शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आयरल्याण्डलाई हराउँदै डेनमार्क विश्वकपमा

बुधबार, २९ कात्तिक २०७४, १० : ११
बुधबार, २९ कात्तिक २०७४

लण्डन । क्रिस्टियन एरिक्सनको ह्याट्रिकको मद्दतले रिपब्लिक अफ आयरल्याण्डलाई हराउँदै डेनमार्क सन् २०१८ मा हुने विश्वकपमा छनौट भएको छ ।

आयरल्याण्डलाई उसैको घरेलु मैदानमा ५–१ को विशाल अन्तरले हराउँदै डेनमार्कले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पहिलो लेग गोलरहित बराबरीमा सकिएपछि दोस्रो लेगमा घरेलु टोलीले उत्कृष्ट शुरुवात गरेको थियो । खेलको छैटौँ मिनेटमा नै डिफेन्डर सेन डफीले गोल गर्दै अग्रता दिलाएका थिए ।

तर, पहिलो हाफमा तीन मिनेटभित्र दुई गोल गर्दै डेनमार्क खेलमा फर्किएको थियो । साइरस क्रिस्टीले आत्मघाती गोल गरे भने एरिक्सनले सुन्दर गोल गर्दै डेनमार्कलाई अग्रता दिलाए ।

खेलको दोस्रो हाफमा भने डेनमार्कले गोलको वर्षा गर्न पुग्यो । टोटनहमका मिडफिल्डर एरिक्सनले दुई गोल थपे भने खेलको अन्त्यतिर आर्सनलका पूर्व स्ट्राइकर निकोलास बेन्डटनरले पेनाल्टीमार्फत गोल गरे ।

ह्याट्रिकसँगै एरिक्सनले डेनमार्कका लागि छनौट चरणमा ११ गोल गर्न सफल भएका छन् ।

आयरल्याण्डले घरेलु मैदानमा यसअघि खेलिएका ११ खेलमध्ये एउटामात्र हार बेहोरेको थियो । तर, डेनमार्कसँग स्तब्ध भएपछि सन् २००२ पछि विश्वकप खेल्ने सपना चकनाचुर भएको छ । घरेलु मैदानमा यति ठूलो अन्तरले आयरल्याण्ड पराजित भएको सन् २०१२ पछि पहिलो अवसर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप