मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

गौचन हत्या प्रकरण : उधारोमा गोली प्रहार, ३६ दिनपछि यसरी पक्राउ परे (सिसीटिभी फुटेजसहित)

मङ्गलबार, २८ कात्तिक २०७४, १७ : ३७
मङ्गलबार, २८ कात्तिक २०७४

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्याको ३६ दिन पछि प्रहरीले पाँच जना हत्या आरोपी सार्वजनिक गरेको छ । मंगलबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्यामा प्रत्यक्ष संलग्न पाँच अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । यद्यपि हत्याका मुख्य योजनाकारहरु भने अझै फरार रहेका छन् । 

कसरी पक्राउ परे अभियुक्त ? 
गत असोज २३ गते काठमाडौंको शान्तिनगरबाट नयाँ बानेश्वर जाने क्रममा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनमाथि गोली प्रहार गरी हत्या भएको थियो । उनको हत्यापछि प्रहरी तीब्र रुपमा अनुसन्धान थालेको थियो । अभियुक्तहरुलाई काठमाडौंका विभिन्न ठाँउका साथै काठमाडौं बाहिरबाट पक्राउ गर्न सफल भएको प्रहरीको भनाई छ । हत्याराहरुले गौचनलाई एक महिना अघिदेखि पछ्याइरहेको घटना अनुसन्धान टोलीका प्रमुख डिआइजी गणेश केसीले जानकारी दिए ।  

हत्यामा सुटरको भूमिका निभएका नुवाकोट पञ्चकन्या गाँउपालिका ५ का २१ बर्षका राविज स्याङ्ताङ्लाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका अन्यमा हतियार तथा मोटर साइकल ब्यवस्थापक पर्सा, कालिकामाई गाँउपालिका १ का ३५ बर्षका शिवजी महतो, हतियार ब्यवस्थापक भारत बेतिया, ग्राम पञ्चायत चौबेटोला ७ बस्ने २४ बर्षका मुकेश कुमार पाण्डे, मोटरसाइकल ब्यवस्थापक ठोरी गाँउपालिका ५ बस्ने बर्ष १८ का सन्तोष गुरुङ,  घटनामा सहयोगीको भूमिका निर्वाह गरेका काठमाडौं नार्गाजुन नगरपालिका ४ बस्ने बर्ष २२ का प्रकाश बुढाथोकी पक्राउ परेका हुन् । 

यी हुन् जसले गौचनमाथि गोली बर्साए (फोटोफिचर)

कसरी भएको थियो हत्या ?

असोज २३ गते निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचन पौने ३ बजे आफ्नो कारमा शान्तिनगरबाट नयाँ बानेश्वर तर्फ जाँदै गर्दा प्रयाग मार्ग चोकमा गोली प्रहार भयो । गौचनका चालकले कार चलाइरहेका बेला चालकको अगाडि सिसामा इटा प्रहार भयो भने लगतै गौचनमाथि २ राउण्ड गोली हानेर हत्या गरियो । 

प्रहरीले गौचनमाथि प्रहार गरिएको गोली फरक फरक भएको जनाएको छ । एकजना सुटर राजिव स्याङ्ताङ रहेको प्रहरीको निष्कर्ष छ । प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको सिसी टिभी फुटेजका आधारमा हत्यापछि मोटरसाइकलको पछाडि बसेर फरार भएका थिए । उनले हत्या गर्दा टोपी र ज्याकेट लगाएका थिए । बाटोमा टोपी र ज्याकेट फ्याँक्दै आफ्नो हुलिया बद्ल्दै सिनामंगलतर्फ भागेका थिए । उनले हत्या गरेको दिन लगाएको छिर्के मिर्के कपडामै प्रहरीले पक्राउ गर्न सफल भएको जनाएको छ । 

हत्याराहरुले एक महिना अघि देखि नै गौचनलाई हत्याका लागि निगरानी गर्दै आइरहेका थिए । हत्याका लागि उनीहरुले भारतबाट मोटरसाइकल चोरी गरी नेपाली नम्बर प्लेट प्रयोग गरेका थिए । प्रहरीले बरामद गरेको नेपाली प्लेट नं. बा ३५ प. २४६१ भएको मोटर साइकल हत्यामा संलग्न शिवजी महतोले भारतको बेतियाबाट नेपाली रुपैयाँ १८ हजारमा खरिद गरी श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए । 

यस्तै शिवजी महतोले भारतको बेतियाबाट नेपाली रुपैँया ५५ हजारमा हतियार खरिद गरी ६५ हजार नेपाली रुपैँयामा श्याम गुम्बे गुरुङलाई बिक्री गरेका थिए । सोही मोटरसाइकल हत्याका लागि प्रयोग भएको र गौचनलाई प्रहार गरिएको गोली फर फरक हतियाबाट प्रहार गरिएको प्रहरीको निष्र्कष छ । 

आजबाट घटनाको औपचारिक अनुसन्धान शूरु भएकोले हत्या बारेका बिस्तृत अनुसन्धान पछि थाहा हुने महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रमुख एआइजी जयबहादुर चन्दले जानकारी दिए ।

हत्याको कारण फिरौती, सुटरहरुको काम उघारोमै 

गौचन हत्याको मुख्य कारण फिरौती रकम रहेको प्रहरीको निष्कर्ष छ । पारिवारिक स्रोतले दिएको जानकारी र हत्याराहरुको दावीका आधारमा फिरौतीका लागि हत्या भए पनि कति रकम मागेको भन्ने खुलेको छैन । 

हत्याका मुख्य योजनाकार समिरमान सिंह बस्नेत रहेको प्रहरीको भनाई छ । अहिले पक्राउ परेका अभियुक्तहरु योजनाको कार्यान्वकर्ता मात्र रहेको र उनीहरुले हत्याबापत पाउने रकम समेत नपाएको प्रहरीले जनाएको छ । 

हत्याका योजनाकारसमेत रहेका ८ जनाको समूह भने फरार रहेको प्रहरीको भनाई छ । समिरमान सिंह बस्नेत, मनोज पुन, लोप्साङ, बोका भनिने गंगा लिङ्देन लिम्बु, श्याम बहादुर गुम्बे, काले दाई भन्ने अम्बर बहादुर राना, रोशन बुढाथोकी र अजय थापा रहेका छन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप