बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आलोचनाको केन्द्रमा नीति शाह : भन्छिन्, ‘मेरो कुरालाई गलत ढंगले बुझियो’

बुधबार, २९ कात्तिक २०७४, १८ : ०४
बुधबार, २९ कात्तिक २०७४

काठमाडौं –जापानमा आयोजित ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्दै पुगेकी मिस नेपाल इन्टरनेशलन नीति शाह विवादमा तानिएकी छन् । नीतिले ‘मिस इन्टरनेशनल’को एउटा कार्यक्रममा देश र देशका महिलाको शिक्षाको अवस्थाबारेमा राखेको धारणाको विषयलाई उनको अहिले समाजिक सञ्जालमा चर्काे आलोचना भइरहेको छ । 

‘म नेपालबाट आएकी हुँ, जुन एकदमै विकासशील देश हो । हामी शिक्षाको आधारभुत अधिकारमा एकदमै पछाडि छौं’ नीतिले कार्यक्रममा बिचार राख्दै गइन् ‘एकदमै दुःख लाग्दो कुरा के छ भने, हाम्रो देशमा दुई वर्गका महिला छन् । पहिलो वर्गमा शिक्षित महिला पर्छन्, जो शहरी क्षेत्रमा बस्छन् । अर्को वर्गमा ग्रामीण महिलाहरु छन्, जसलाई स्वास्थ्य, सरसफाइ तथा उनीहरूका आफ्नै क्षमता अनि उपलब्धिका सम्भावनाबारे केही थाहा छैन ।’

नीतिले आफू शहरी महिला भित्र पर्ने बताउँदै देशका ग्रामिण क्षेत्रका धेरै महिलाहरु वेश्याबृत्तिका लागि विभिन्न देशमा बेचिने गरेको समेत सोही क्रममा बताएकी छन् । उनले अगाडि भनेकी छन्, ‘ग्रामीण महिलाहरुलाई आफू कहाँ के गर्न जाँदै छु भन्ने थाहा नै हुँदैन । मेरो देशका प्रायः महिलाहरुसँग दुई वटा विकल्प छन् । कि त व्यावसायिक प्रगति छान्नुपर्छ कि व्यक्तिगत र पारिवारिक चाहना ।’ 

नीतिले कार्यक्रममा ब्यक्त गरेका यी विचारले अहिले सामाजिक सञ्जालमा उनको बिरुद्ध चर्का आवाजहरु उठिरहेका छन् । हुँदाहुँदा उनको अंग्रेजीको पनि मजाक उडाइएको छ । उनलाई अनुहारको मात्र राम्रो युवती भनेर गाली गर्ने थुप्रै देखिएका छन् । सामाजिक सञ्जालमा उनलाई ब्यङ्ग्य गर्दै ट्रोल समेत बनेको देख्न सकिन्छ । 
 

के भन्छिन् नीति ?
यता नीतिले भने सोवा विश्वविद्यालयमा भएको छलफलका क्रममा आफूले दिएको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा भइरहेको आलोचनाबारे फेसबुकमार्फत स्पष्टिकरण दिएकी छिन् । उनले प्रष्टिकरण दिँदै आफूले भनेको कुरालाई गलत ढंगले बुझिएको उनले बताएकी हुन् । उनले नेपालको लैंङ्गिक अवस्थाबारे मात्र कुरा राखेको बताउँदै सो कुरा सत्य भएको पनि बताइन् । उनले यसबाट कसैलाई चोट परेकोमा माफी पनि मागेकी छिन् ।

को हुन् नीति ?
नीति शाह ‘मिस नेपाल इन्टरनेशनल २०१७’को उपाधि विजेता हुन् । मोडलिङबाट उनी यो सौन्दर्य प्रतियोगीतामा छिरेकी हुन् । उनी र्याम्प मोडलिङमा चिनिएकी मोडल पनि हुन् । मिस नेपाल बन्ने चाहना पालेकी  २० वर्षीया नीति सेन्ट जेभियर्समा पत्रकारिता बिषयमा अध्यायरत छिन् । ११ कक्षा अध्ययनरत छँदै मोडलिङ सुरु गरेकी उनले १६ वर्षकै उमेरमा फोटोसुट गराएकी थिइन् । विभिन्न पत्रपत्रिकाको कभर गर्ल बनिसकेकी नीतिलाई नेपालकै सुन्दर महिलाहरुको सूचीमा पनि राख्ने गरिन्छ । नीतिका बुवा अवकाश प्राप्त सैनिक हुन् भने आमा शिक्षिका । सामाजिक सञ्जालमा पनि उनी निकै चर्चित रहेकी छिन् । उनका हजारौँ फलोअर्स रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप