शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट लुभ्र अबुधावी संग्रहालयको अवलोकन, शेख जायद मस्जिदको भ्रमण

बुधबार, २९ कात्तिक २०७४, ०९ : ५५
बुधबार, २९ कात्तिक २०७४

अबुधावी - राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित लुभ्र संग्रहालयको अवलोकन गरे । 

राष्ट्रपति भण्डारी लुभ्र अबुधावी पुग्नु हुँदा उनलाई यहाँका निर्देशक म्यानुएल राबातले स्वागत गरे । उक्त अवसरमा निर्देशक राबात तथा अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई विभिन्न कलाकृतिका विभिन्न पक्षका विषयमा जानकारी गराएका थिए । 
उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द पनि हुनुहुन्थ्यो । नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि कार्यवाहक नेपाली राजदूत नेत्रबहादुर टण्डन पनि उक्त अवसरमा उपस्थित थिए । 

लुभ्र अबुधावी कला तथा सभ्यताको संग्रहालय हो । यस संग्रहालयको उद्घाटन २०१७ नोभेम्बर ८ मा भएको हो । यो संग्रहालय अबुधावी तथा फ्रान्सेली सरकारबीच ३० वर्षीय सम्झौताको एक भाग हो र यो सादियत द्वीप सांस्कृतिक जिल्लामा रहेको छ । 

यो संग्रहालय २४ हजार वर्गमिटर क्षेत्रमा फैलिएको छ र यहाँ ८,००० वर्गमिटर क्षेत्रमा प्रदर्शन कक्ष रहेका छन् । यो अरेबियाली प्रायःद्वीपमा सबैभन्दा ठूलो संग्रहालय ठानिन्छ । 

लुभ्र अबुधावी संग्रहालय निर्माण गर्न ६० करोड दिराम खर्च भएको अनुमान गरिएको छ । ‘लुभ्र’ नामसँग सम्बन्धित हुन अबुधावीले ५२ करोड ५० लाख अमेरिकी डलर खर्च गरेको छ र कला प्राप्त गर्न विशेष प्रदर्शन तथा व्यवस्था गर्न थप ७४ करोड ७० लाख अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ । 

यहाँ विश्वभरबाट ल्याइएका कला प्रदर्शन गरिएको छ र विशेषगरी पूर्वीय र पश्चिमी कलाबीचको अन्तर हटाउन यहाँ प्रयास गरिएको छ । 

राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स ९युएई० को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा यस मुलुकको औपचारिक भ्रमणमा सोमबार साँझ यहाँ आईपुगेका हुन् । 

नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारी, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि रहेका थिए । 
 

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क मस्जिदको अवलोकन गरेकी हुन् । 

राष्ट्रपति भण्डारी ग्रान्ड मस्क पुग्नुहुँदा त्यहाँका महानिर्देशक शेख युसिफ अल ओबाइदीले स्वागत गरेका हुन । 

महानिर्देशक अल ओबाइदी तथा अन्य अधिकारीहरुले राष्ट्रपति भण्डारीलाई ग्रान्ड मस्कका विभिन्न पक्षका विषयमा जानकारी दिएका थिए । 
उक्त अवसरमा राष्ट्रपति भण्डारीले ग्रान्ड मस्कमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो भने उनलाई उक्त केन्द्रका तर्फबाट मस्जिदको इतिहास तथा कलासम्बन्धी पुस्तक उपहारस्वरुप दिइएको थियो । 

उक्त अवसरमा राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द, नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उपस्थित थिए । 

शेख जायद ग्रान्ड मस्कलाई यस मुलुकमा प्रमुख प्रार्थनास्थलको रूपमा लिइन्छ । यसको डिजाइन सिरियाली वास्तुविद् युसेफ अब्देल्कीले गरेको हो । 
युएईका पूर्व राष्ट्रप्रमुख शेख जायद बिन सुल्तान अल नेह्यानले यस परियोजनाको आरम्भ गर्नुभएको हो । उहाँले वास्तुकलाको ऐतिहासिक तथा आधुनिक मूल्यका साथमा इस्लामिक विश्वको सांस्कृतिक विविधतालाई एकीकृत गर्न यो मस्जिदको स्थापना गर्न चाहेको बताइन्छ । 

यसै मस्जिद नजिकैको भागमा उहाँको समाधिस्थल छ । यो मस्जिद सन् १९९६ देखि २००७ बीच निर्माण भएको हो र यो संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो मस्जिद पनि हो । यसको भवनले १२ हेक्टर भूमि ढाकेको अनुमान गरिएको छ र यसका आफ्नै बाह्य संरचना र गाडी बिसौनी छन् । यस मस्जिदले शैक्षिक, सांस्कृतिक तथा भ्रमण आदानप्रदान पनि गर्छ । 

यस मस्जिदमा रहेको पुस्तकालयमा २०० वर्षभन्दा अगाडिदेखिका विज्ञान, सभ्यता, हस्तलिपि, कला तथा सिक्काका दुर्लभ प्रकाशन उपलब्ध रहेको बताइन्छ । यहाँ अरबी, फ्रेन्च, इटाली, स्पेनी, जर्मन तथा कोरियाली भाषाका सामग्री छन् । 

राष्ट्रपति भण्डारीका साथ उहाँकी छोरी निशाकुसुम भण्डारीका साथै राष्ट्रपति कार्यालय तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चार माध्यमका प्रतिनिधि पनि उपस्थित थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप