शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोट किनबेच हुनसक्छ चनाखो हुनुस्ः गृहमन्त्री

आइतबार, ११ असार २०७४, १२ : ०७
आइतबार, ११ असार २०७४

 
दाङ –गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले चुनावमा जनताको मत किनबेच हुन सक्ने भन्दै निगरानी गर्न मतदाताहरुलाई आग्रह गरेका छन् । 
उनले शान्ति सुरक्षा सुदृढ बनाइएकाले ढुक्क भएर निर्वाचनमा सहभागी हुन र मतदान गर्न आग्रह पनि गरे ।
 
आइतबार बिहान दाङको राप्ती गाउँपालिका–१ मा आयोजित कार्यक्रममा शर्माले भने, ‘चुनावमा जनताको मत किनबेच हुनसक्छ चनाखो हुनुहोला र कुनै डर नमानी भोट हाल्नुहोला ।’
 
 
माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्मा बिभिन्न चुनावी सभामा सहभागी हुन आइतबार दाङ आएका छन् । उनको पहिलो सभा लालमटियाबाट सुरु भएको छ ।
 
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले माओवादी उम्मेदवारहरु विजयी भएमा शासक नभई जनताको कामदारको रुपमा काम गर्ने बताए । उनले झूठा आश्वास नदिने बरु काम गरेर देखाउने बताए ।
 
‘हाम्रा उम्मेदवारहरु जनताको मन जितेर अघि बढ्छन् । आश्वासन बाँड्दैनन्,’ मन्त्री शर्माले भने, ‘हामी हाम्रा उम्मेदवारलाई शासक बन्न दिँदैनौं उनीहरुले जनताको कामदारको रुपमा काम गर्नेछन् ।’
 
जनयुद्धकालमा आफूहरुलाई जनताले खाना खुवाएर र प्रहरी प्रशासनबाट जोगाएर राखेको स्मरण गर्दै मन्त्री शर्माले अहिले आफूहरुले जनतालाई अधिकार सम्पन्न गराएर गुन तिरेको टिप्पणी गरे । माओवादीकै पहलमा जारी भएको संविधानमा २२ वटा मौलिक अधिकार उल्लेख भएको भन्दै उनले त्याग र बलिदानबाट प्राप्त ति अधिकारहरुलाई चुनावमार्फत कार्यान्वयन गर्दै अघि बढ्ने बताए ।
 
‘हामी जनताको निर्वाचित सरकार निर्माण गर्दै संविधान निर्माण प्रक्रियामा छौं । संविधान धारामामात्र लेखिएका अधिकार कार्यान्वयनको चरणमा छौं,’ मन्त्री शर्माले भने, ‘लाखौं जनतालाई आन्दोलनमा उतारेर प्राप्त भएको अधिकार हो यो । हिजो जनताका भात र रोटी खायौं आज अधिकार सम्पन्न बनाएका छौं ।’
 
देश २० वर्षदेखि माओवादीको एजेण्डामा अघि बढेको भन्दै उनले आफूहरुले जनता र राष्ट्रलाई कहिल्यै धोका नदिएको दाबी गरे । विगतमा बनेका कांग्रेस–एमालेका सरकारहरुले जनतालाई माओवादीले जति अधिकार दिन नसकेको मन्त्री शर्माले बताए ।
 
विगतमा जनताको अधिकारको विषयमा मुख नखोल्नेहरु अहिले अंशियार बनेर आएको भन्दै मन्त्री शर्माले प्रश्न गरे, ‘पटक–पटक सरकारमा बसेकाहरुले के गरे ? थारुको नारा लिएर अंशियारहरु आएका छन् । उनीहरु हिँजो कहाँ थिए ?’
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप