बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

१२ नेताका सपना

आइतबार, २६ कात्तिक २०७४, १२ : ३३
आइतबार, २६ कात्तिक २०७४

सपना ठूलै देख्नु भनिन्छ । सपना नदेख्ने को होलान् र ? त्यसमध्ये मानिस त झन् स्वप्नजीवी प्राणी नै हुन् । सपना देखेपछि जोकोही पूरा गर्ने ध्याउन्नमा हुन्छन् । सपना देख्नु भनेको आधा काम पूरा हुनु हो भन्नेको कमी छैन । महत्वाकांक्षी सपनाले दुर्घटनासमेत गराउन सक्छ । इन्द्रेणी सपना देखे पनि इमानदार भएर पूरा गर्ने प्रयत्न गर्दा सबैको कल्याण होला । राजनीतिक दलसम्बद्ध नेताले त्यसो गरे पलासको फूलमा सुगन्ध भेटेसरह हुनेछ ।

संवत् २०५१ मन्त्रीको भूमिका निर्वाह गरिसकेका अशोक राईले महत्वाकांक्षी सपना देखेका छैनन् । संघीय समाजवादी फोरम वरिष्ठ नेतासमेत रहेका राईले भने, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामय । सर्वे भद्राणि पश्यन्तु माकाश्चिद दुःखभाग्जन ।। अर्थात्, निरोगी सबै हुन्, सबै हुन् सुखीया । सबै वेस देखुन्, नहुन् क्वै दुखीया ।।’

‘मैले कल्पना गरेको समाज त्यस्तै हो । जहाँ गरिब भएँ भनेर कसैले रोएर हिँड्न नपरोस् । जहाँ गरिब भएँ भनेर भर्खरै भित्र्याएको दुलहीलाई छाडेर वैदेशिक रोजगारीका लागि विदेश जान नपरोस्,’ उनले थपे, ‘जहाँ ८० वर्ष नाघेका आफ्ना वृद्ध बुवाआमाको हातमा लाठी थमाएर बिदेसिन नपरोस् । जहाँ मानिसले आफ्नो मातृभाषा बोल्दा कसैले नगिज्याओस्, जहाँ मानिसले म मधेसी हुँ भन्दा हेपिन नपरोस् । म किरातीको छोरा हुँ भन्दा तिरस्कार हुने अवस्था नआओस् ।’ जहाँ म दलित हुँ भन्दा छिःछि दुरदुर हुनु नपरोस् । जन्मले उच्च, नीच भन्ने अवस्था अन्त्य होस् । समता र सम्मान, प्रेम र सद्भावपूर्ण होस् । सबै जाति भाषा, धर्म, संस्कृति, क्षेत्र, लिंग, वर्ण र वर्गका मानिसले सम्मानबोध गरून् । एकले अर्कालाई सम्मान गरून् । यस्तो समाज जहाँ घृणा होइन, प्रेमको प्रसार गरियोस् भन्नेको उनको मान्यता छ । 

पटकपटक मन्त्री भइसकेका अग्नि सापकोटाले समृद्ध नेपाल बनाउने सपना देख्न छाडेका छैनन् । ‘नेपालमा प्राकृतिक स्रोत साधन अपार छन् । सदुपयोग गर्न सकेका छैनौं,’  पूर्वमन्त्री सापकोटाको तर्क छ, ‘त्यसलाई सदुपयोग गर्न सके समृद्ध नेपाल बनाउन सकिन्छ ।’ 

कार्यवहाक प्रधानमन्त्री, दुईपटक उपप्रधानमन्त्री, पाँचपटक मन्त्री भएका भरतमोहन अधिकारीले राजनीतिमा लागेर राष्ट्रपति र प्रधानमन्त्रीबाहेक सबै पाए ।

दुईपटक संविधान लेख्ने अवसर पाए । ‘तर, मैले जेका लागि जीवन दिएँ, हातमा केही छैन । गाउँ फेरिएन । मुलुकमा रोजगारी नपाएर युवकयुवती बिदेसिइरहेका छन् । राजनीतिमा ६० वर्ष लगानी गरे प्रतिफल पाउँदै पाइएन,’ अधिकारीले दुःखेसो पोखे, ‘जनतामा खुसी देख्न पाइयोस् । इच्छाशक्ति भएमा मुलुक बनाउन १० वर्षभन्दा बढी समय लाग्दैलाग्दैन । स्रोत÷साधन छ । सहयोगी नेपाली जनता छन् । तर, चिन्तन गर्ने ‘भिजन’ भएका नेता भइदियून् ।’ 

‘चार वर्ण छत्तीस जातको साझा फूलबारी कायम राख्नु नै मेरो सपना हो,’ मन्त्री दिलनाथ गिरीको बुझाइ छ, ‘एउटा फूलबारीमा सबै जातका फूलको सौन्दर्य हुन्छ, त्यसले पूर्ण रूपमा फुल्न पाउँछ । र, त्यसको बासना आउँछ । एकले अर्कालाई मोहित बनाउँछ ।’ 

एकले अर्काप्रति सहयोगको भूमिका खेलेको हुन्छ । एउटाको सौन्दर्यमा अर्काको परावर्तन नभई उसले पूर्णता पाउँदैन । एकले अर्काको सहयोग नपाईकन हामी पूर्णता नहुने उनको ठम्याइ छ, ‘त्यसो भयो भने सभ्य, सुसंस्कृत राज्य निर्माण गर्न सकिन्छ । मुलुकमा कुनै दुःख, कष्ट नपरोस्, हामीसँग भएका प्राकृतिक स्रोत, साधन र सम्पदालाई समष्टिगत रूपमा प्रयोग गर्न सके यो मुलुक विश्वकै सबैभन्दा धनी बन्न सक्छ ।’ 

विनाविभागीयमन्त्री गिरिराजमणि पोखरेलको नेपाललाई समाजवाद हुँदै साम्यवादतर्फ डोर्याउने सपना छ । विनाविभागीयमन्त्री पोखरेल भन्छन्, ‘जति–जति राजनीति गहिरो प्रक्रियामा गयो, नेपाल केही दशकभित्र सम्पन्न बन्न सक्ने सम्भावनायुक्त देख्छु । मुलुकले नेतृत्व पाएको छैन । स्वाधीनता र समृद्धिलाई केन्द्रबिन्दुमा राखेर जनतामा आधारित समाजवाद निर्माण गर्ने दिशामा गएरमात्रै आफूले सोचेको देश बनाउन सकिन्छ ।’ 

पूर्वपर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले प्राकृतिक रूपमा सम्पन्न मुलुकमा बस्ने नेपाली मानसिक रूपमा कमजोर भए पनि मुलुकलाई आर्गानिक बनाउन सकिने दाबी गरे । पूर्वमन्त्री शाहीले उदाहरण पेस गरे, ‘अरबले तेल बेचेर धनी भयो भने हामी पानी बेचेर धनी बन्न सक्छौं ।’ 
त्यतिमात्रै होइन, उनको सबैलाई शिक्षित बनाउने धोको छ । त्यो पनि व्यावहारिक शिक्षासहितको शिक्षित । भ्रष्टाचारमुक्त मुलुक बनाउन पाए कति जाती हुन्थ्यो भन्ने उनलाई लागेकै छ । 

माओवादी केन्द्र नेता लीलामणि पोखरेल संसारको सबैभन्दा सुन्दर र सम्पन्न नेपाल बन्न सक्छ भन्नेमा विश्वस्त छन् । ‘हामीसँग खनिज, प्राकृतिक सम्पदा, म्यानपावर, डाइभर्सिटी आदि छन् । तर, व्यवस्थापन कमजोर भइदियो,’ नेता पोखरेलले भने, ‘राजा र राणाले धन थुपार्ने, विदेशमा लगेर राख्ने, राज्य व्यवस्था परिवर्तन गरेर बहुदल आइसकेपछि त्यही प्रवृत्ति देखापर्यो । अहिले पनि देशको व्यवस्थापनमा जति गम्भीर चिन्ता हुनुपर्ने हो त्यो छैन ।’

नेताले लोभ, डर र अधिनस्थ हुने प्रवृत्ति दासताबाट मुक्त हुनुपर्ने उनको सुझाव छ । लोभमुक्त भए देश बनाउन सकिन्छ, डरमुक्त भए लोभीहरू डराउँछन् र विदेशीले बनाइदिनुपर्छ, दाताले बनाइदिनुपर्छ भन्ने मुख ताक्ने प्रवृत्तिमुक्त भए नेपाल संसारकै सबैभन्दा सम्पन्न, सुन्दर बनाउन सकिन्छ भन्नेमा उनी दृढ छन् । 

नयाँ शक्ति पार्टी नेता मदन राईले इन्द्रेणी सपना देखेका छैनन् । नेता राईको स्वार्थ छ, ‘समृद्ध नेपाल बनाउन मरिमेटेर लागिपरेको छु । नेपालभन्दा गरिब देश धनी भएको देखेको छु । नेपाललाई समृद्ध बनाउन तन, मन र धनसहित लागिपरेको छु । म नयाँ शक्तिसँग आबद्ध छु । देश बनाउन राजनीतिमा लागेको हुँ । दल र आफू बन्न राजनीतिमा लागेको होइन । दल भनेको साधनमात्रै होइन । काम लागेन भने फेर्न पर्छ । तर, सपना बदल्न सकिँदैन ।’ 

‘म पुगेको छैन । तर, स्वीट्जरल्यान्डबारे धेरै सुनेको छु । नेपालसँग पनि मिल्दोजुल्दो छ,’ नेता पासाङ शेर्पाले सुनाए, ‘सिंगापुर घुमेको छु । स्केन्डिभियन कन्ट्री पनि सानो र भूपरिवेष्ठित नै हुन् । नेपाललाई पनि उल्लिखित मुलुकजस्तो बनाउने पाए हुन्थ्यो भन्ने सपना देख्दै आएको छु ।’ 

पूर्वसांसद रामहरि खतिवडा मुलुकलाई शान्तिप्रिय, सुन्दर, धनी÷गरिबको समृद्ध मुलुक बनेको, गरिबले गरिब छु भनेर हीनताबोध नगर्ने र धनीले उपचारका लागि बाहिरबाट ल्याएको सम्पत्ति बाहिर नलगी नेपालमै उपचार गराउनेखालको मुलुक बनाउने सपना देखेका छन् । 

आसन्न प्रदेशसभा निर्वाचनमा खोटाङ १ बाट उम्मेदवारी दिएका सुवास पोखरेलले नेपालीपनको नेपाल बनाउने सपना देखेका छन् । काँग्रेस महासमिति सदस्यसमेत रहेका नेता पोखरेलले भएका नदीनालामा ‘हाइ ड्याम’ बनाउने, एकातिर पानी बग्छ, अर्कोतिर समुद्रजस्तो बनाएर त्यसका डाँडाडाँडामा पुराना घरका साथै पर्यटकीय घर बनाउने परिकल्पना गरेका छन् । उनले भने, ‘त्यहाँ संसारभरिका मानिस आउँछन् । कला, संस्कृति र प्राकृतिक सम्पदाको प्रचुर दोहन गरेर मुलुकलाई नमुना बनाउन सकिन्छ ।’ 

पूर्वपशुपन्छीमन्त्री श्री जबेगूले मुलुकलाई अन्तरनिर्भर अर्थतन्त्रका रूपमा विकास गर्न पाए हुन्थ्यो भन्ने सपना देखेका छन् । पूर्वमन्त्री जबेगूले कम्तीमा मुलुकलाई आत्मनिर्भर अर्थतन्त्रमुखी बनाउने सपना देख्न छाडेका छैनन् । भने, ‘समस्या नै छैन । भएका स्रोत, साधन व्यवस्थापन गर्न जाने पुग्छ ।’ 

काँग्रेस केन्द्रीय सदस्य डा. डिला पन्तका अनुसार, राजनीति गर्नेसँग ‘भिजन’ र ‘मिसन’ हुनुपर्छ । ‘मुलुक प्राकृतिक स्रोत साधनसम्पन्न छ । यसलाई मात्रै सही व्यवस्थापन गर्न सके अन्य केही गर्नै पर्दैन,’ नेता पन्तले सुझाइन्, ‘यसलाई व्यवस्थापन गर्न सर्वप्रथम सडक सञ्जाल विस्तार गर्नपर्छ । मुलुकलाई समृद्ध बनाउन उद्योगधन्दा, कलकारखानालाई प्राथमिकता दिनुपर्छ । यहाँको पानीमात्रै व्यवस्थापन गर्न सके युवापुस्ता वैदेशिक रोजगारीका लागि अरब जानै पर्दैन ।’

सीपमूलक शिक्षा कार्यान्वयन सकियो भने मुलुकलाई सम्पन्न बनाउन सकिन्छ ।  भनिन्, ‘आफूमात्रै बनेर पुग्दैन । सबैलाई बनाउनुपर्छ भन्ने मान्यता राखेकी छु । केही गर्न सक्छु भन्नेमा विश्वस्त छु । मेरो सपनाजपना नै यही छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र राई
दीपेन्द्र राई

दीपेन्द्र राई रातोपाटीका लागि फिचर स्टोरी लेख्छन् । 

लेखकबाट थप