शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कविता: बीउ

शनिबार, २५ कात्तिक २०७४, ०९ : ३५
शनिबार, २५ कात्तिक २०७४

–अजित क्षेत्री   

ओढेर आकाशको घुम्टो
ओछ्याएर धर्तीको च्यादर
थालनी गर्नुछ नयाँ जीवनको
रोप्नुछ एउटा गर्भिलो बीउ
उमार्नु छ बिरुवा
बनाउनु छ एउटा अर्को रूख
फुलाउनु छ फूल,
जननी आऊ नसर्माऊ
म तिम्रो गर्भमा नयाँ जीवनको
बीउ उमार्छु ।

मौसम राम्रै रह्यो भने
सृष्टिको बिज राम्रै टुसायो भने
उम्रनेछ एउटा सुन्दर बिरुवा
हाँगा, पात र जरा फैलाउँदै
जब उसले उभिनेछ धर्तीमा
म बनाउनेछु कुलो
तिमीले ममताको जल सिंचिनेछ्यौ
उसको जरा जरामा ।

मेरो रोपाईं र तिम्रो सिंचाइ
यो माटो अनुकुलित भयो भने
हाम्रो प्रेमको बिरुवा
बन्नेछ सुन्दर तन्नेरी रूख
टुसाउनेछन् कोपिला
बास बस्नेछन् पुतलीहरू
गर्भवती बन्नेछिन् फूलहरू
र झर्नेछिन् धर्तीमा
फेरि अर्को एक जीवन उमार्न 

प्रिय आऊ नसर्माऊ
ओढेर आकाशको घुम्टो
ओछ्याएर धर्तीको च्यादर
नवजीवनको सुरुवात गर्नुछ
केही बिरुवा उमार्नुछ
जीवनको निरन्तरताका लागि
अर्को सुन्दर दिनहरूका लागि
यो रात नसुतेरै उज्यालो बनाउनु छ 
तिमी फूल म भमरा हुनु छ ।

हामीले यसै बस्यौँ भने
लाजले टाढै बस्यौ भने
राति चम्किलो जून लाग्लान्
सहबास बस्न जुनकिरी आउलान्
तारा खस्लान् 
यही बाटो गरी परदेशी फर्केलान्
उतारेर शिरमा सिउरिएको फूलको थुँगा
दराजको उपल्लो खापामा
जतनले राख्लिन्
र वर्षौं इन्तजारपछि उसकी प्रियसी
उसको काखमा निदाउलीन
सन्तुष्टिको अमृत पिएर ।

दराजको फूल भुइँमा झर्ने छैन
परदेशीको प्यासी प्रेमको साक्षी बनेर ऊ
त्यसै मर्नेछ 
गर्भमै थुप्रै जीवनका सम्भावनालाई 
बिसर्जन गरेर ।

जीवनको निरन्तरता रोकिन दिनु हुँदैन
फूलले फुल्न छाड्नु हँुदैन 
गर्भिणी हुनुपर्छ
झर्नुपर्छ धर्तीमा 
फेरि नयाँ बिरुवा उम्रनु पर्छ
र एक दिन फुल्नुपर्छ ।

यो निरन्तरताका लागि 
आऊ नयाँ जीवनको बीउ रोपौँ ।

-स्याङ्जा
-हाल यूएई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप