बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाको दाबीः कम्युनिष्टले जिते एकदलीय तानाशाही आउनेछ

मङ्गलबार, २८ कात्तिक २०७४, १७ : ०६
मङ्गलबार, २८ कात्तिक २०७४

बाँके–प्रधानमन्त्री तथा नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले आसन्न निर्वाचनमा नेपाली कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने दाबी गरेका छन् । 

प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्जमा आयोजित कांग्रेसका कार्यकर्ताहरुको भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका छन् । 

“नेपाली कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन” प्रधानमन्त्री देउवाले भने “नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ , त्यसैले यो चुनाव जित्न आवश्यक छ ।”

प्रधानमन्त्री देउवाले अहिलेको अवस्था चिन्ताजनक भएको पनि उल्लेख गर्दै भने,“तपाईहरु ढुक्क भएर नबस्नुहोला, यो चुनाव कुनैपनि हालतमा जित्नुपर्छ भन्ने ढंगले परिचालित हुनुहोला । ”

सो अवसरमा प्रधानमन्त्री देउवाले नेपाली कांग्रेसले स्थापनाकालदेखि नै अधिनायकवादलाई परास्त गर्दै आएको उल्लेख गर्दै भने,“२००७ सालको जनक्रान्तिले राणा शासन फाल्यौ, २०४६ सालको आन्दोलनले पञ्चायत फाल्यौ, २०६२–६३ को आन्दोलनले अधिनायकबादी राजतन्त्र फालेर लोकतन्त्र ल्याएको हो , जनताको अधिकारकालागि लड्ने पार्टी कांग्रेस बाहेक अर्को छैन ।”

उनले  निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउन सिंगो पार्टी एकढिक्का भएर लाग्न पनि निर्देशन दिए । 

उनले  नेपालगञ्ज मध्यपश्चिमको केन्द्र रहेको र नेपालगञ्जको माहोलको प्रभाव कर्णालीसम्म पर्ने भएकोले बाँके र यससंग जोडिएका बर्दिया,सुर्खेत,दाङ् सबै जिल्लामा नेपाली कांग्रेसलाई बिजयी बनाउन सम्पूर्ण कार्यकर्ता खट्नु पर्ने बताए । 


प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाको सीट घटेको र निर्वाचनमा टिकट दिनुपर्ने योग्य आकांक्षीहरु धेरै भएकोले सबैलाई  टिकट दिन नसकिएको बताउदै पार्टीको नेतृत्वमा सरकार बनेपछि योग्यता,क्षमता र दक्षता हेरी सबैलाई जिम्मेवारी दिइने बताएका थिए । 


प्रधानमन्त्री देउवाले मंगलबार नेपालगञ्जमा क्षेत्रीय सुरक्षा गोष्ठिलाई सम्वोधन गरेका थिए । 

प्रधानमन्त्री देउवाले अन्य दलका प्रतिनिधि, लोकतान्त्रिक गठबन्धनका प्रतिनिधि सहित स्थानीय नेताहरु र नेपाली कांग्रेसका सो क्षेत्रका उम्मेदवार तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप