बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थपियो ताप्लेजुङमा नयाँ पर्यटकीय गन्तव्य

शनिबार, २५ कात्तिक २०७४, ११ : २६
शनिबार, २५ कात्तिक २०७४

 सिवी अधिकारी 
ताप्लेजुङ - इलामको चिया पर्यटन जस्तै पर्यटकीय जिल्ला ताप्लेजुङमा अलैँची पर्यटनको नयाँ गन्तव्य प्रवद्र्धनका लागि व्यावसायिक पहल थालिएको छ । 

चर्चित कञ्चनजंघा हिमाल ९८५८६ मिटर० सँगै भौगोलिक विविधताको अनुपम उदाहरणका रुपमा रहेको ताप्लेजुङ मुख्य नगदेबाली अलैँचीको जिल्लाका रुपमा चिनिन्छ । 

कञ्चनजंघा हिमाल आरोहण तथा पदयात्रामा जाने पर्यटकको बसाइँ लम्ब्याउन अलैँची पदमार्गमार्फत ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ९टान० र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९इसिमोड०को सहकार्यमा ‘कञ्चनजंघा स्पाइस गार्डेन टुरिजम ट्रेल’ नामक पदमार्ग शुरु गरिएको हो । यसमा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग छ । 

पवित्र तीर्थस्थल पाथिभरा मन्दिरको दर्शनका लागि नेपाल तथा भारतबाट हजारौँको संख्यामा भक्तजन यहाँ पुग्नेगर्छन् । अथाह सम्भावना हुँदाहुँदै पनि ताप्लेजुङ अझै पर्यटकीय जिल्लाका रूपमा परिचित छैन । 

यसैलाई मध्यनजर गर्दै स्थानीयवासीको समन्वयमा पर्यटनसँग सरोकार भएका निकायले ताप्लेजुङमा नयाँ पर्यटकीय उत्पादन ‘प्रडक्ट’ थपिएको छ । 

जिल्लाको सदरमुकाम फुङ्लिङ नजिकको फुरुम्बुु र सिकैचामा फैलिएको अलैँची खेती वरिपरिलाई केन्द्र पारी ९करिब ३५ किमी दूरी० को पदमार्ग हालै फुङ्लिङमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । 

ताप्लेजुङको प्रमुख उत्पादन अलैँची खेतीलाई कृषि पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित अलैँची पदमार्ग विस्तार गरिरहेको ९टान० का पूर्वप्रथम उपाध्यक्ष एवं पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठले जानकारी दिनुभयो । 

खासगरी छिमेकी जिल्ला इलाम कृषि उत्पादन चिया र यसको बगैँचालाई पर्यटकीय प्रडक्टका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बनेको सन्दर्भमा ताप्लेजुङ पनि अलैँची पर्यटनतर्फ आकर्षित भएको हो । 

टानका महासचिव कर्णबहादुर लामाले अहिले कञ्चनजंघा र पाथीभरा जाने पर्यटकको बसाइँ लम्ब्याइ अलैँची पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग शुरु गरिएको बताउनुभयो । 

उहाँका अनुसार अहिले केवल बास बस्न मात्र फुङ्लिङ आउने पर्यटकलाई एकदुई दिन भए पनि यहाँका रमणीय अलैँची बगैँचा र स्थानीय संस्कृतिमा भुलाउन सकिए बसाइँ अवधि लम्बिने अपेक्षा छ । यो पदमार्गमा हराभरा अलैँची खेतीसहित गुम्बा, मठमन्दिर तथा दृश्यावलोकनका साथै स्थानीय रहनसहन र संस्कृति बुझ्नलाई उपयुक्त मानिन्छ । 

प्राकृतिक सम्पदा र भौगोलिक विविधतायुक्त ताप्लेजुङलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यटकीय प्रवद्र्धनको सामग्रीका रुपमा लैजान अलैँची पदमार्ग रोजिएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतले बताउनुभयो । 

ताप्लेजुङमा हाल कञ्चनजंघा सर्किट ट्रेक र पाथीभरा ट्रेकिङ ट्रेल सञ्चालनमा छन् । जहाँ आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढेको छ । 

ताप्लेजुङ सामुदायिक गुम्बाडाँडा होमस्टे ९घरबास कार्यक्रम० की सञ्चालक हिमा गुरुङ पनि सदरमुकाममा आउने पाहुनालाई अलैँची पदमार्ग घुमेर बास बस्न र स्थानीय परिकारको स्वाद लिन व्यावसायिक होमस्टे सेवा पनि शुरु गरिएको बताउनुहुन्छ । फुङ्लिङबाट ४–५ किमी सडक यात्रापछि पुगिने गुम्बाडाँडा र शीतलडाँडामा होमस्टे छन् । 

टानका अनुसार यी पदमार्गभित्र फुङ्लिङ गार्डेन, फुरम्बु गार्डेन र सिकाइचा गार्डेनको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । यसबाहेक हिमाली दृश्यावलोकन, स्थानीय प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदालाई समेत पदमार्गले समेटेको छ । 

फुङ्लिङ नगरपालिकाका उपप्रमुख वमबहादुर भट्टराईले अलैँचीको व्यावसायिक प्रवद्र्धनसँगै जिल्लालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजनाबद्ध कार्यक्रम ल्याइने बताउनुभयो । 

ताप्लेजुङमा अलैँची खेतीको प्रवद्र्धनका लागि इसिमोडले ‘हिमालिका’ नामक परियोजना सञ्चालन गरेको छ । सोही परियोजनामार्फत व्यवस्थित रूपमा सञ्चालित गार्डेनलाई समेटेर पदमार्गको परिकल्पना गरिएको हो । पदमार्गको नक्सा र मोबाइल ‘एप’ समेत सार्वजनिक गरिएको थियो । 

अलैँची व्यवसायी संघ ताप्लेजुङका उपाध्यक्ष तेज भट्टराईले जिल्लाको प्रमुख उत्पादनका रुपमा रहेको अलैँची खेतीलाई पर्यटनको माध्यमबाट थप पर्यटक आकर्षण गर्नका लागि पदमार्ग उपयोगी हुने उल्लेख गर्नुभयो । संघका अनुसार जिल्लामा ६० प्रतिशतभन्दा बढी कृषक अलैँची खेतीमा आबद्ध छन् । 

जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैँची लगाइएको छ । अघिल्लो वर्ष दुई हजार ४०० मेट्रिक टन उत्पादन भएको थियो । अलैँची जडीबुटी भएकाले आयुर्वेद औषधिका लागि स्वदेश तथा विदेशमा माग बढ्दो छ । 

सरकारी तथ्यांकअनुसार अलैँची खेती हाल ४० जिल्लामा विस्तार भएको छ । पन्ध्र हजार बढी हेक्टर क्षेत्रफलमा खेती हुने अलैँची वार्षिक पाँच हजार ६०० मेट्रिक टन उत्पादन हुन्छ । वार्षिक रु २० करोडभन्दा बढी निर्यात हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप