्त्री यज्ञबहादुर थापा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नं. १ मा एमालेका खगराज अधिकारीसँग प्रतिस्पर्धा गर्दैैछन् । 

गत स्थानीय तहको निर्वाचनमा कास्की १ मा काङ्ग्रेसले २३ हजार ५ सय ५४, एमालेले २६ हजार ८ सय ३९, माओवादीले ६ हजार १२, राप्रपाले १२ सय ८५ मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ३२ हजार ८ सय ५१ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २४ हजार ८ सय ३९ मत रहेको छ । यहाँ  वाम गठबन्धन ८ हजार १२ मतले अघि देखिन्छ । यस आधारमा मन्त्री थापालाई जित निकाल्न सजिलो भने नहुने अनुमान गर्न सकिन्छ । 

२१. रक्षामन्त्री भीमसेनदास प्रधान : काठमाडौँ ६
काङ्ग्रेस नेता एवं रक्षामन्त्री भीमसेनदास प्रधान माओवादीका नेता झक्कु सुवेदीसँग प्रतिस्पर्धा गर्दैछन् । 
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ६ मा नेपाली काङ्ग्रेसले ११ हजार ३ सय १५, एमालेले १२ हजार ७ सय ९८, माओवादीले ३ हजार ६ सय ९३ र राप्रपाले ९ सय ५६ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको १६ हजार ४ सय ९१ र लोकतान्त्रिक गठबन्धनको १२ हजार २ सय ७१ मत छ । वाम गठबन्धन ४ हजार २ सय २० मतले अगाडि देखिएको छ । मन्त्री प्रधान काठमाडौँका स्थानीय हुन भने सुवेदी रोल्पाका हुन् । मन्त्री प्रधान र सुवेदीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्न सकिन्छ । 

२२. सिंचाइमन्त्री सञ्जयकुमार गौतम : बर्दिया १
काङ्ग्रेस नेता तथा सिंचाइ मन्त्री सञ्जयकुमार गौतम बर्दिया क्षेत्र नंंं १ मा एमाले नेता वामदेव गौतमसँग प्रतिस्पर्धा गर्दैछन् । 
गत स्थानीय तहको चुनावमा बर्दिया १ मा काङ्ग्रेसले २३ हजार ३ सय २३, एमालेले ३१ हजार ६५, माओवादीले २३ हजार ८ सय ४० र राप्रपाले २४ सय १९ मत पाएको थियो । यहाँ वाम गठबन्धनको पक्षमा ५४ हजार ९ सय ५ मत देखिन्छ भने लोकतान्त्रिक गठबन्धनको पक्षमा २५ हजार ७ सय ४२ मत छ । यहाँ २९ हजार १ सय ६३ मतले वामदल अगाडि रहेको छ । अर्थात यहाँ सिंचाइमन्त्री गौतमले एमाले नेता वामदेव गौतमसँग भारी मतले पराजित हुने अनुमान गर्न सकिन्छ ।   

२३. युवा तथा खेलकुदमन्त्री     राजेन्द्रकुमार केसी : काठमाडौँ १०
काङ्ग्रेस नेता तथा खेलकुदमन्त्री राजेन्द्र केसी काठमाडौँ क्षेत्र नं. १० मा माओवादी केन्द्रका नेता हीतमान शाक्यसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । 
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ १० मा काङ्ग्रेसले १७ हजार १ सय ७०, एमालेले १६ हजार ८ सय ८७, माओवादीले ९ हजार ४ सय ५० र राप्रपाले २ हजार ३ सय ३६ मत ल्याएको थियो । यहाँ वाम गठबन्धन ६ हजार ८ सय ३१ मतले अगाडि रहेको छ ।     

२४. विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत :     सल्यान 
माओवादी केन्द्रका नेता तथा विनाविभागीय मन्त्री टेकबहादुर बस्नेत सल्यान १ मा नेपाली काङ्ग्रेसका राजेन्द्रबहादुर शाहसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । 
गत स्थानीय तहको निर्वाचनमा सल्यानमा नेपाली काङ्ग्रेसले २३ हजार ९ सय ८१, एमालेले २८ हजार ३७, माओवादीले २८ हजार ७ सय ७१ र राप्रपाले ३ हजार ४ सय ५१ मत ल्याएको थियो । 

यहाँ वाम गठबन्धनको पक्षमा ५६ हजार ८ सय ८ र लोकतान्त्रिक गठबन्धनको पक्षमा २७ हजार ४ सय ३२ मत रहेको छ । स्थानीय तहको चुनावमा वाम गठबन्धन २९ हजार ३ सय ७६ मतले अगाडि भएका कारण मन्त्री बस्नेतको जित निश्चित जस्तै देखिन्छ ।  

२५.  विनाविभागीय    मन्त्री महेन्द्रबहादुर शाही : कालिकोट ख प्रदेशसभा उम्मेदवार  
 

२६. विनाविभागीय मन्त्री सन्तकुमार थारु :     बर्दिया २ 
माओवादी नेता तथा विनाविभागीय मन्त्री सन्तकुमार चौधरी थारु बर्दिया २ मा काङ्ग्रेसका गोपाल दहित र समाजवादी फोरमका चिरञ्जीवी राम थारुसँग प्रतिस्पर्धा गर्दैछन् । 

गत स्थानीय तहको निर्वाचनमा बर्दिया २ मा नेपाली काङ्ग्रेसले २९ हजार ७ सय ७, उमालेले २२ हजार १ सय ७६, माओवादीले ३१ हजार ८ सय ४६ र राप्रपाले १८ सय २९ मत पाएको थियो । 

यहाँ वाम गठबन्धनको पक्षमा ५४ हजार २२ र लोकतान्त्रिक गठबन्धनको पक्षमा ३१ हजार ६ सय २६ मत देखिन्छ । वाम गठबन्धन २२ हजार हजार हाराहारी मतले अगाडि रहेका कारण मन्त्री थारुको जित सुनिनिश्चित जस्तै हुने आँकलन गर्न सकिन्छ । 

२७. महिला, बालबालिका तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापा : काठमाडौँ ७
राप्रपा नेता तथा समाजकल्याण मन्त्री विक्रमबहादुर थापा काठमाडौँ ७ मा एमालेका रामवीर मानन्धरसँग चुनावी प्रतिस्पर्धामा रहेका छन् । 
गत स्थानीय तहको निर्वाचनमा काठमाडौँ ७ मा काङ्ग्रेसले ११ हजार १५, एमालेले ११ हजार ८ सय ५६, माओवादीले ३ हजार १ सय २० र राप्रपाले १९ सय ६४ मत ल्याएको थियो । 

यहाँ वाम गठबन्धनको पक्षमा १४ हजार ९ सय ७६ र लोकतान्त्रिक गठबन्धनको पक्षमा १२ हजार ९ सय ७९ मत रहेको छ । अर्थात यहाँ वाम गठबन्धन १९ सय ९७ मतले अगाडि रहेको छ । यस अधारमा यहाँ मन्त्री थापा र मानन्धरबीच कडा चुनावी टक्कर हुने अनुमान गर्न सकिन्छ । 

चुनाव सम्बन्धी यी समाचार पनि हेर्नुहोस्

प्रदेश ७ का १५ निर्वाचन क्षेत्रमा यस्तो छ चुनावी अंकगणित

चुनावी मैदानमा ४ उपप्रधानमन्त्रीः गच्छदारको हिसाव नाफामा, कमल थापा डेन्जर जोनमा !

प्रचण्डलाई हराउने राजनको यस्तो छ चुनावी अंकणित

यी महिला जसलाई नयाँ शक्ति र एमाले दुवैले समानुपातिक सूचिमा राखे

निर्वाचन आयोगद्वारा समानुपातिक सूची सार्वजनिक, को-को अटाए ? (पूर्ण सूचीसहित)

बामगठबन्धनमा आफन्तै प्यारो, को–को आफन्तले पाए टिकट ?

महतोको धनुषा मोह : चार वर्षको योजना तर, टक्ला ‘देब्रे’ !

प्रतिनिधि सभाका १२८ सिटमा यी हुन् बाम, काँग्रेस र राजपा/फोरम गठबन्धनका उम्मेदवारहरु

प्रमुख दलका ‘हेभीवेट’ नेताले यसरी गरे उम्मेदवारी दर्ता

उपेन्द्र यादवले किन सार्वजनिक गर्न लगाए आफ्नो नागरिकता ?

भारतीय दूतावासले धेरै कोशिष गर्दा पनि किन बनेन लोकतान्त्रिक गठबन्धन ?

यस्तो छ बामगठबन्धनको संयुक्त निर्वाचन घोषणापत्र (पूर्णपाठ)

अन्ततः हुने नै भयो राजेन्द्र महतो र विमलेन्द्र निधिबीच चुनावी टक्कर

झापा ३ को अंकगणित : सिटौला र लिङदेनको मतान्तर २३ हजार !

केपी ओलीको गृहजिल्ला झापाको यस्तो छ चुनावी अंकगणित

यी हुन् प्रत्यक्षमा लड्ने माओवादी केन्द्रका प्रतिनिधिसभाको ५९ जना र प्रदेशसभाकालागि ९७ अनुहार (हेर्नुहोस् नामावलीसहित)

दोस्रो चरणमा प्रदेश नं. १ का ४ जिल्लामा यस्तो छ दलहरूको अवस्था

प्रदेश नम्बर ४ का ६ जिल्लामा यस्तो हुँदैछ चुनावी टक्कर (स्थानीय तहमा प्राप्त मतसहित)

प्रदेश नम्बर १ को ७ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

सिन्धुपाल्चोकमा मोहन बस्नेत र अग्नि सापकोटाबीच यस्तो हुँदैछ भीडन्त, पशुपति शमशेरलाई कति खतरा ?

दुई वटा गठबन्धनबीच चुनाव भए यस्तो हुनेछ टक्कर

यी हुन् धेरै मतदाता भएका १० जिल्ला, जहाँबाट आउनेछन् प्रतिनिधिसभामा ५० सांसद

१ नम्बर प्रदेशमा यस्तो छ भोटको अङ्कगणित : वाम दललाई रोक्न काङ्ग्रेसलाई कठिन

प्रदेश नं. ७ को चुनावी अंकगणित : काङ्ग्रेस अगाडि तर बामदलको गठजोडमा १ लाख ७० हजार मतले पछाडि

प्रदेश नम्बर ६ को शक्ति सन्तुलन : बाम दलको ६० प्रतिशत भोट, काङ्ग्रेसलाई ठूलै चुनौति

प्रदेश नं. ४ मा वाम दल काङ्ग्रेसभन्दा ७४ हजार १ सय ४८ मतले अगाडि : मिश्रित नतिजा आउने यस्तो छ सङ्केत

प्रदेश नम्वर ३ का ६ जिल्लामा यस्तो हुन सक्छ चुनावी भीडन्त (स्थानीय तहको मतसहित)

वागीले उम्मेदवारी फिर्ता नलिए यस्तो ‘एक्सन’को तयारीमा एमाले-माओवादी

प्रतिनिधि र प्रदेश सभामा ८ सय ७ को उम्मेदवारी, यी हुन् बाम गठबन्धन र काँग्रेस गठबन्धनका २२२ उम्मेदवार

प्रदेश नं. ५ का दुई जिल्लामा कस्तो होला चुनावी भिडन्त ? (स्थानीय तहको मतसहित)

प्रदेश नम्बर ६ का ७ जिल्लामा यस्तो हुँदैछ पूर्वमन्त्री र पूर्व सांसद्हरूको भिडन्त (स्थानीय तहको मतसहित)

प्रदेश नं. ७ का ४ जिल्लामा यस्तो हुनसक्छ दलहरूको चुनावी प्रतिष्पर्धा (स्थानीय तहको मतसहित)

पहिलो चरणको चुनाव : प्रतिनीधिसभाका यी १८ क्षेत्रमा छ १० हजार बढी मतको फरक

पाँच हजार बढी मतसहित बामगठबन्धन यी निर्वाचन क्षेत्रमा अगाडि

१११ प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि ७०२ को  भिडन्त

पहिलो चरणमा निर्वाचन हुने प्रतिनिधिसभाका ३७ क्षेत्रमा काँग्रेसमाथि ठूलो दवाव (यस्तो छ मतको अंकगणित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप