अग्निपरीक्षाको कसीमा जनता

person access_timeकात्तिक २४, २०७४ chat_bubble_outline0


बीबी श्रेष्ठ

लोकतान्त्रिक गणतन्त्रको निर्माणपछि बनेको नयाँ सविधानको कार्यन्वयनको पहिलो चरण देशभरि नै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । अहिले संविधान कार्यान्वयनको मुख्य पक्ष रहेको प्रद्रेश सभा तथा प्रतिनिधि सभाको निर्वाचनको सम्मुखमा देश छ । निर्वाचनको यस घडीमा विभिन्न राजनीतिक पार्टीहरूले आआफ्ना घोषणापत्र मार्फत देश विकास र जनताको जीवनस्तर उकास्ने प्रतिबद्धतासहित जनतासँग भोट माग्न तल्लीन रहेका छन् । देश र जनताका लागि यो समय भनेको महत्वपूर्ण समय र अवसर पनि हो । कस्तो नेतृत्व र किन चुन्ने भन्ने विषयले यो बेलामा प्रश्रय पाउनुपर्छ । हिजोको संसदीय व्यवस्था होस् वा अन्य व्यवस्थामा राजनीतिक दलका नेताहरूले खेलेका भूमिकाको समीक्षा हुन आवश्यक पर्छ । फेरि पनि हामीले यसबारेमा समान्य छलफलसम्म पनि चलाएनौँ भने पुनः नेतालाई गाली गर्दै आफ्नो भविष्य अन्धकारमा धकेल्नुको विकल्प छैन । बाजेदेखि नातिपनातिसम्मको रगत एउटै हो र मेरो पनि यही पार्टीको रगत बगेको छ भन्नु भनेको भयङ्कर कमजोरी र मूर्खता शिवाय केही हुन सक्दैन । एक्काइसौँ शताब्दीको यो प्रविधिको युगमा पनि त्यही खोक्रो आडम्बरमा बग्ने हो भने लामो समयसम्म विकास र आर्थिक समृद्धिमा धेरै पछाडि पर्ने कुरामा कुनै सन्देह छैन । 
    राजनीतिक दलहरूको घोषणापत्रमा सबै देश र जनताका लागि भन्ने वाक्यांश अधिकांशमा रहेको हुन्छ । आर्थिक समृद्धि, विकास, शिक्षा, स्वास्थ्य, रोजगारको यो नारा सुनेको शताब्दी नै हुन लागि सक्यो । तर यसको व्यावहारिक कार्यन्वन कति भयो ? हिजो जितेर शासनको बागडोर सम्हालेका राजनीतिक दल र त्यसमा आबद्ध व्यक्तिहरूले हिजो भएको चुनावमा गरेका प्रतिबद्धता कति पूरा गरे, देश र जनता तथा स्थानीय तहमा उनीहरूले कस्तो भूमिका खेले भन्ने कुराले यो समयमा अवश्य पनि स्थान पाउनैपर्छ । हैन भने बाँचुन्जेल सधैँ मलाई अवसर दिनोस्, म यो क्षेत्रको विकास गर्छु, आर्थिक क्रान्ति गर्छु भन्ने तर सरकार र शक्तिमा हुँदासमेत केही नगर्ने परिपाटीका बीचमा रहेको नेपालको राजनीति पुनः त्यसैको निरन्तरतामा बग्ने त हैन, शङ्काको विषय बनेको छ । नेपालमा क्रियाशील रहेको नेपाली काङ्ग्रेस होस् वा एमाले, माओवादी होस् वा मधेस केन्द्रित राजनीतिक दल हिजोको जुनसुकै चुनावमा गरेको प्रतिबद्धता कति पूरा गरे । राष्ट्रिय राजनीति होस् वा स्थानीय तहमा त्यसको कुनै लेखाजोखा नगरी केवल पार्टीको ह्विप भन्दै गरिएको हाम्रो महत्वपूर्ण मतदानले हामीलाई सधैँ सामन्तवादको निरन्तरता शिवाय केही दिन सक्दैन । कुनै पनि राजनीतिक पार्टी र त्यसमा आबद्ध नेताको कार्यक्षमता, जनताप्रति उत्तरदायित्व र खेल्ने भूमिका निश्चित वर्षपछि स्वतः थाहा हुने गर्छ । कसको योग्यता र दक्षताको कसी नाप्नका लागि जीवनभर नै परीक्षा लिइरहनु पर्दैन । यो सर्वमान्य सिद्धान्तलाई समेत अवलम्बन गर्न नसक्ने हामी जनताले पुनः पटक पटक पार्टीका नाममा निरन्तरता दिनु भनेको न्यायसम्मत हँुदैन । किनकि कुनै पनि व्यक्तिको मापन निश्चित समयपछि स्वत गर्न सकिन्छ । नेपालका राजनीतिक इतिहासलाई नियाल्ने हो भने व्यक्तिको तुलना कतै पनि गरेको पाइँदैन । अन्धविश्वासमा नै नेपालको राजनीति दौडिरहेको छ । निश्चित समयमा आफ्नो विचार र मतदान गर्न नसक्ने अनि भोलिका दिनमा नेता र राजनीतिलाई गाली गर्नेहरूको लामो पंक्ति देशभित्र मात्र होइन, देशबाहिर पनि बेग्रल्ती पाइन्छ । देश र समाज निर्माण गर्ने जिम्मा राजनीतिक दल र नेताहरूको मात्र होइन, दुरदराज हरेक ठाउँको जनताको पनि समान दायित्व हो भन्ने समान्य हेक्कासमेत नराख्दा नै आज हामी यति धेरै वैचारिक तथा आर्थिक दरिद्रतामा फसिरहेका छौँ । 
    साझा पार्टीका संयोजक रवीन्द्र मिश्रज्यूले भनेझैँ हामी रेस्टुरेन्टमा जान्छौँ, मेनु हेर्छौँ अनि अन्त्यमा मःमः अथवा चाउमिन अर्डर गर्दछौँ भनेझै नयाँपनमा विश्वास नगर्ने अन्त्यमा के गर्ने त व्यक्तिभन्दा पार्टी ठूलो रहेछ भन्ने पुनः त्यही पार्टीमा मतदान गर्ने परिपाटी नै हामीमा भएको सबैभन्दा ठूलो कमजोरी हो । नेताहरूले हिजोको चुनावमा दिएको आश्वासन कति पूरा गरे, त्यसको समान्य ख्याल पनि नराखी पुनः त्यही नेताको पछाडि लाग्नु भनेको परनिर्भरता शिवाय केही हुन सक्दैन । हरेक राजनीतिक दल र तिनका नेताको हिजोको भूमिका कस्तो रह्यो भन्ने कुराको समीक्षा अब गर्न चुक्नु हँुदैन । फेरि पनि नयाँ बोतलमा पुरानो रक्सी भरेर आइरहेको सन्दर्भमा त्यसलाई चिर्न र यथार्थसम्मत जान्नु नै अहिलेको आवश्यकता हो । विशेष गरेर यसको मूल्याङ्कन युवापुस्ताले गर्दै त्यसको नेतृत्व पनि गर्नसक्नुपर्दछ । 
    राजनीतिक पार्टीहरूको मुख्य ध्येय भनेको नै जनतामा भ्रम सिर्जना गरेर सरकार र सत्तामा पुग्नु हो । नेताहरूको गुण भनेको दुई चार जना आसेपासेलाई आर्थिक लाभ दिएर गुलामी गर्न लगाएर जनतामा आफ्नो जयजकार गर्न लगाउनु हो । चुनावको सम्मुखमा जनतालाई ललिपप देखाएर वैधानिक अधिनायकवाद लाद्न उन्मुख हुनु हो । जसलाई हामी नेपाली जनताले मलजल गरिरहेका छौँ । क्षणिक स्वार्थमा हामी विकाउ भएर जयजकार गरिरहेका छौँ । यो नै हाम्रो सबैभन्दा घातक पक्ष हो ।  त्योभन्दा माथि सोचेर गर्न सक्नका लागि व्यक्तिमा चेतना, क्षमता र देशप्रतिको उत्तरदायित्व हुनुपर्दछ । जुन अहिलेको नेताहरूमा छैन । सधैँ सत्ता र सरकारका लागि जस्तो सुकै हत्कण्डा अपनाउन पछि नपर्ने नेताको जयजकारले अन्तत देश र जनता सधैँ अधोगतितर्फ मात्र उन्मुख रहन्छ । खोक्रो आश्वासन को पछाडि लाग्ने तर यथार्थमा अडिन नसक्ने हाम्रो चिन्तन नै सामन्ती छ । विपक्षी पार्टीको नेताका राम्रो काम पनि राम्रो भन्न नसक्ने तर आफ्नो पार्टीको नेताको नराम्रो काम पनि राम्रो भन्ने र जनतामा भ्रम छर्ने भनेको आफ्नै खुट्टामा  बन्चरो हान्नु शिवाय केही हुँदैन । समाज र व्यक्ति केवल आफू मात्र होइन भन्ने चिन्तन गर्न नसक्नेहरू समाजमा समाजसेवीको नाममा बेग्रल्ती पाइन्छन् । जुन समाज र देशका भाइरस हुन् । जसले आफू व्यक्ति बन्ने ध्येयमा आफ्नो सन्ततीको भविष्य अन्धकार बनाइरहेका छन् । 
    चुनावको सम्मुखमा देशमा महँगीले ह्वात्तै छोपेको छ । यसको मुख्य कारण के हो । भष्ट्राचार र कालोबजारीको सिर्जना कसले गरिदियो । यसको समान्य भेउसमेत हामी पाउन सक्दैनौँ । चुनाव जित्नका लागि जे पनि गर्न सक्ने नेताहरूको यो अभिष्ट जबसम्म हामी चिर्न सक्दैनौँ तबसम्म नेताको चाकरी र गुलामी हाम्रो पहिलो प्राथमिकता हुनेछ । प्रतिनिधि सभाको यो निर्वाचनको सम्मुखमा हामीले यथार्थ धरातलमा टेकेर विवेक पुर्याउनुपर्ने अहिलेको चरम आवश्यकता हो । जुन जोगी आए पनि कानै चिरेको भन्न सक्ने हामी जनता जोगीविहीनताको समाज निर्माणमा ध्यान दिने कहिले ? जनताको यो अग्निपरीक्षा सुरु भएको  छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ