शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या

बुधबार, २९ कात्तिक २०७४, १० : २७
बुधबार, २९ कात्तिक २०७४

बुटवल -शरीरमा पानीको मात्रा पर्याप्त नहुनु र लामो समयसम्म खेतबारीमा काम गर्ने कारणले रुपन्देहीका अधिकांश किसानमा मिर्गौलामा समस्या देखिएको पाइएको छ । 

खेतबारीमा काम गर्दा लामो समयसम्म शरीरलाई चाहिने पर्याप्त पानी नपिउने र लगातार काम गर्दा शरीरमा रहेको पानी पसिनाको माध्यमबाट बाहिरिने हुँदा शरीरमा पानीको मात्रा कम भएर मिर्गौलामा संक्रमण देखिएको हो । 

स्वास्थ्य मन्त्रालय र नेपाल किड्नी फाउण्डेशन, काठमाडौँको आयोजना र ब्रिज अफ लाइफ, अमेरिकाको सहयोगमा रुपन्देहीका विभिन्न स्थानमा सञ्चालित निःशुल्क मिर्गौला परीक्षण शिविरमा झण्डै १८ प्रतिशत व्यक्तिमा मिर्गौलामा समस्या देखिएको फाउण्डेशनका अध्यक्ष डा शक्ति बस्नेतले जानकारी दिनुभयो । 

खासगरी किसान केन्द्रित यो शिविरमा लक्षित वर्गमा मुख्यतया जनचेतनाको मुख्य समस्या रहेको उहाँले बताउनुभयो । यसमध्ये पनि अधिकांस ५० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिमा मिर्गौलामा समस्या देखिएको छ । 

ग्रामीण क्षेत्रका सर्वसाधारणमा मिर्गौला स्वस्थ राख्नुपर्ने विषयमा जनचेतनाको अभावसँगै मानिसको दैनिक खानपिन र बानी व्यहोरामा सुधार नहुनु र अनावश्यक तनावजस्ता कारणले उच्च रक्तचाप र मधुमेहको समस्या धेरैमा देखिएको डा बस्नेतले बताउनुभयो । उच्च रक्तचाप र मधुमेहको समस्या भएका अधिकांश बिरामीको मिर्गौलामा संक्रमण देखिएको समेत उहाँले बताउनुभयो । 

उहाँले मानिसले मिर्गौला स्वस्थ राख्न पानी तथा झोल पदार्थ बढी पिउने, खानपानमा ध्यान दिने र नियमित रक्तचाप, मधुमेह र मिर्गौलाको परीक्षण गराउनु जरुरी रहेको समेत बताउनुभयो । 

सर्वसाधारणलाई मिर्गौलाको निःशुल्क परीक्षणसँगै मिर्गौला स्वस्थ राख्न जनचेतना जगाउने उद्देश्यले नेपाल किड्नी फाउण्डेशनले देशका ग्रामीण क्षेत्रमा यस किसिमले निःशुल्क शिविर सञ्चालन गर्दै आएको कार्यक्रम संयोजक गणेश उप्रेतीले जानकारी दिनुभयो । 

रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १३ र १४ को नयाँगाउँमा दुई दिन र तिलोत्तमा नगरपालिकाको कोटिहवामा दुई दिन यो निःशुल्क शिविर सञ्चालन गरिएको छ । 

उहाँले रुपन्देहीका तीन स्थानमा सञ्चालन गरिएका शिविरबाट झण्डै एक हजार २०० जनाले निःशुल्क सेवा प्राप्त गरेको र यसक्रममा बिरामीलाई रोगअनुसारको निःशुल्क औषधिसमेत वितरण गरिएको जानकारी दिनुभयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप