बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एल्लो प्यागेडामा  कांग्रेसविरुद्ध यसरी खनिए केपी ओली

मङ्गलबार, २८ कात्तिक २०७४, १७ : १८
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौं– पछिल्लो समय कांग्रेसले साम्यवादको धेरै नै चर्चा गरिरहेको छ । कम्युनिष्टहरुले गर्नुपर्ने चर्चा कांग्रेसले गर्न थालेपछि यसवारे चर्चा र बहस पनि बाक्लिदै गएका छन् । 

यहि मेसोमा मंगलबार राधानीको होटल एल्लो प्यागोडा भएको एक कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले आफुहरुले अहिले साम्यवाद नभएर समाजवाद ल्याउन चाहेको प्रष्ट्याए । 

उनले कांग्रेसप्रति व्यांग्य गर्दै भने ‘हामी लोकतन्त्रवादी भएको आइएसओ प्रमाणपत्र सानेपा गएर लिने होइन । हामी आफैलाई थाह छ लोकतन्त्र के हो भनेर ? बरु काँग्रेसले जालझेल गर्न बन्द गरोस् ।’

कार्यक्रममा ओलीले अहिले कांग्रेसले सत्ताको दुरुपयोग गरेको पनि बताए । उनले भने‘नेपाली जनताले कर तिरको पैसा कांग्रेसको सरकारले गृहमन्त्रालयबाट आफ्ना कार्यकर्ताहरुलाई बाँडिरहेको छ । जुन राम्रो होइन ।’

बामगठबन्धन तर्फका काठमाडौका उम्मेदवारहरुबीच परिचयात्मक कार्यक्रममा उनले अगाडि भने, ‘जनता सिटामोल पाइरहेका छैनन् तर सरकार भने कांग्रेसका कार्यकर्तालाई २३ करोड रुपैयाँ बितरण गर्छ । ’ 

कांग्रेसले साम्यवाद के हो भन्ने कुरा थाहानै नपाएर बोलिरहेको पनि ओलीको आरोप थियो । उनले भने ‘साम्यवाद थाहा पाएको भए यस्तो भन्दैन थियो होला । साम्यवाद भनेको त उच्चतम राज्यव्यवस्था हो । तर आफूहरु अहिले त्यो व्यवस्था ल्याउने अवस्थामा नभएको पनि प्रष्ट पारे ।’ 

सरकारले अघिल्लो सरकारले गरेको बुढीगण्डकीबारेको निर्णय उल्टाएको प्रति ओलीले कांग्रेसलाई चन्दा नदिएका कारण खोसेको आरोप लगाए । 

उनले भने ‘काँग्रेस लाइसेन्स बेचेर खान पल्केको थियो । चिनियाँ कम्पनीले चन्दा नदिएको झोंकमा उसले ठेक्का खोसेको हो ।
काग्रेसले बहुदलपछि जतिजति बेला बहुमत ल्यायो देशलाई भड्खालोमा हालेको ओलीको भनाई थियो । ‘पहिलो पटक बहुमत ल्यायो ३८ वटा उद्योग बेचर खायो ।

अब उसलाई भोट दिनुको कुनै अर्थ छैन ।’ देश अहिले दोबाटोमा उभिएको भन्दै ओलीले समृद्धि रोज्ने की बरबादी ?लोकतन्त्र रोज्ने कि लुटतन्त्र ? निर्णय गर्ने अधिकार जनताको हातमा रहेको उनको भनाइ थियो । 
कांग्रेस विचार नभएको खालि भाडो भएकाले उसलाई भोट दिनुको कुनै अर्थ नरहेको ओलीले बताए । 
कार्यक्रममा एमाले नेता माधवकुमार नेपालले पार्टी एकताका लागि अहिलेको जस्तो समय अब कहिल्यै नआउने बताए । ‘अहिले कम्युनिष्ट एक भएका छौ । यो समय सदुपयोग भएन भने जिवनभर पछुताउनु पर्नेछ ।’

कम्युनिष्टहरु नै देशभक्त राष्ट्रियताप्रेमी र स्वाभीमानी भएको नेपालले बताए । 

माओवादी केन्द्रका सचिवालय सदस्य तथा ६ नं क्षेत्रका उमेदवार हितमान शाक्यले वामपन्थी गठबन्धन देशभरी जित्ने देखेर काँग्रेसले नचाहिदो हल्ला गरेको आरोप लगाए । 

कार्यक्रममा एमाले काठमाडौँ निर्वाचन परिचालन कमिटीका संयोजक एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौँ जिल्लामा स्थानीय निर्वाचनमा पनि वामपन्थीको पकड स्थापित भएकाले आफूहरुको विजय निश्चित भएको बताए । 

माओवादी केन्द्रले हिमाल शर्माको नेतृत्वमा काठमाडौ जिल्ला परिचालन कमिटी गठन गरेको जानकारी गराइएको थियो । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसलगायत दलबाट रमेशकुमार खड्का, बालकृष्ण महर्जन, रविरत्न तुलाधार, अनन्तकुमार घिमिरेलगायत करिब ५० जना एमालेमा प्रवेश गरेका थिए । 

काठमाडौ जिल्लामा प्रतिनिधिसभाका १० क्षेत्रमध्ये एमालेका सात र माओवादी केन्द्रका तीन उम्मेदवार छन् । काठमाडौँमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा अनिल शर्मा, २ मा नेता नेपाल, ३ मा कृष्ण राई, ४ मा डा राजन भट्टराई, ५ मा एमाले महासचिव ईश्वर पोखरेल, ६ मा झक्कु सुवेदी, ७ मा रामवीर मानन्धर, ८ मा जीवनराम श्रेष्ठ, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा नेता शाक्य छन् । 

यसैगरी प्रदेशसभा सदस्यका २० उम्मेदवारमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, सानुकुमार श्रेष्ठ, रामेश्वर फुयाँल, केशव स्थापित, डा अजयक्रान्ति शाक्य, नारायण सिलवाल, रमा आले मगर, विष्णुकुमारी भुसाल, निर्मल कुइँकेल, योगेन्द्र संग्रौला, केशव पोखरेल, दिलीप महर्जन, गणेश दुलाल, मणिराम फुयाँल, वसन्त मानन्धर, दीपक निरौला, प्रकाश श्रेष्ठ, रुद्र बराइली, राजेश शाक्य र कुसुमकुमार कार्की छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप