शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बालबालिकाको क्रन्दन र कसिलो गाँठो

आइतबार, ११ असार २०७४, १४ : १२
आइतबार, ११ असार २०७४

भाँडाकुटी खेलेर गाउँको पाखामा रमाओस् या सहरमा तोते लवजले गाडीको आवाजमा गुडिया गुडाओस्; भाषाको, जातको अनि औकातको प्रवाह छैन– निश्छल, निष्कपट बालहृदयलाई । हरेक मानिस सबैभन्दा पहिला बालक नै हुन्छन् । दुधे आन्द्रोलाई भर्न नसकेकी आमाले आदर्शको कथा पचाएर बारीको डिलमा कोदो रोप्दै गर्दा बच्चाको रोदन सुन्छिन् तर ‘गाई चराउनेलाई अपमान, कुकुर डुलाउनेलाई सम्मान गर्ने’ विकसित गृहपतिहरूले कोठा भाडामा बसेकी नवसुत्केरीको बच्चा रोएकै कारणले उनलाई कोठाबाट निकालिदिन्छन् । थोमस मुलर भन्छन्– ‘बाल्यकाल नै हरेक मानिसको सर्वाधिक महŒवपूर्ण समय हो ।’ बिहानीको प्रभाती किरणले पोखेको सौन्दर्य लाग्छ– बाल्यकालको अबोध भाव । मन्दिर, पाटीका पेटीमा रातमा सँगै सुत्ने कुकुरको न्यानोसँगै भोलिको माग्ने थलोको सपना बुन्नेलाई कतिले नियालेका हौँला । सडक किनारामा धुलासँग मितेरी गाँस्दै लोहोरो र सिलौटो बेचेर गुजारा चलाउनेहरूका बर्सेनिका बच्चाहरूले नाङ्गो शरीरमा छेउको ढलसँग खेल्दै टाउको लुकाउने खुल्ला आकाशलाई सदैव प्रेम गरेका दृश्य देख्दा कस्तो लाग्छ ? बर्सेनिका बच्चाले कचौरा थापेको दृश्य होस् या अरुले नाक थुन्दै अर्कातिर फर्केर हिँड्नुपर्ने गन्हाउने फोहोरमा फालिएको खर्बुजाको चिरो टिपेर आपसमा झुत्ती खेल्ने बालसमूहलाई देखेपछि कतिजनाले बिचरा भन्लान् ? तर, खातेको संज्ञा दिनेको सङ्ख्या ठूलो छैन र ! बाल अधिकारका कत्रा योजना बन्छन्, ठूला योजना र कार्यक्रममा भाषण छाँटिन्छन् तर गरिबीका दिनचर्यालाई छोएको होला त । समानताका कुरा उठ्छन्, जातमा जोडिन्छन्– प्रश्न उठ्छ गरिबका कथामा कतिले पिर मान्लान् । परिवर्तन र अधिकार जसलाई चाहिएको छ, उसलाई त्यसका बारेमा थाहै छैन । मध्यम वर्गलाई काम नगरे मुखमा माड पर्दैन– फुर्सदै छैन । उच्च वर्गलाई थाहा छ, फुर्सद पनि छ तर आवश्यकतै पर्दैन । वास्तवमा बालकले जन्मेपछि बाँच्न, विकास गर्न र सुखी जीवन जिउनका लागि राज्य, समाज र परिवारबाट आवश्यक हुने सुविधाहरु प्राप्त गर्ने नैसर्गिक अधिकार नै बालअधिकार हो । नेपालको संविधानले भाग ३ धारा ३९ मा प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हक हुनेछ भनी बालबालिकाको हकलाई लिपिबद्ध गरेको छ । घर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा कुनै पनि बालबालिकालाई शारीरिक, मानसिक, यौनजन्य शोषण वा बालविवाहजस्ता अनुचित व्यवहार गर्न नपाइने नियम संविधानमा उल्लेख छ ।


सडक पेटीमा दिनभरि कचौरा थाप्ने अनि रात्रि प्रहरमा मैलो र थकित शरीरको पेटलाई अलिकति पाएजति चारो दिएर निद्रा देवीलाई अर्पण गर्नेका बाध्यता कति सम्बोधित होलान् ? महलमा, कोठामा या गाउँमा होस्, बाबाले भिœयाएकी नवप्रेमिकालाई रिझाउन नसकेर तिरस्कृत बनेका बाल हृदयको जलनलाई कतिले सुनिदेलान् त । हामी एक्काइसौँ शताब्दीमा छौँ । धेरै असल बाबाआमालाई बाल स्याहार तथा अधिकारको ज्ञान सञ्चारित छ– गौरवको विषय हो । अर्कोतिर हेर्नोस् भन्न गाह्रो लाग्छ, आज हरेक दुःखमा प्रत्येक आँसुका ढिक्कासँगै पुकारिएकी आमाले छोडेर अन्तै जाँदा या त अभिभावकत्व चुँडाएर जीवित बाबाआमाकै टुहुरो बनाइएका बाल मस्तिष्कको रोदनको मूल्य कति छ ? घरको कलहले दुःखेको पीडामाथि विद्यालयका शिक्षकले गृहकार्यको उचाल्नै नसक्ने भारी बोकाएर दिइएका यातनालाई कतिले बुझेका हौँला, प्रश्न गर्न मन लाग्छ । गरिबीले कुपोषित या विकलाङ्गहरूले गृहबोझको उपाधिको पगरी गुथेपछि लाचार भई जिएका बाल मुटुको धड्कनलाई कसरी मानवतामा नापिएला र ? त्यहाँ झमककुमारीको जीवनीेभँैm आँसुले मानवतालाई खोज्छ । त्यहाँ कलकलाउँदा गालामा बलिन्द्र आँसुका धारा बग्दा हुन् । भूकम्पले अभिभावकत्व गुमाउँदा जीवनभरि पराकम्पनको त्रासदी मनमा जिएका बाल आवाज हुन् या त द्वन्द्वको रापले छत गुमाएका टुहुराहुन्, मन त मनै हो । कलम समाउने हातलाई हतियार, उद्योगका औजार, होटलका जुठा थाल अनि साहु महाजनका गह्रौँ माल उठाउन लगाएर स्वार्थको पोको बोक्नेले भोलिका जिम्मेवार काँधलाई धुजाधुजा बनाउन पाइँदैन– अब । 


‘यदि स्वर्गमा पुग्ने इच्छा छ भने बालक बनेर हेर’– एङ्गेलले भनेका छन् । जुन देशका बाल ओठमा मुस्कान र अनुहारमा खुसीका रङहरू झल्किन्छन् त्यहाँको आगतमा उन्नति निमोठिएको हुँदैन । बालबालिका सुन्दर राष्ट्रनिर्माता हुन् । राज्यको बागडोर सम्हाल्ने भोलिका होनहार समाज रुपान्तरणका हस्ति हुन् । देशको स्वर्णिम भविष्य रेखा कोर्ने स्वप्ना र खुबी आजका कलिला मस्तिष्कमा हुन्छ । सङ्गत गुनको फल बालकले पाएका हुन्छन् । बाल सर्वाङ्गीण विकासका पक्षमा देश उभिए भोलिको सुन्दरतालाई हेर्ने अवसर पाइन्छ । तसर्थ, बालमनोवैज्ञानिक शैक्षिक दमनरहित शिक्षाको वातावरणमा अब शिक्षक र शिक्षाबेत्ता सजक बनून् । साथीले कक्षाकोठामा मनोवैज्ञानिक दमन नगरोस्, घर, टोल, समाज र विद्यालय क्षेत्र स्वतन्त्र बन्न सकून्– बालअधिकारका निम्ति । 

बालबालिकाले पारिवारिक निर्णय कार्यमा, सामाजिक क्रियाकलापमा सहभागी हुन पाउनुपर्ने अधिकार छ । सङ्घ–संस्था खोल्न तथा गोपनीयता, शान्तिपूर्ण भेला हुने बाल स्वतन्त्रतालाई सम्मान गरिने कुरा बाल अधिकार महासन्धिमा उल्लेख छ । बालबालिका खोजतलास समन्वय केन्द्र स्थापना, सबैका लागि शिक्षा कार्यक्रम, बालकल्याण समिति गठनजस्ता दर्जनौँ राज्यका विशेष प्रयासले समयानुसार दौडिएका कार्य प्रशंसनीय छन् नै ।


नेपाली बृहत् शब्दकोशले प्रतिवर्ष नेपालमा मनाइने राष्ट्रिय पर्वको रुपमा बाल दिवसलाई अथ्र्याएको छ । प्रयोगात्मक नेपाली शब्दकोशमा ‘बालकहरुको विकास र उन्नतिको उद्देश्यले मनाइने राष्ट्रिय पर्व’को रुपमा परिभाषित गरिएको छ । अन्तर्राष्ट्रिय स्तरबाट हेर्दा बाल अधिकार महासन्धि १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्र सङ्घको महासभाले नेपाल लगायत विश्वका १९२ देशद्वारा संयुक्त राष्ट्र सङ्घीय बालअधिकार महासन्धिलाई पारित गर्यो । नेपालले पनि ३ भाग ५४ धारा भएको उक्त बालअधिकार महासन्धिलाई सन् १९९० सेप्टेम्बर १४ (२९ भाद्र २०४७) मा अनुमोदन गर्यो । उक्त महासन्धिमा विशेषतः १८ वर्षभन्दा कम उमेरका प्रत्येक मानव जातिलाई बालबालिकाका रुपमा मानिएको छ । जसले बालबालिकाको हकका विषयमा बालअधिकार महासन्धिले विशेष गरेर निम्न ४ अधिकारलाई यसरी खुलाएको छ :


क) बाँच्न पाउने अधिकार/बाल बचाउ

जिउन पाउने बालबालिकाको जन्मसिद्ध अधिकार हो । गाँस, बास र कपास सबैको जीवन आधार हो । बाँच्नका लागि बच्चालाई स्वास्थ्य उपचार, पोषणयुक्त खाद्यान्न, विभेदरहित वातावरणको खाँचो पर्छ । यद्यपि नेपालका ग्रामीण बस्तीका कुना कन्दराका लागि यी विषय गफ मात्र बन्छन् । शारीरिक, मानसिक, संवेगात्मक विकाससँगै आवश्यक पूर्वाधार नपाउँदा बालअधिकार नारामै खुम्चिन पुगेको अनुभूति हुन्छ ।

ख) संरक्षण पाउने अधिकार÷बाल संरक्षण


श्रम शोषण, यौन दुव्र्यवहार, जोखिमपूर्ण काममा लगाउनेजस्ता कार्य निन्दनीय हुन् । देह व्यापार, अपहरण, तिरस्कार, यातना, पारिवारिक विभेद कानुनी रूपमा दण्डित छन् । आज पनि कतिपय नेपाली समाजमा रहेका अन्धविश्वासी संस्कार र प्रथाले बाल अधिकारमाथि प्रहार गरेका वीभत्स घटना घटिरहेका हुन्छन् भने अर्कातिर यस्ता आततायी घटनाहरू शोषणपश्चात् मात्र खबर बनेर समाजमा आइपुग्छन् । घरायशी किचलो र गरिबीको मारमा बच्चा साँच्चै कुण्ठित छन् । जुन नियालेर हेरिएका विषय नहोलान् सायद । अपाङ्ग, शरणार्थी, अल्पसङ्ख्यक, भूकम्प–पहिरोजस्ता प्राकृत विपदमा परेका, द्वन्द्वपीडित, विस्थापित तथा परिवारविहीन बालबालिकालाई विशेष स्याहारको आवश्यकता पर्छ । आमाबाबाबाट छुट्टिए पनि जीवित हुन्जेल सम्पर्कमा रहनुपर्ने नियम छ । 

ग) विकास गर्न पाउने अधिकार/बाल विकास


विचार–अभिव्यक्ति, सांस्कृतिक कला र सहभागिता, शिक्षा सूचना, खेल तथा धर्मसम्बन्धी अधिकार बालबालिकामा हुन्छ । नेपालमा त्यस्तो नहोला तर विकसित मुलुकहरू अमेरिका, अस्ट्रेलियामा बच्चाहरूले हक मागेका उदाहरण हामी पाउन सक्छौँ । 

घ) सहभागिताको अधिकार÷बाल सहभागिता

बालबालिकाले पारिवारिक निर्णय कार्यमा, सामाजिक क्रियाकलापमा सहभागी हुन पाउनुपर्ने अधिकार छ । सङ्घ–संस्था खोल्न तथा गोपनीयता, शान्तिपूर्ण भेला हुने बाल स्वतन्त्रतालाई सम्मान गरिने कुरा बाल अधिकार महासन्धिमा उल्लेख छ । बालबालिका खोजतलास समन्वय केन्द्र स्थापना, सबैका लागि शिक्षा कार्यक्रम, बालकल्याण समिति गठनजस्ता दर्जनौँ राज्यका विशेष प्रयासले समयानुसार दौडिएका कार्य प्रशंसनीय छन् नै ।

‘बालकको पहिलो पाठशाला घर हो’– हिल्डा टावाले भनेका छन् । बालअधिकारको संरक्षण सचेतना नै देश विकासको मजबुत द्वार हो तसर्थ त महाकवि देवकोटाले भनेका छन्– ‘हे प्यारा शिशु फेरि बन्न म सके बन्ने थिएँ बालक ।’


गर्वको विषय हो, कानुनी हिसाबको गाँठो बलियो छ । तर, कुरा उठ्छ– नारा र सिद्धान्तमाथि कति मानिसमा चेतना छ ? जसले कानुन बुझ्नुपर्ने हो, ऊ त अक्षम, लाचार र बाध्य हुन्छ । ऊ झिसमिसेमै होटलका जुठा भाँडा माझ्ने ध्याउन्नमा बाँधिन विवस छ । बालकलाई तनाव दिनु महापाप हो, बुझे शास्त्रीय मान्यताकै कानुन पर्याप्त छ । महाभारत, रामायणमा निःशुल्क शिक्षादेखि बालक, वृद्ध र महिलाको आदर गर्न सिकाइएको छैन र ? तर आज पनि जागिरको लोभमा फसाएर कोठरीमा बेचिएका अनि बेपत्ता पारिएका समाचार पुराना लाग्दैनन् । साहुका भारी बोक्ने, खेत बारीमा घण्टौँ काममा पेल्ने अनि सहरका सडकमा बोत्तल, प्लास्टिक बटुल्ने, गाडीमा खलासी बन्ने बच्चाको अधिकारलाई चुँडिएको लाग्दैन र ? ग्रामीण समाजका कयौँ बालबालिकाले अन्धपरम्परा, रुढीवादी परम्परा, प्रथा तथा अशिक्षाको सिकार बन्नुपरेका घटना अभैm छँदै छन् । यसर्थ बाल हृदयले पीडामा पिल्सिनु हुँदैन– अब । कुपोषणबाट या त पोलियो, टिटनास, दादुराबाट अकालमा मर्नु नपरोस् । पखेरीका सधैँ हँसिया समात्नेले कपी र कलम पनि बोकेर शिक्षा र संस्कार सिकोस् । बालकले आपूmमा अन्तर्निहित प्रतिभालाई रुचिअनुसार पोख्दा हजुरामाको चाउरिएको अनुहारलाई मुस्कुराउने मौका मिलोस्– तब साँच्चै बालबालिकाले अधिकार पाएको पुष्टि हुन्छ ।


सबैले अधिकार माग्नुपर्छ तर कर्तव्य र जिम्मेवारी बोधको सचेतना त्यत्तिकै मूल्यवान् हुन्छन् । बालविवाहका सन्दर्भमा हेर्दा सरकारले २० वर्षभन्दा कम उमेरको विवाहलाई कानुनी मान्यता दिएको छैन तर आजभोलि भागेर विवाह गर्ने बालबालिकाको सङ्ख्या तीव्र रुपमा बढेको बुझिन्छ । तथ्याङ्कअनुसार नेपालमा एक तिहाइभन्दा बढी बालबालिकाले १८ वर्षभन्दा कम उमेरमै विवाह गर्नु अनि फेसबुक, फिल्मी दुनियाको प्रेमलाई सिको गरेर जीवन नबुझी हाम्फाल्ने बाल मस्तिष्कलाई सचेत बनाउनै पर्छ । दक्षिण एसियामै बालविवाह गर्ने मुलुकमध्ये नेपाल तेस्रो स्थानमा पर्नुले पनि बाल स्वास्थ्यमा खतरा बढी रहेको पुष्टि हुन्छ । सानालाई माया र ठूलाको आदर गर्ने हाम्रो आत्म गौरवलाई भाइबहिनीहरूले बुझेर अघि बढ्नुपर्ने सचेतना र जनचेतनाको खाँचो खड्केको देखिन्छ । 

   
बाल सहभागितामा गुञ्जिएका स्वर, अनाथ आश्रमले दिएका सहारा अनमोल छन् । अनाथालय, शिक्षालय, बाल आश्रम, बाल अपाङ्ग मैत्री कार्य सह्राहनीय लाग्छन् । यौनशोषण, श्रमशोषण, लागूपदार्थ दुव्र्यसनीका विरुद्ध गरिएका सचेतनामूलक र सहभागितामूलक कार्यक्रम गरिने गरेको पाइन्छ । साहित्यिक वातावरण दिने, खेल, मनोरञ्जनमूलक वातावरण प्रदान गर्नेजस्ता नेपालको संविधानमा उल्लेख भएअनुसारका सर्वाङ्गीण व्यक्तित्व विकासमा लागिपरेका सङ्घ संस्थाले बालअधिकारलाई दिएको सम्मान कम मूल्यका छैनन् । बालबालिकासम्बन्धी ऐनले गरेको व्यवस्था र नियम वास्तवमै सान्दर्भिक लाग्छन् । सेना, प्रहरी जस्ता संवेदनशील क्षेत्रमा सामेल गराई शारीरिक, मानसिक शोषण गर्न नपाइने पक्षदेखि संविधानका घर, विद्यालय तथा अन्य स्थानमा यातना दिन नपाइने नियमले धेरैलाई सचेत तुल्याउँछ नै । ‘बालकको पहिलो पाठशाला घर हो’– हिल्डा टावाले भनेका छन् । बालअधिकारको संरक्षण सचेतना नै देश विकासको मजबुत द्वार हो तसर्थ त महाकवि देवकोटाले भनेका छन्– ‘हे प्यारा शिशु फेरि बन्न म सके बन्ने थिएँ बालक ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमेश भट्टराई ‘सहृदयी’
रमेश भट्टराई ‘सहृदयी’
लेखकबाट थप