बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यसकारण नयाँ शक्ति नै वैकल्पिक शक्ति

आइतबार, ११ असार २०७४, ११ : २६
आइतबार, ११ असार २०७४

नेपाली राजनीतिमा वैकल्पिक शक्तिको चर्चा चुलिरहेको छ । तर यसको बहस जसरी भइरहेको छ, त्यो सतही भइरहेको पाइन्छ । गहिराइमा प्रवेश गर्न सकिरहेको छैन । मूलतः यसबारे सतही तर्क–वितर्कसमेत छाडेर निराधार गाली–गलौज र आरोप–प्रत्यारोपमा सबैले समय बर्बाद गरिरहेको देखिन्छ । यसले नेपाली समाज चेतनाको कुन स्तर बोकेर हिँडिरहेको छ भन्ने सङ्केत गर्दछ । यो दुःखद कुरा हो । वैकल्पिक शक्ति निर्माणको निम्ति थुप्रैको ओठे प्रतिबद्धता र लिखित दस्तावेज तयार भइरहेका छन् । विकल्पको शक्ति सबैको रुप उस्तै–उस्तै देखिए पनि सारमा यसले दुई फरक धारको प्रतिनिधित्व गर्न गइरहेको पाइन्छ । 


एउटा धार सबै परिवर्तनका इतिहासलाई ताल्चा ठोकेर प्रतिगमनलाई आत्मसात गर्न आतुर छ । जसले ‘हिजो राजा भएर देश विकास नभएको हो र ?’ भन्ने तर्कसमेत पेश गर्न थालिसकेको पाइन्छ । सहभागितामूलक लोकतन्त्रको सुगा रटान लगाएर जनता दिग्भ्रमित बनाउन कम्मर कसिरहेका छन् । अर्थतन्त्र उद्वेलित पार्ने नाममा समृद्ध नेपालको सपना भताभुङ्ग पार्न सञ्चालित छन् । जो, सफल हुनेछैन । अर्को धार परिवर्तनलाई आत्मसात गर्दै समृद्ध नेपाल निर्माणमा अहोरात्र खटिरहेका छन् । जसको नेतृत्व नयाँशक्ति पार्टी नेपालले गरिरहेको देखिन्छ । वैकल्पिक शक्ति निर्माण हुन योग्य आफ्ना पन्ध्र आधारहरु नयाँ शक्तिले निम्नानुसार पेश गरेको छः

१. नयाँ शक्ति नै किन ?
जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलन लगायत सत्तरी वर्षको लामो सङ्घर्षपछि हामीले लोकतान्त्रिक क्रान्ति मूलतः पूरा गरेका छौँ । अबको पालो आर्थिक क्रान्तिको हो । तर हालका राजनीतिक दलहरु र उनीहरुको नेतृत्व वा गठबन्धनमा बन्ने सरकारले राजनीतिलाई जनसेवी बनाउने र तीव्र आर्थिक क्रान्ति गर्ने कुनै सम्भावना छैन । राजनीति जनसेवी नहुने वित्तिकै राज्यका स्थायी संरचना समावेशी, सहभागितामूलक र जनताप्रति जवाफदेही रहने सम्भावना हुन्न । त्यसको अभावमा समावेशी विकास सम्भव हुँदैन । यस्तो स्थायी सङ्कटबाट निस्कन नेपाली राजनीतिमा नयाँ शक्तिको ऐतिहासिक आवश्यकता खट्किएको छ । नयाँ शक्तिले मात्र राजनीतिलाई जनसेवी बनाउँदै समावेशी विकासको बाटो खोल्न सक्छ । नयाँ शक्तिले मात्र नेपाली समाजको विविधतालाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सही गति दिन सक्छ । नयाँ विचार, नयाँ कार्यदशा, नयाँ सङ्गठन, नयाँ नेतृत्व र नयाँ कार्यशैलीसहितको नयाँ शक्तिले मात्र नयाँ युगको नयाँ कार्यभार पूरा गर्न सक्छ ।

२. नयाँ शक्तिको वैचारिक आधार के ?
भौतिक जगतलाई प्रधान मान्ने र संसारका सबै वस्तुलाई निरन्तर गतिशीलता र परिवर्तनशीलतामा बुझ्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तन प्रणाली नयाँ शक्तिको मुख्य वैचारिक आधार हो । चलन–चल्तीको माक्र्सवादी प्रणालीलाई परिष्कृत गर्दै नेपाली परिवेश, सामाजिक विविधता र ऐतिहासिक आवश्यकता अनुसार प्रयोग र विकास गर्न जरुरी छ । नयाँ शक्तिले त्यसैको आधारमा वैकल्पिक आर्थिक ढाँचाका विकल्पहरु पहिल्याउने छ । यसले श्रम र पुँजीको सम्मान गर्ने विधि र पद्धतिको विकास गर्छ । नयाँ शक्तिले समावेशी, समानुपातिक र सहभागितामूलक लोकतन्त्रलाई अभ्यास र प्रवद्र्धन गर्नेछ ।
३. नयाँ शक्तिको राजनीतिक कार्यदिशा के ?
प्रारम्भमा सामाजिक न्यायसहितको राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्दै समुन्नत समाजवादको निर्माण गर्नु नयाँ शक्तिको मुख्य राजनीतिक कार्यदिशा हो । सडक, सदन र सरकारका मोर्चाबाट आवश्यक गतिविधि र सङ्घर्ष मार्फत सो लक्ष्य प्राप्त गर्ने प्रयत्न हुनेछ । व्यापक सार्वजनिक बहस र नेपालको ठोस परिस्थितिको ठोस विश्लेषणका आधारमा राजनीतिक कार्यदिशाको टुङ्गो लगाइनेछ ।

४. नयाँ शक्तिको जनआधार के ?
वृहद् श्रमजीवी समुदायको आधारभूत सरोकार, उदीयमान मध्यम वर्गको आकाङ्क्षा र राष्ट्रिय पुँजीपति वर्गको जायज हितको सम्बोधनमा नयाँ शक्तिको जनआधार टिकेको छ । श्रम र पुँजीको आवश्यक संयोजन गर्दै दुवै पक्षलाई सम्मान गर्ने अभ्यासले नयाँ शक्तिको जनआधारलाई नयाँ उचाइ प्रदान गर्छ । साथै जातीय, क्षेत्रीय, लैङ्गिक र जातपातजन्य लगायतका अन्य विभेद र उत्पीडनमा परेका समुदाय नयाँ शक्तिका महत्वपूर्ण आधार हुनेछन् ।

५. नयाँ शक्तिको सङ्गठनात्मक संरचना कस्तो ?
पुराना शक्तिको सङ्गठन अति–केन्द्रकृत र व्यक्तिवादी भएकाले राजनीतिक जनसरोकारका आवश्यकता र आकाङ्क्षादेखि विमुख भयो । एउटै संगठनमा समेत शीर्ष नेतृत्व र तल्लो तप्काका कार्यकर्ता एकअर्काबाट विमुख भए । विगतका गल्ती र कमी–कमजोरीबाट सिक्दै नयाँ शक्ति निर्माण अभियानले सुरुदेखि नै नयाँ सङ्गठनात्मक संरचना बनाउने छ । सो अभियानले त्यस्तो पद्धतिको विकास गर्नेछ जसले अति–केन्द्रीकरणलाई नकारोस्, सामूहिक नेतृत्व विकास हुने आधार तय गरोस् र नेता–कार्यकर्ता–जनताबीचको दूरीलाई उच–निचको कसीबाट नहेरोस् । मूलतः आन्तरिक लोकतन्त्रलाई प्रवद्र्धन गर्ने र फरक मतलाई संस्थागत रुपमा सम्बोधन गर्ने सङ्गठनात्मक विधिले महत्व पाउनेछ । सङ्गठनका सबै तहमा श्रमिक वर्ग, उत्पीडित जाति र क्षेत्र, महिला, दलितको समावेशी समानुपातिक प्रतिनिधित्वमा जोड दिइनेछ ।
६. नयाँ शक्तिको नेतृत्व प्रणाली कस्तो ?
नयाँ शक्तिको गठन प्रक्रिया नै पृथक भएकाले नेतृत्व विकास गर्ने भिन्न आधार सुरुदेखि नै रहने छ । सबै तहको नेतृत्व खुला निर्वाचनबाट चयन गरिनेछ । शीर्ष नेतृत्वले दुई कार्यकालसम्म मात्र सङ्गठनको नेतृत्व गर्नेछ । सो अवधिमा सामुदायिक नेतृत्वको विकास र प्रवद्र्धन गरिने छ, जसले नेतृत्व हस्तान्तरणलाई संस्थागत गर्न सहज हुनेछ । निर्वाचित नेतृत्वले गलत आचरण गरेमा उसलाई फिर्ता बोलाउने प्रणाली सुनिश्चित गरिनेछ ।
७. नयाँ शक्तिमा युवाको भूमिका के हुने ?
नयाँ शक्तिको चालकशक्ति नै युवा समूह हुनेछ । यसको निर्माण प्रक्रियादेखि नै युवाहरु अत्यधिक मात्रामा र नीति निर्माणमा निर्णायक भूमिकामा हुनेछन् । केन्द्रदेखि तलसम्मका सबै कमिटीहरुमा समावेशी समानुपातिक आधारमा युवाहरुको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।
८. नयाँ शक्तिको कार्यशैली कस्तो ?
नयाँ शक्ति निर्माण अभियान आफैंमा नयाँ प्रयोग हो । यसले सुरुदेखि नै सबै प्रक्रियामा व्यापक सहभागितामा जोड दिँदै आएको छ । प्रारम्भिक चरणदेखि नै आर्थिक कारोवार र निर्णय पद्धतिलाई समेत पारदर्शी राखिनेछ । नयाँ विचार र नयाँ विकल्पको खोजी गर्ने क्रममा नयाँ शक्तिले विधिको शासन र जवाफदेही कार्यशैलीलाई संस्थागत गर्नेछ । समतामूलक र उन्नत संस्कृतिलाई प्रवद्र्धन गरिनेछ । भ्रष्टाचारजन्य गतिविधिलाई कडाइपूर्वक नियन्त्रण गरिनेछ । सबैको सम्पत्ति विवरण आवधिक र पारदर्शी बनाइनेछ । नयाँ शक्तिले राजनीतिलाई व्यवसाय होइन, स्वेच्छिक सेवाको रुपमा स्थापित गर्नेछ ।
९. नयाँ शक्ति जनताको दैनिकीसँग कसरी जोडिन्छ ?
पुराना शक्तिहरु आम जनताको जीवनका दैनिकीदेखि धेरै विमुख छन् । नयाँ शक्तिले निरन्तर जनतासँग जोडिने र उनीहरुका रोजगारी, शिक्षा, स्वास्थ्य, गास, बास र कपासको आधारभूत आवश्यकतालाई हल गर्ने जनमुखी राजनीति गर्नेछ । जनता र राज्यका अङ्गहरुको बीचमा नयाँ शक्तिले पुलको काम गर्नेछ । स्वेच्छिक श्रम परिचालन गरेर स्थानीय विकास–निर्माण र सामाजिक र सांस्कृतिक रुपान्तरण अभियान सञ्चालन गर्नेछ ।
१०. नयाँ शक्तिको कार्यकर्ता व्यवस्थापन कसरी हुन्छ ?
नयाँ शक्ति एउटा पार्टी मात्र नभएर एउटा विशाल र दीर्घकालीन अभियान र आन्दोलन पनि हो, जसका लागि लाखौँ स्वयंसेवी नेता र कार्यकर्ताको अविरल प्रवाह आवश्यकता पर्दछ । पुरानो शक्तिमा झैँ नयाँ शक्तिमा नेता र कार्यकर्ताबीच श्रेणीगत विभेद हुनेछैन । खालि श्रमविभाजन मात्र हुनेछ । साथै पुरानो शक्तिमा झैँ ‘जागिरे’ र ‘व्यवसायी’ मानसिकता नभएर स्वयंसेवी चरित्र र भाव हुनेछ । त्यसैले केही पूर्णकालीन नेता र कार्यकताबाहेक अधिकांश नेतारकार्यकर्ता अंशकालीन स्वयंसेवक हुनेछन्, जो उत्पादन कार्य वा व्यवसायमा जोडिएका हुन्छन् । अतः नयाँ शक्तिले नेता र कार्यकर्ता व्यवस्थापनको खुला र पारदर्शी विशिष्ट नीति तय गर्नुपर्दछ ।
११. सहिद तथा बेपत्ताका परिवार र घाइतेबारे के हुन्छ ?
यो नयाँ युग परिवर्तन विगतको जनयुद्ध, जनआन्दोलन, मधेस आन्दोलन, थरुहट आन्दोलन, जनजाति आन्दोलनलगायत विभिन्न आन्दोलनको योगफल स्वरुप भएकाले ती सबै आन्दोलनका सहिद तथा बेपत्ताका परिवार र घाइतेहरुको व्यवस्थापन र सुरक्षाको नैतिक जिम्मेवारी नयाँ शक्तिले लिनुपर्छ र त्यसका निम्ति पार्टी र मूलतः राज्यबाट लागू गर्ने गरी विशेष योजना र कार्यक्रम बनाउनुपर्दछ ।
१२. नयाँ शक्तिको आर्थिक विकासको ढाँचा कस्तो ?
नयाँ शक्तिले विज्ञहरु र निजी क्षेत्र समेतको सहभागितामा तत्कालीन, अल्पकालीन र दीर्घकालीन आर्थिक विकासको योजना निर्माण गरी सार्वजनिक गर्नेछ । अर्थतन्त्रको वैकल्पिक आधारहरु निर्माण गर्दा रोजगारीसहितको आर्थिक वृद्धि र समावेशी विकासलाई अर्थतन्त्रको मेरुदण्ड बनाउनेछ । नयाँ शक्तिको आर्थिक ढाँचाले पुनर्वितरणसहितको आर्थिक समृद्धिलाई केन्द्रमा राख्नेछ । युवा बेरोजगारीको अन्त्यलाई उच्चतम प्राथमिकता दिइनेछ । नयाँ आर्थिक ढाँचा पर्यावरणमैत्री समेत हुनेछ । विदेशी परनिर्भरताको अन्त्य गर्न तुलनात्मक लाभका क्षेत्रहरु (जलस्रोत, पर्यटन, कृषि इत्यादी) को विकास गरी अन्तरनिर्भर अर्थतन्त्र निर्माण गरिनेछ । चीन र भारत जस्ता ठूला अर्थतन्त्र र बजारको समुचित लाभ लिने गरी लगानी, व्यापार र विकास नीति तय गरिनेछ ।

१३. राष्ट्रियताबारे नयाँ शक्ति के भन्छ ?
नयाँ शक्तिले खोक्रो नक्कली राष्ट्रवाद होइन, प्रगतिशील राष्ट्रियताको पक्षपोषण गर्छ । त्यसका निम्ति नेपाललाई दुई ठूला छिमेकी चीन र भारतबीच ‘दुई ढुङ्गाबीचको तरुल’ होइन ‘गतिशील पुल’ बनाउने नीति लिनुपर्छ । साथै देशभित्रको आन्तरिक राष्ट्रिय एकता बलियो पार्ने र आर्थिक रुपले समृद्ध बनेर विदेशी परनिर्भरता र प्रभुत्व अन्त्य गर्ने नीति अनुसरण गर्नुपर्छ । सबै देशसँग पञ्चशीलको आधारमा मैत्रीपूर्ण सम्बन्ध कायम गरेर राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्नुपर्छ ।

१४. नयाँ शक्ति कसरी बन्छ ?
नयाँ शक्ति बन्ने प्रक्रिया पनि ‘नयाँ’ हुनुपर्दछ र हुन्छ । नयाँ शक्ति हिजोका पुरानै शक्तिको परिवर्तित रुप वा त्यसको एउटा टुक्रा नभएर विभिन्न पृष्ठभूमिबाट आएका तर एउटै नयाँ विचार, नयाँ कार्यदिशा, नयाँ सङ्गठन र नयाँ शैलीमा आबद्ध व्यक्तिहरुको सङ्गठित रुप हो । त्यसैले यसमा पुराना शक्तिहरुबाट आएका र कुनै पनि शक्ति वा सङ्गठनमा नलागेका व्यक्तिहरु र विशेषतः युवाहरुको संलग्नता हुन्छ । यसैलाई दृष्टिगत गर्दै र सहभागितामूलक ढङ्गले नयाँ शक्ति निर्माण गर्ने नयाँ प्रक्रिया अपनाउँदै सुरुमा केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय तहसम्म व्यापक अभियान र बहस चलाएर निश्चित अवधिपछि नयाँ शक्तिलाई राजनीतिक पार्टीको रुपमा संस्थागत गरिनेछ ।
१५. तपाईंले के गर्न सक्नुहुन्छ ?
तपाईंको हातमा यतिबेला इतिहासको अत्यन्त ठूलो जिम्मेवारी छ । एक्काइसौं शताब्दीमा पनि विकासको पिँधमा रहेको नेपाललाई केही दशकभित्र विकास र समृद्धिको कमसेकम विद्यमान औसत अन्तर्राष्ट्रिय स्तरमा पुर्याएर समुन्नत समाजवादको दिशामा अघि बढाउने गौरवशाली जिम्मा तपाईं हाम्रो हातमा छ । त्यसैले आउनोस्, यो नयाँ शक्ति निर्माण अभियानमा सक्रिय सहभागी बनौं ! घरघरमा, टोलटोलमा, गाउँमा, सहरमा, क्याम्पसमा, फ्याक्ट्रीमा, कार्यालयमा, देशमा र विदेशमा अर्थात हामी जहाँ–जहाँ छौँ, त्यहाँ नयाँ शक्तिबारे बहस छलफल गरौँ, प्रचार गरौँ, सुझाव दिउँ, सदस्य बनौँ, अभियन्ता बनौँ । समृद्ध नयाँ नेपाल आफ्नै जीवनकालमा निर्माण गरौँ ।
माथि उल्लेखित सबै हेरिसकेपछि वैकल्पिक शक्ति निर्माण हुनसक्ने बलियो आधारहरु भेट्न सकिन्छ । तत्काल भइरहेको स्थानीय तह निर्वाचनमा यसले पेश गरेको ठोस आर्थिक मोडेल, समृद्धिको मार्गचित्र साँच्चै लोभलाग्दा र सरलीकृत छन् । जो, सबैले साथ दिए ‘सम्भव छ समृद्धि हाम्रै पालामा’ भन्ने सपना सहजै साकार हुने देखिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मिलनकान्छा किराँती
मिलनकान्छा किराँती
लेखकबाट थप