शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरका सबै सडक धुलोमुक्त बनाउँछु : भुसाल

शुक्रबार, ०१ मङ्सिर २०७४, १६ : ४८
शुक्रबार, ०१ मङ्सिर २०७४

ललितपुर–माओवादी केन्द्रकी प्रवक्ता तथा ललितपुर ३ प्रतिनिधिसभा सदस्य उम्मेदवार पम्फा भुसालले ललितपुरका सबै सडक पिच गर्ने घोषणा गरेकी छिन् । 
चुनावी प्रचारका लागि घरदैलो अभियानका क्रममा शुक्रबार उनले ललितपुरका सबै सडक धुलोमुक्त बनाइने प्रतिवद्धता जनाएकी हुन् । उनले ललितपुरलाई साँस्कृतिक राजधानी बनाउने आफ्नो अभियान रहेको भन्दै उक्त अभियानमा साथ दिन ललितपुरबासीसँग आग्रह समेत गरेकी छिन् ।

मतदाताले घरदैलोका क्रममा खानेपानीको समस्या देखिएको बताएपछि प्रवक्ता भुसालले खानेपानीको समस्या हल गर्न आफूले सक्दो प्रयत्न गर्ने र वैशाखसम्म हल हुने समेत बताइन ।

‘मेलम्चीको पानी आएपछि यो क्षेत्रको पानी यहीँ मात्र वितरण गर्न मिल्छ, उनले भनिन्, त्यसैले मेलम्ची पानी चाँडो ल्याउन पहल गरेर यो क्षेत्रमा वैशाखसम्म पिउनेपानीको समस्या हल गर्ने गरी लाग्छु ।’

उम्मेदवारसँग दुःख साटासाट
ललितपुर निर्वाचन क्षेत्र नम्बर तीनका मतदाताले वाम गठबन्धनसँग पानी र सडक पिच गरिदिन माग गरेका छन् ।

वाम गठबन्धनले ललितपुर तीनमा एक सातादेखि नियमित रुपमा घरदैलो कार्यक्रम जारी राखेको छ । घरदैलोका क्रममा मतदाताले खानेपानीको समस्या रहेको, सडक पिच नभएको, शान्ति सुरक्षाको समस्या रहेको लगायत समस्या समेत उम्मेदवारसँग राखेका छन् ।

ललितपुर क्षेत्र नम्बर तीनको १८ वडामा वामगठबन्धनले शुक्रबार घरदैलो अभियान चलाएको थियो । सो क्रममा नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसँग यस्तो माग समेत राखेका हुन् । ‘भोट त तपाईलाई नै हाल्छौं, तर खानेपानीको समस्या अति नै छ, यो कुरो चाँही बुझिदिन परो’, १८ वडाबासी सन्तोषी महर्जनले अँगालो मार्दै भनिन् ।

ललितपुरको सैंबु लगायत भित्रि भागका बासिन्दाले भने सडक पिच गरिदिन गरेका छन् । 

फूलमाला गरेर वाम गठबन्धनका उम्मेदवारको स्वागत
ललितपुरबासीले वाम गठबन्धनका उम्मेदवार प्रतिनिधिसभातर्फ भुसाल र प्रदेशसभा ख का उम्मेदवार जीवन खड्कालाई १८ वडाका मतदाताले फूलमाला गरेर स्वागत गरेका छन् । उम्मेदवारद्धयले पनि खुसी व्यक्त गर्दै आफूहरुले जिताएपछि ललितपुरको विकासमा कुनै कसर बाँकी नराख्ने बताए ।

वाम गठबन्धनले शुक्रबार १८ वडामा घरदैलो अभियान गरेको थियो । घरदैलो अभियानमा स्थानीयबासीले समेत साथ दिँदै सहभागिता जनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप