शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कथा: लाहुरे दाइ

शनिबार, २५ कात्तिक २०७४, ०९ : १३
शनिबार, २५ कात्तिक २०७४

-सन्तोष रोकाया   

नरोऊ जानु म छिट्टै आछु नि अनि हाम्रा सुन्दर सपनाहरू सँगै साकार गरौँला, नरोऊ है । मल्लो घरको काकालाई मङ्सिर  लगाइदिनु भनेको छु । आमालाई सघाउनु, छिमेकीको प्यारी बन्नु, हुन्छ है ? म जान्छु ल जुनु ?

यसरी आफ्ना मुहारबिन्दुबाट  यी कोमल शब्दहरू उफार्दै भारत हानिएका थिए दिले दाइ । जानु भाउजुले भने आफूसँग शब्द भण्डार नै नभए जसरी घँुक्कघँुक्क रुँदै आफ्ना हातका दस औँला दिले दाइको  पाउमा विसार्दै ढोग्दै पछारिएकी थिइन् । 

९ वर्षको छँदा बुबालाई गुमाउन पुगेको दिले दाइको आफ्नो भन्ने आमा, मल्लोघरको काका र जानु मात्रै छन् क्यारे । बालापनमै बाबा गुमाएको दिले दाइको सबै काम उसकै काँधमा थुपारियो । स्कुलमा सबैको प्यारो दिले ४ कलासमै विद्यालय छोड्न बाध्य भयो । 

 खेतीपाती लगाउने, खनजोत गर्ने, मेलापात जाने सबै काम उसले सानै उमेरमा आमासँगै सिक्यो । दिन बित्दै गए अब त  दिले दाइ पनि १८ वर्षको भइसक्यो । आमाले उसलाई बाबु अब तँ पनि ठूलो भइसकिस् । मेरो पनि दिनहरू डुब्न लागेको घामझैँ हुँदैछन् । अब त एउटा बुहारी नखोजी भएन । घरमा काम गर्ने पनि त चाहियो, हैन त छोरो ?

दिलेले पनि आमाको वचनलाई अस्विकार गर्न नसकी मथ्लोघरको काकासँग आमाले भनेको सबै कुरा राख्यो । काकाले पनि सहमति जनाउँदै आफ्नो ससुराली गाउँको अमरको छोरी जानु भन्ने केटी छ । सोझी छ अनि असाध्यै दुंख पाएकी, सानैमा आमा बित्नु भो रे । घरमा बुवा भाइ र ऊ मात्रै छन् रे । उसैको कुरा गरे कसो होला । काका हजुरले भनेपछि म किन नाइँनास्ती गरुँला र ? हुन्छ, कुरा गर्नु म राजी छु । यसरी नै दिले दाइको जानु भाउजूसँग लगन जुरेको थियो र पछि विवाह हुन पुग्यो । 


विवाह भएको ३ महिनामै दिले दाइ भारततिर हानियो । गरिब परिवारको दिले गाडी भाडा र बाटा खर्च जसोतसो मिलाएर घर छोड्यो । दिले दाइसँगै एसएलसी उत्तीर्ण गर्न नसकेका पल्लो गाउँका मुखियाका नाती धने र व्यापारी भनेर चिनिने वीरेको छोरा शैलेस पनि सँगै लागे । 

कमाउन भनेर भारत लागेको दिले गाँजा तस्करीको अभियुक्त भनेर कञ्चनपुर गड्डाचौकी नाकामा प्रहरीबाट समातियो । झोलामा आफ्ना लगाउने लुगाकपडा र १ जोर जुता मात्र हालेको दिले आफै नै रणभुल्लमा पर्यो कसरी म गाँजा तस्करीमा परेँ ? तराई, पहाड लगायत हिमालका सञ्चार माध्यमहरूमा ‘गाँजा तस्करीमा १ जना अभियुक्त पक्राउ’ भन्ने समाचार सबैको कानकानमा पुग्यो । यो कुरा उसकी प्यारी जुनु र आमाको कानमा पनि पुग्यो । 

स्वयम् दिलेले नै बुझ्न नसकेकको कुरा उसकी जुनु र आमाले बुझ्नु त आकाश पातालकको कुरा थियो । तर पनि जुनु र उसकी सासू आमाले दिलेप्रति दृढ विश्वास गरिन् । ताकि यो काम दिलेबाट भएको हुनै सक्दैन । अरु कोही नै शत्रु लागेका हुन सक्छन् भन्ने शङ्का उब्जाइन् ।  हुँदा पनि त्यस्तै दिले प्रहरी चौकीमा राखेको ३ दिनपछि प्रहरीको अनुसन्धान र दिलेको बयानले उसकै साथी धने र शैलेसले आफूसँग भएको गाँजा दिलेको झोलामा राखेर आफूहरू अर्को टाँगामा गएको र दिलेलाई एक्लै छोडेको प्रहरी अनुसन्धानबाट सावित भयो । दिलेलाई छुटकारा दिइयो भने ती दुईजना धने र सैलेशलाई पक्राउ गर्न प्रहरी तलासमा लागे । 

‘पहिलो गाँसमै ढुङ्गा’ भनेझैँ दिले भारत जाने कि घर फर्किने भनेर दोधारमा पर्यो । घर पो के लगेर फर्किने ? जसोतसो मन बनाएर दिलेदाइ भारतको व्यङ्लोर हानियो । व्यङ्लोरमा आाफ्नो मामा भएकाले पनि  दिले दाइलाई काम खोज्न त्यति अप्ठ्यारो परेन । मामासँगै काम गर्यो । बेला बेला दिले घरमा आमालाई  र आफ्नी प्यारी जुनुलाई फोन गर्थ्यो । आफू सञ्चै भएको र कमाइ पनि राम्रै भएको खबर सुनाउँथ्यो । यता उसकी प्यारी जुनु भने दिलेको यति राम्रो खबर सुनेर आफूले बुनेका सपना साकार हुने कल्पिँदै मुसुक्क हाँस्दै र बेला बेला आफ्नो श्रीमानले भोग्नुपरेको दु.ख सम्झिदै आँसु झार्दै थिइन् । 

दिन, हप्ता, महिना हुँदै दिलेले अर्को दशैँमा घर आउँछु भनेको पनि गइसक्यो । अब त दिले भारत गएको २ वर्ष पुग्नै थालेछ । बिहे गरेर ३ महिनामै घर छोडेको दिलेकी प्यारी जुनु अब त यता ऐना हेरेर अनुहारका रेखीहरू गिन्ती गर्न थालिन् । आफ्ना चिल्ला राता गालाहरूलाई थप्पड हान्दी हुन् र भन्दिहुन् तँ अभागी । सँगै बिहे गरेकी तल्लोघरको माइलीको डेढ वर्षको छोरा देख्दा जानु भाउजू आफ्ना इमोस्नल ओर्गानहरूलाई सुमसुम्याउँछिन होलिन् र  दिलेदाइलाई कल्पना गर्दिहुन् । 

उता दिले दाइ पनि सोच्छन् । मेरी मनकी प्यारी जुनु तिमीलाई मेरो काखमा बसेर दुःखसुखका कुरा गर्न मन किन नहुँदो हो तर बाध्यता भन्नुपर्छ । गरिब घरमा जन्म भयो । भगवानले पनि यस्तै दिलाएको छ । तिमीले पनि मेरो कुरामा स्विकार गरेकी छौ, सहमति जनाएकी छौँ । मलाई पनि थाहा छ नि लाटी बिहे गरेको ३ महिनामै हामी एक अर्काबाट टाढा भयौँ । पर्ख है मेरी मनकी जुनु, म छिट्टै आउने छु । अनि सँगै बस्नेछौँ । सुखदुःखका कुरा गर्नेछौँ ।  हो दिले दाइ पनि यस्तै सोच्छ होला । अनि आफ्नो जन्मलाई धिक्कार्छ होला । 

अब त गाउँघरका साना नानीहरू जानु भाउजूलाई भाउजू लाहुरे दाइ कहिले आउनु हुन्छ भनेर भन्न थालेका छन् । जानु भाउजू आउँदोे दसैँमा आउनुहुन्छ । गुड मिश्री खान आउनु है बाबुहरू भनेर टपाल्न थालेकी छिन् । खै उता  भने लाहुरे दाइको आजभोली भारु रुपियाँमा आँखा परेको छ । कहिले आउँछ, त्यो त उसैलाई थाहा छ । यता भने जानु भाउजू पर्खिबसेकी छिन् र आफ्ना सुनौला सुन्दर सपनाहरू साकार गर्न कल्पिरहेकी छिन् । उही लाहुरे दाइको भरमा ।

-धनगढी, कैलाली
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप