बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बम विष्फोट : कतै युवती, कतै रिमोट !

शुक्रबार, ०१ मङ्सिर २०७४, १६ : २८
शुक्रबार, ०१ मङ्सिर २०७४

गोरखा –आगामी मंसिर १० र २१ गते हुनलागेको निर्वाचन खारेजको नारा अगाडि सारेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनाव विरोधी गतिविधि तीव्र पारेको छ । उम्मेदवारसहितको प्रचार टोलीमाथि आक्रमकदेखि गाडीमा बमप्रहारसम्मका घटना बढिरहेका छन् ।
 
यद्यपी यो पार्टीले अहिलेसम्म घटनाको चाहिँ औपचारिक जिम्मेवारी लिएको छैन । तर, घटनाको प्रकृति हेरेर सुरक्षा निकाय भने अचम्ममा परेका छन् ।
 
यता, नेकपाका पोलिटव्यूरो सदस्य भरत बमले नेपाल बन्दसम्मका कार्यक्रम आयोजना हुने बताएका छन् । उनले थप टकरावको संकेत गरेका छन्,

पढ्नुहोस्, यो समाचार

जहाँत्यहीँ बम पड्केपछि विप्लवका नेताको बयान:अव नेपाल बन्द हुन्छ

 
यस अघि नै तनाव बढ्न सक्छ भनेर रातोपाटीले समाचार लेखेको थियो, पढ्नका लागि यहाँ जानुहोस्

चुनाव अगाडि के–के गर्ने रणनीति छ विप्लव पार्टीको ?

 
बिहीबार गोरखा–२ बाट माओवादी गठन्धन्का उम्मेद्वार नारायणकाजी श्रेष्ठ सहभागी बैठकस्थलभन्दा १ किलोमिटर टाढा गराईको विष्फोटबारे नयाँ तथ्य खुलेको छ । गोरखा नगरपालिका–११ सिर्दिखोलाको पुलमा युवतीको प्रयोग गरेर बम विष्फोट गराएको पाइएको छ ।


 
स्थानीय प्रत्यक्षदर्शीका अनुसार सिर्दिखोला पुलमा विष्फोट हुनुभन्दा केही समयअगाडि देखि नै तीन युवती घट्नास्थल वरपर आवतजावत गरिरहेका थिए । तिनै युवतीले फोहोरको थुप्रो नजिक लगेर बोरामा बम राखेको र निर्वाचन प्रचारका लागि प्रयोग भएको गाडी पुग्नासाथ विष्फोट गराएको उनीहरुको भनाई छ ।

बम विष्फोटबाट क्षती पुगेको बा २ च ९४६३ नम्बरको गाडीमा सवार गोरखा तेह्र किलोका स्थानीय राजन श्रेष्ठलका अनुसार बम पड्केको केही मिटर परतिर तीन युवतीले कुरा गरिरहेका थिए । ‘गाडीभन्दा पछाडिपट्टी तीन जना युवती देखेका थियौं’ उनले भने, ‘बम पड्किएपछि उनीहरु कता लागे, थाहै भएन् । घटनास्थलमा देखिएनन् ।’
 
जिल्ला प्रहरी कार्यालय गोरखा स्रोतका अनुसार बम पड्काउने युवतीको पहिचान भइसकेको छ । प्रहरीले उनीहरुलाई खोजीरहेको छ ।


 
रिमोटबाट विष्फोट
प्रहरी स्रोतका अनुसार युवतीले रिमोट कन्ट्रोलबाट बम विष्फोट गराएका थिए । ‘नर्वाचनलाई लक्षित गरेर यहाँ पहिलोपटक विष्फोट भएको हो’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख (एसपी) प्रकाश अधिकारीले भने, ‘रिमोटबाटै विष्फोट गराईएको आशंका गरेका छौँ, किनभने घट्नास्थलमा तार केही भेटिएन् ।’
 
बम विष्फोटलगत्तै जिल्ला प्रहरी कार्यालय गोरखाले सुरक्षा सतर्कता बढाएको छ । बिहीबार साँझनै प्रहरी प्रधान कार्यालयले गोरखामा आठ सय प्रहरी पठाइसकेको छ ।
 
निर्वाचन सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय गोरखाले ९५ जना सिनीयर अफिसर (ईन्सपेक्टर र डिएसपी)  माग गरेको थियो । तर, ३० जनाजति आउने प्रक्रियामा रहेको एसपी अधिकारीले जानकारी दिए ।
 
गोरखालाई सुरक्षाको दृष्टिले अति संवेनदनशिल जिल्लामा सूचिरकण गरेर प्रहरी प्रधान कार्यालयले १४ जना डिएसपी थप मद्दतको रुपमा पठाउने तयारी गरेको छ ।
 
‘समग्र सुरक्षा अवस्था अहिले ठिक छ’ एसपी अधिकारी भन्छन्, ‘चुनाव विथोल्ने तत्वले एउटा विष्फोट गराएर सानो संकेत गरेका छन्, हामीले पनि सादा पोशाकमा प्रहरी परिचालन गरेर निर्वाचन विरोधीको सूचना संकलन गरिरहेका छौँ ।’
 
गृह मन्त्रालयले आगामी निर्वाचनका लागि दुई लाख ६७ हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । जसअनुसार, नेपाल प्रहरी ६० हजार, नेपाली सेना ६४ हजार, सशस्त्र प्रहरी बल ३० हजार, राष्ट्रिय अनुसन्धान विभागका एक हजार ५०० र म्यादी प्रहरी ९८ हजार परिचालन भएका छन् । तर, घटना रोकिएका छैनन् । ठाँउ ठाँउमा नेकपाका कार्यकर्ता स्थानीय प्रशासनले पक्राउ गरेको छ ।
 
सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुरक्षित र भयरहित बनाउने प्रयास गरेको दावी गरिरहेका बेला हिंसाका घटना बढेका छन् । यसले सुरक्षा निकायमाथि दवाव बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन ‘खारेज’ गर्ने भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले विरोध अभियान शुरु गरेको छ ।


उम्मेदवारमाथि नै आक्रमण हुन थालेपछि निर्वाचन आयोगले आइतबार सुरक्षा निकायका अधिकारीलाई बोलाएर शान्तिसुरक्षाको अवस्थाका बारेमा जानकारी लिएको थियो । आयोगले शान्तिसुरक्षामा कुनै पनि कमजोरी नगर्न सरकारलाई निर्देशनसमेत दिएको छ ।


पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा चुनाव हुँदैछ । गृहमन्त्रालयले संवेदनशील, अति संवेदनशील र सामान्य संवेदनशील गरी तीन वर्गमा मतदानस्थललाई वर्गीकरण गरी सुरक्षाकर्मी खटाउने योजना बनाएको छ ।

 
अहिलेसम्म कहाँ कहाँ भए विस्फोट र आक्रमण
 
मंसिर १ गते– नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइयो । विस्फोटनबाट पाँचजना काँग्रेस कार्यकर्ता घाइते भएपनि उम्मेदवार महतद्वय भने सकुशल छन् ।
 
चुनावी प्रचार अभियानका क्रममा मतदाताको घरदैलो कार्यक्रम भइरहेका बेलामा ककनी गाउँपालिका वडा नं ५ काउलेथानामा बिहान १० बजे प्रेसरकुकुर बम विस्फोट गराइएको थियो । बम विस्फोटनबाट काँग्रेसका कार्यकर्ताहरू उपेन्द्र मिश्र, भेषकुमार तामाङ, सवीन लामा, रमेश राईलगायत घाइते भए ।
 
उम्मेदवार महतद्वय चढेको बा१४च ७०४१ नंं को गाडीलाई लक्षित गरी प्रेसरकुकुर बम विस्फोट गराए पनि उक्त गाडी अघि बढिसकेकाले कार्यकर्ता चढेको बा१६च ६६५ नं गाडीमा बम लागेको थियो ।
 
मंसिर १ गते– चुनावी अभियानका क्रममा रोल्पामा माओवादीका शीर्ष नेताहरुलाई लक्षित गरेर रेड बुल बम पड्काइयो । सुलिचौर हुँदै लिवाङ आउने क्रममा कृष्णबहादुर महरा, बर्षमान पुन (अनन्त), पूर्व सभामुख ओनसरी घर्ति र कूलप्रसाद केसीलाई लक्षित गरेर भदौरे भन्ने स्थानमा शुक्रबार दिउँसो बम विस्फोट गराइएको थियो । नेताहरुको सुरक्षामा रहेका सशस्त्र प्रहरीले जवाफी फयार गरेका थिए । करिब तीन राउण्ड गोली चलेको थियो । आक्रमणकारीले बाटोमाथिको जंगलबाट बम खसालेका थिए । तर, बम गाडीमा नलागेर बीच बाटोमा पड्किएको थियो ।
 
मंसिर १ गते– रामेछापका विभिन्न स्थानमा नक्कली बम फेला पर्यो । रामेछापको निर्वाचन क्षेत्र नं दुई अन्तरगत गाल्पामा ४, दोरम्बामा २ र राकाथुममा २ ओटा त्यस्ता शंकास्पद बस्तु फेला परेको थियो ।  प्रहरीका अनुसार बम जस्तो बनाएर ढुङ्गा पोको पारेर राखिएको अवस्थामा फेला परेको थियो । निर्वाचन कार्यक्रम विथोल्ने उद्देश्यले कसैले बमजस्तो बनाएर लुगामा पोको पारेर ढुङगा राखेको जिल्ला प्रहरी कार्यलय रामेछापाका डिएसपी कुमुद ढुङगेलले जानकारी दिए । बम राखिएको आशंकामा स्थानीय तथा पार्टीका कार्यकर्ता त्रसित बनेका थिए ।
 
कार्तिक ३० गते –गठबन्धनबाट गोरखा–२ का उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठको प्रचार टोलीलाई लक्षित गरी कुकर बम विस्फोट भएको छ । गोरखा नगरपालिका–११ को सिर्दिखोला पुल नजिकै सडक छेउमा बोराभित्र राखिएको बम आज अपराह्न विस्फोट भएको थियो । उम्मेदवार श्रेष्ठको टोलीमा प्रचारका लागि प्रयोग गरिएको एमाले नेता विकलकुमार श्रेष्ठ चढ्ने बा २ च ९४६३ नम्बरको गाडी नजिकै बम विस्फोट भएको थियो ।  
 
कार्तिक २८ गते–  म्याग्दीको बेनी नगरपालिका १ अर्जममा मंगलबार कांग्रेसको प्रचार टोलीलाई लक्षित गरी विद्युतीय धराप विस्फोट गराइएको छ । अर्जम क्षेत्रमा घरदैलोमा जान लागेका कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बिर गर्बुजाको टोलीलाई लक्ष्य गरी विस्फोट गराइएको हो ।


 
कार्तिक २८ गते–मंगलबार भोजपुर (ख) प्रदेश सभाका एमाले उम्मेदवार तथा पूर्वमन्त्री शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । चुनावी सभामा जाने क्रममा आक्रमण भएको भयो । राईका सुरक्षागार्ड असइ डिल्ली देवकोटाको बायाँ हातमा गम्भीर चोट लागेको थियो ।
 
कार्तिक २८ गते–­एमालेबाट संखुवासभामा प्रतिनिधिसभाका उम्मेदवार राजेन्द्र गौतम चढेको गाडीलाई लक्षित गरी धुपुको डकेदेउरालीमा विद्युतीय धराप विस्फोट गरियो । गाडीमा क्षति नपुगेको र उम्मेदवार गौतम सकुशल रहे ।
 
कार्तिक २६ गते –रोल्पाको बाघमारातर्फ जाने क्रममा माओवादी नेता वर्षमान पुन अनन्तमाथि पुनः आक्रमण भयो । सो टोली हिँडेको सडकमा माथि भीरबाट ढुंगा लडाएर फायरिङ गरिएको थियो । सुरक्षाकर्मीले जवाफी फायरिङ गर्दा झडप भए पनि गम्भीर घाइते कोही भएनन् ।
 
कार्तिक २५ गते –माओवादी नेता तथा रोल्पाका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुन अनन्तको टोलीलाई लक्षित गरी नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले एम्बुस विस्फोट गराए । घर्तीगाउँ र ओटको बीचमा पर्ने भिटाबाङमा एम्बुस विस्फोटबाट दुईवटा गाडीमा सामान्य क्षति भएको छ । पुनसहित गाडीमा माओवादीकी समानुपातिक उम्मेदवार जयपुरी घर्ती थिइन् भने अर्को गाडीमा एमालेका वैकल्पिक पोलिटब्युरो सदस्य गोकुल घर्ती र एमालेका प्रदेश उम्मेदवार थिए ।
 
कार्तिक २४ गते– माओवादी नेता तथा पश्चिम रुकुमका प्रतिनिधि सदस्यका उम्मेदवार जनार्दन शर्मा प्रभाकर चढेको गाडीमा अज्ञात व्यक्तिले बम प्रहार गरे । चौरजहारी नगरपालिका–८ गोइरीमा उनको गाडीमा दुईवटा बम हानिएको थियो । एउटा बम पड्किए पनि गाडीमा भने क्षति भएन ।
 
 
ओलीको शंका : वाम गठबन्धनका उम्मेदवार हत्याको षडयन्त्र
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धनदेखि आत्तिएकाले एमाले, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार हत्याको षडयन्त्र गर्न थालेको बताएका छन् ।
 
कार्तिक २८ गते मध्यपुरथिमिको लोकन्थलीमा एमालेले आयोजना गरेको एमालेसँग नयाँ शक्ति पार्टी एकीकरण कार्यक्रममा उनल वाम गठबन्धनको उम्मेदवारमाथि मात्रै हत्या गर्ने योजनासहित आक्रमण हुनुमा सरकारको समेत संलग्नताको आशंका व्यक्त गरेका थिए । यद्यपी पछिल्ला घटनामा काँग्रेस उम्मेदवारमाथि पनि हमला भएको छ ।
 
सरकारले कार्यकर्तालगायत विभिन्न व्यक्तिलाई रु २३ करोड बाँड्नु र बम पड्कनुको सम्बन्ध त छैन भन्दै ओलीले भनेका थिए, ‘सरकारी ढुकुटी दोहन गरेर सरकारले रु २३ करोड कार्यकर्ता र विभिन्न व्यक्तिलाई बाँडेको छ, त्यसपछि गोली र बम पड्किन थालेको छ, गठबन्धनका उम्मेदवारमाथि छानीछानी आक्रमण हुन थालेको छ, यसको तालमेल कहाँ छ सरकार ?’
 
विप्लवको धम्की
 
केही दिन अगाडि रातोपाटीलाई दिएको एक अन्तवार्तामा विप्लवले आफुले राज्यसँग टकराव गर्न खोजेको बताएका थिए । ‘हामीले सीधा र स्पष्ट शब्दमा राज्यसँग लड्ने हो भनेका छौँ । यो कुरा हामीले बाहिरै भनेका छौँ र यो कुरा म यहाँ पनि भन्छु । यो राज्यलाई हामी मान्दैनौँ । यो जनविरोधी, प्रगतिविरोधी पुँजीवादी राज्य हो । पुँजीवादी पनि कस्तो भने दलाल पुँजीवादी राज्य । दिमागमा कमिसन खाने र भोगविलास गर्नेबाहेक केही छैन । त्यसैले हामी यसको विरुद्ध लड्छौँ । लड्दा घटनाक्रम कसरी जान्छ, त्यो राज्यसँग सम्बन्धित कुरा हो ।’ उनले भनेका थिए ।

अन्तर्वार्ताका लागि यहाँ जानुहोस्
 
 निकट भविष्यमै नेपालमा उथलपुथल ल्याउँछौँ : नेत्रविक्रम चन्द ‘विप्लव’ सँगको अन्तर्वार्ता

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप