शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

वाम गठबन्धनः दु्रतमार्गदेखि पक्की पुलसम्म आश्वासन

शुक्रबार, ०१ मङ्सिर २०७४, १९ : ४४
शुक्रबार, ०१ मङ्सिर २०७४

हेटौँडा – नेकपा (एमाले) मकवानपुर र नेकपा (माओवादी केन्द्र) वाम गठबन्धनले दु्रतमार्गदेखि पक्की पुलसम्म बनाउनेलगायतका संयुक्त प्रतिबद्धतापत्र आज सार्वजनिक गरेको छ । 

प्रतिबद्धतापत्रको एमाले मकवानपुरका इञ्चार्ज विरोध खतिवडा र माओवादी केन्द्र मकवानपुरका इञ्चार्ज कुमारी मोक्तानसहितका नेताले एमाले पार्टी कार्यालयमा संयुक्त रुपमा सार्वजनिक गरे  । 

हेटौँडालाई ३ नंको प्रदेशको राजधानी बनाउन पहल गर्ने, दु्रतमार्ग, कान्ति लोकमार्ग र हेटौँडा–धरान–चतरा लोकमार्ग निर्धारित समयमा नै सम्पन्न गराउने, २५ मि सडक सन्दर्भमा मुआब्जा दिएर विस्तार गराउने र मुख्य बाटो बजारभन्दा पनि वैकल्पिक मार्ग निर्माण गरिने, हेटौँडा–भीमफेदी–कुलेखानी–काठमाडौँ मार्गलाई स्तरीकरण गरी नेपाल सरकारको लगानीमा भीमफेदी र कुलेखानी जोड्न पहल गरिने, फापरबारी–राईगाउँ–क्याण्टिन सडक बनाइने, हेटौँडा–१९ बस्तीपुरबाट मनहरी ३, भुन्दु्रङ जोडिने र हेटौँडा ११ नवलपुरबाट हेटौँडा १२ गुरौबिर्ता जोड्न राप्तीमा पक्की पुल निर्माण गरिने र बसामाडी–लेबट–बस्तीपुर–नेवारपानी चक्रपथ निर्माण गरिने योजना अगाडि सारिएको छ । 

हेटौँडा–६ स्थित रंगशालालाई केन्द्रीय खेलकुद विश्वविद्यालयका रुपमा स्थापना गरिने, प्रदेशस्तरीय मेडिकल कलेज, इञ्जिनियरिङ कलेज तथा प्राविधिक शिक्षालय स्थापनामा जोड दिइने, हेटौँडा–१४ मयुरधापमा विस्तारित औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गरी स्थापनालाई तीव्रता दिइने, हेटौँडादेखि बुधुने द्रुतमार्ग जोड्ने लिंक रोड निर्माण अगाडि बढाइनेलगायत योजना पनि वाम गठबन्धनको छ । 

त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका सबै वडा जोड्ने चक्रपथ बनाइने, सबै गाउँपालिका सदरमुकामबाट वडामा जोड्ने सडक सञ्जाल स्तरीकरण गरिने, हेटौँडा, भीमफेदी, इन्द्र सरोवर र थाहाबीच पर्यटन विस्तारको गुरुयोजना तयार गरी अगाडि बढाइने, मकवानपुरगढी दरबार, चिसापानी गढी, चित्लाङको अशोककालीन चैत्य संरक्षण तथा विकासका लागि जोड दिइने, चुरियामाई, भुटनदेवी, मनकामना, ऋषेश्वर, स्यार्सेकालिका, इन्द्रायणी, बाराही, कुष्माण्ड सरोवर, त्रिवेणीधाम, पाथीभरा, दक्षिणकाली, भालेश्वर, भुवनेश्वर, रुद्रेश्वर, वनस्खण्डी, पुण्यक्षेत्र, वंशगोपाल, लक्ष्मीनारायण र कृष्ण प्रणामी मन्दिर, हेटौँडा १६ र १७ मा रहेका राजदेवी, गुप्तेश्वरी, शक्तेश्वर तथा जुरेथुमलगायत धार्मिक तथा पर्यटकीय महत्वका स्थल, बौद्ध गुम्बा, मस्जिद, चर्च, मूर्तिकला बगैँचाको संरक्षण र विकासमा जोड दिइने प्रतिबद्धतापत्रमा उल्लेख छ । 

त्यस्तै चुरे क्षेत्रको संरक्षणका लागि बस्ती स्थानान्तरणलाई अगाडि बढाइने, वाग्मती, कर्रा, राप्ती, सामरी, मनहरी, लोथर, बकैया, सिमात, चौरा, चिरुवा, कुखरेनीलगायत नदी, खोला, खहरेलाई गुरुयोजना तयार गरी तटबन्धन, नियन्त्रण गरी खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था मिलाइने, पदमपोखरी र हटिया क्षेत्रमा जग्गा विकास गरी आधुनिक सुविधासम्पन्न आवास क्षेत्र निर्माण गरिने, हेटौँडागढी मनकामना मन्दिरसम्म केबुलकार निर्माण अगाडि बढाइने, हेटौँडा अस्पताललाई प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति गराइने कार्यलाई पनि प्राथमिकतामा राखिएको छ । 

वन क्याम्पसको १ सय ६५ हेक्टरको जंगल र भुटनदेवी सामुदायिक वन उपभोक्ता समूहको जंगलमा जैविक विविधता संरक्षण केन्द्र स्थापना गरिने, वाग्मती नदी प्रदूषण नियन्त्रणलाई अगाडि बढाइने र महिलालाई हिंसामुक्त बनाई आयआर्जन र सशक्तीकरण कार्यक्रम अगाडि बढाइनेलगायत काम गरिने प्रतिबद्धतापत्रमा जनाइएको छ । 

प्रदेशस्तरमा भण्डारा–काँकडा–खैराङ जोड्ने मोटरबाटो तथा हेटौँडाबाट ललितपुर, काभ्रे र सिन्धुली जिल्लासँग जोड्ने सडक सञ्जाल निर्माण, काठमाडौँ– चित्लाङ र काठमाडौँ–फाखेल सडकलाई स्तरीकरण गरिने, काठमाडौँ–चितवन–मकवापुर–पर्सा वन्यजन्तु निकुञ्जसम्मको सडक सञ्जाल निर्माण गर्ने, चन्द्रनिगाहपुर–गैँडाटार–फापरबारी हुँदै ललितपुर जोड्ने सडक, फापरबारी–भरतगञ्ज–निजगढ, धियाँल–निजगढ निर्माण, मनहरीदेखि चितवनको पहाडी भाग र धादिङको पृथ्वी राजमार्ग जोडिने गरी चेपाङ मार्ग निर्माण गरिने प्रतिबद्धतापत्रमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप