शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं ९ मा साख र ह्याट्रिकको चर्चा

सोमबार, ०४ मङ्सिर २०७४, ०७ : ०४
सोमबार, ०४ मङ्सिर २०७४

०६४ सालको पहिलो संविधानसभा निर्वाचनपूर्व काठमाडौंको लालकिल्लाका रूपमा चिनिएको क्षेत्र नम्बर ९ मा कांग्रेस जितमा ह्याट्रिक गर्ने दाउमा छ भने वाम गठबन्धन लालकिल्लाको साख फर्काउने प्रयासमा छ ।

पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका ध्यानगोविन्द रञ्जित यही क्षेत्रबाट निर्वाचित भएका थिए । रञ्जितसँग दुवै पटक पराजित एमालेका कृष्णगोपाल श्रेष्ठ वाम गठबन्धनको साझा उम्मेदवार भएकाले यसपटक कडा प्रतिस्पर्धा हुने निश्चित छ ।

०६४ सालअघि तीन वटै निर्वाचनमा यसक्षेत्रबाट एमाले नेतृ साहना प्रधान र अष्टलक्ष्मी शाक्य निर्वाचित भएका थिए ।

वाम गठबन्धन बनेपछि यस क्षेत्रमा वाम साख फर्किनेमा एमाले नेता श्रेष्ठ विश्वस्त देखिएका छन् । यद्यपि, पछिल्लो दुई निर्वाचनयता धाप मार्दै आएको कांग्रेस नेता रञ्जितको हौसला पनि कम छैन । शनिबारदेखि घरदैलो अभियान सुरु गरेका रञ्जित भन्छन्, ‘जितमा ह्याट्रिक निश्चितजस्तै छ ।'

शनिबारदेखि नै टोलभेलामा पुग्न थालेका वाम गठबन्धनका प्रदेशसभा उम्मेदवार केशव पौडेल वाम गठबन्धनका कारण यसपटक कांग्रेसको जित असम्भव भएको दाबी गर्छन् ।

काठमाडौंको कलंकीसहित १२, २१ र २२ वडा तथा नागार्जुन र चन्द्रागिरि नगरपालिकाको १० वटा वडा रहेको क्षेत्र नम्बर ९ मा कांग्रेस र वाम गठबन्धनबीच कडा प्रतिस्पर्धा निश्चित छ । यसअघि पराजित भए पनि माओवादीको धाप पाएकाले एमाले नेता श्रेष्ठ जित्ने दाउमा छन् ।

कांग्रेसले प्रदेशसभाका लागि उम्मेदवार बनाएका धर्मराज गौतम वाम गठबन्धनको असर नपर्ने दाबी गर्छन् ।यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप