शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी भयो खुकुरी प्रहारबाट तीनजनाको हत्या: यस्तो छ सुमनको प्रतिक्रिया

खुकुरी नचाउँदै बाटोमा कुदे, भेट्नेलाई प्रहार गरे
बुधबार, २९ कात्तिक २०७४, ०७ : ५५
बुधबार, २९ कात्तिक २०७४

मकवानपुर (मनहरी) – मंगलबार साँझ एकाएक सनसनी मच्चियो । मनहरी ७ समिल डाँडामा खुकुरीले काटेर तीन जनाको हत्या भयो ।

३२ बर्षका सुमन बराइलीले गर्दनमा खुकुरी प्रहार गरी तीन जनाको हत्या गरे ।

मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन छन् । घटनास्थल मनहरी बजारबाट १ किलोटिर पश्चिममा पर्छ । 

सीताराम र सुमनको सम्बन्ध
-मृतकमध्ये एक हुन् ५२ बर्षीय सीताराम धिताल । 

-उनको सानो एकतले, दुईपाखे फुसको घर छ । 

-हर्नामाडीतिरबाट केही बर्षअघि मात्रै उनी बसाइँ सरेर आएका हुन् ।

-उनी ज्याला मजदुरीका काम गर्थे । 

-उनको घरभन्दा ५० मिटर दुरीमा एउटा अर्को चिटिक्कको घर छ । त्यो घर हो सुमन बराइलीको । 

-सुमनको कान्छो छोरा र सीतारामको कान्छो छोराबीच केही महिनाअघि मात्रै मितेरी साइनो जोडिएको रहेछ । 

-३२ बर्षका सुमन र ५२ बर्षका सीताराम मित साइनोमा बाँधिए, छोराहरु मार्फत । 

-सुमन केही बर्षयता असामान्य अबस्थामा रहेछन् । केही समय पहिले हेटौँडा लगेर उपचार गर्दा मानसिक रोगी भएकाले औषधी पनि खुवाइएको रहेछ । 

-केहीदिनदेखि सुमन घरबाट हराएका थिए । उनलाई खोजेर सोमबार घर ल्याइयो ।

-सुमन १ बर्षअघि मात्रै समिलडाँडामा बस्न आएका हुन् । 

-कर्राबाट खोजेर ल्याइएका सुमन फेरि हराए र मंगलबार बिहानै फेरि खोजेर ल्याइयो ।

-उनले आफ्नै मित, मित छोरा र बाटामा हिँडिरहेका छिमेकीलाई खुकुरी प्रहार गरी हत्या गरे । 

यसरी भयो हत्या ?
-मंगलबार साँझ काम सकेपछि सीताराम सुमनको घरमा गए ।

-घरमा बस्नु, काम गर्नु भनेर सम्झाउन उनी गए ।

-सुमन भने चुरियामाईले बोलाको छ भन्दै बिहानैदेखि असामान्य भाषा बोल्दै थिए । 

-यत्तिकैमा घरको आँगनमा मित सीतारामलाई खुकुरी हाने । 

-मितको आधाभन्दा बढी गर्दन काटियो, त्यहीँ ढले ।

-बुवालाई खुकुरी हानेको देखेर दौडेर सीतारामका छोरा सुदन आइपुगे ।

-छोरालाई पनि त्यसैगरी गर्दनमै खुकुरी प्रहार गरे।

-त्यसपछि नांगो खुकुरी नचाउँदै बाटैबाटो सुमन हिँडे । 

-बाटोमा हिडिरहेकी दाईकी छोरी रोशनीलाई पनि खुकुरी प्रहार गरे । तर रोशनी डरले कान्लाबाट लडिन्, खुकुरीको चुच्चाले उनको लुगा अलिकति च्यातियो  ।

-गाउँलेहरुको भागाभाग भयो । 

वृद्धलाई बाटोमै खुकुरी प्रहार
-एकजना बृद्धा जीतबहादुर ब्लोनलाई सुमनले बाटोमा भेट्यो ।

-सबैजनाले ब्लोनलाई भाग्न भने । तर उनले कान नसुन्ने रहेछन् । उनको आँखा पनि कमजोर रहेछ । 

-सुमनले ब्लोनलाई पनि गर्दनमै खुकुरी प्रहार गर्छ, ब्लोन बाटामै ढल्छन् ।

-खुकुरी लिएर प्रहार गर्दै हिँडेका सुमनलाई युवाहरुले पछ्याए  ।

-तर उल्टै सुमनले खुकुरी ताकी ताकी युवाहरुलाई लखेटे ।


प्रहरी र सुमनबीच लखेटालखेट
-स्थानीय कसैले घटनाको जानकारी फोनमार्फत प्रहरीलाई गराए ।

-प्रहरी निरीक्षक चित्रबहादुर घलेसहितको टोली घटनास्थल आइपुग्छ ।

-प्रहरीसहित गाउँले मिलेर सुमनलाई लखेट्छन् । तर, उल्टै प्रहरीलाई समेत सुमनले लखेट्न खोज्छ । 

-घलेले प्रहरी उपरिक्षकलाई फोन गरेर गोली हान्ने आदेश माग्छन् ।

-गोली हान्नु भन्ने जवाफ अउँछ । तर, गाउँलेले हानेको ढुंगा लागेर सुमन लड्न पुग्छ । प्रहरीले उनलाई पक्राउ गर्छ । 


प्रहरी कार्यालयमा सुमनले के भने ?
-प्रारम्भिक अनुसन्धानबाट यो नितान्त मानसिक सन्तुलन गुम्दाको परिणाम हो भन्ने निष्कर्ष निकालिएको छ ।

-प्रहरी कार्यालयमा सुमनसँग कुरा गर्दा उनी बेहोसीकै कुरा गर्छन् । 

-उताबाट आएका मान्छेले मेरो आमाबुवा, बुढी, छोराछोरी सबै मारे भन्छन् । 

-उता भनेको कता भनेर प्रश्न गर्दा उनी भन्छन् । गढीमाईबाट मलाई यस्तो आदेश आएको भन्छन् ।

(पत्रकार शिवकुमार काशीको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप