बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

दोलखाको चुनाव : यसरी दिए कांग्रेस उम्मेदवार चौलागाईले गुरुङलाई जितको बधाई

शुक्रबार, ०१ मङ्सिर २०७४, १५ : २७
शुक्रबार, ०१ मङ्सिर २०७४

दोलखा– तस्वीरमा हात मिलाइरहेका यी दुई नेता हुन्–दोलखाबाट प्रतिनिधिसभा सदस्यतर्फका उम्मेदवार एमाले केन्द्रीय सदस्य पार्वत गुरुङ र प्रदेश सभा २ का उम्मेदवार कांग्रेस नेता केशवराज चौलागाई । 

आगामी मंसिर १० गते हुने निर्वाचनको चुनावी अभियानमा खटिएका यी दुवै नेता शुक्रवार बिहानै सदरमुकाम चरिकोटमा जम्काभेट भएपछि आपसमा खुसी साटासाट र एकअर्कामा बधाई दिएर सद्भावको संदेश फैलाएका हुन् ।

चौलागाईलाई देख्न साथ पार्वतले मुस्कानसहित हात दिए । दोलखामा आर्थिक समृद्धि र सवैलाई मिलाउन सक्ने नेताको रुपमा परिचित गुरुङले चुनाव जित्ने अभियान कहाँ पुग्यो भन्दै चौलागाईलाई प्रश्न सोधे, चौलागाईले मेरो राम्रै छ, तपाई त जित्ने पक्का भएको उम्मेदवार भन्दै बधाई दिए । केही मिटेमै दुवै नेताबीच हाँसो ठट्टा चल्यो, दुवैले बिजयको शुभकामना पनि दिए ।

एमाले र नेकपा माओवादी केन्द्र नेतृत्वको बाम गठबन्धनका साझा उम्मेदवारका रुपमा एमाले नेता गुरुङ छन् । चौलागाई काग्रेसको तर्फबाट उम्मेदवार हुन् । एक अर्कामा प्रतिस्पर्धा गरिरहेका दुवै दलका नेताबीच चरिकोटमा देखिएको दृश्यले उपस्थित अन्यलाई आश्चार्यमा पार्यो । 

आ–आफ्नो पार्टीको चुनावी सभालाई सम्बोधन गर्न दोलखाको उत्तरी क्षेत्र विगु गाउँपालिका जान निस्केका दुई नेताको भेट संयोगले चरिकोट चरिघ्याङस्थित कालिञ्चोक चलचित्र मन्दिर छेउमा भएको थियो । शुभकामना आदानप्रदान पश्चात्त नेताद्वय आ–आफ्नो गन्तव्यतर्फ लागेका थिए ।

केहीदिन अघि मात्र लोकतान्त्रिक गठबन्धनको तर्फबाट दोलखा प्रदेशसभा १ र २ का उम्मेद्वारहरु तथा काङ्ग्रेस दोलखाका नेताद्वय बर्मा लामा र केशवराज चौंलागाँईले आ–आफ्नो फेसबुक अकाउण्ट मार्फत प्रतिस्पर्धि दलका उम्मेद्वार तथा नेताहरुलाई निर्वाचन शान्तिपुर्ण बनाउन अनुरोध गरेका थिए । एमाले नेता गुरुङदेखि पोलिटब्युरो सदस्य तथा प्रदेश सभा २ का उम्मेदवार पशुपति चौलागाई र प्रदेश सभा १ का उम्मेदवार माओवादी नेता बिशाल खडकाले भने सार्वजनिक रुपमै शान्तिपुर्ण निर्वाचन गराउन अभियान चलाएका छन् । 

गत स्थानीय तहको निर्वाचनमा दोलखाको जुँगुमा कुलबहादुर तामाङ र पवटीमा नकुल भुजेलले ज्यान गुमाएकोले आसन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन शान्तिपुर्ण बनाउन मतदाता तथा सरोकारहरुले सबैमा अनुरोध गरिरहेका छन् भने सरकारले पनि त्यहि किसिमको सुरक्षा व्यवस्था मिलाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप